किसानको खेतमा हाल्नुपर्ने मल कलकत्ताको ‘क्वारेन्टिन’मा, अनेक बाहना बनाउँदै आयातमा ढिलाइ

काठमाडौं । कृषिप्रधान देश भनिए पनि दशकौंदेखि कृषकले मल अभाव झेल्दै आएका छन् । विभिन्न बहानामा प्रत्येक वर्ष खेती लगाउने सिजनमा मल अभाव हुने गरेको छ । किसानहरुले चाहिएको बेलामा मल पाउन सकिरहेका छैनन् ।

 

मल अभावकै कारण दाङमा किसानहरुले हलोजुवा बोकेर आन्दोलन सुरु गरेका छन् । सरकारले अनुदानको मल आयातको जिम्मा कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङलाई दिएको छ । कृषि सामग्री कम्पनीले ७० प्रतिशत र साल्ट ट्रेडिङले ३० प्रतिशत मल आयात गर्ने गरी जिम्मा दिइएको हो ।

 

कृषक समूह महासंघले बारम्बार मल समयमा ल्याउन, अनुदान बढाउन र सही ढंगमा वितरण गर्ने कुरामा सरकारको ध्यान आकर्षण गराउँदै आएको छ ।

 

‘सरकारसँग कुन बालीमा कति मल चाहिन्छ भन्ने जानकारी छैन, देशभरका पालिकाहरुमा कृषि जमिन कति छ, कतिमा कृषि हुन्छ, कति बाँझो छ र कति मल वितरण गर्नुपर्छ भन्ने केही तथ्यांक छैन ।’

 

कृषक समूह महासंघका अध्यक्ष नवराज बस्नेत मल प्रयोग अन्दाज र पहुँचको भरमा वितरण गर्ने संस्कारलाई हटाउनु पर्ने बताउँछन् । साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनीले आयात गर्ने मल सहकारी हुँदै किसानसम्म पुग्ने गरेको छ । यसरी लामो प्रकृया हुँदा किसानसम्म सही ढंगले मल पुग्न नसकेको उनको बुझाइ छ ।

 

उनले नाकाबाट आउने मलको मूल्य र किसानले किन्ने मलको मूल्यमा धेरै फरक आउने गरेको पनि बताए । सरकारले युरिया मलमा ६५ देखि ७० प्रतिशत, डीएपी मलमा २५ देखि ३० प्रतिशत र पोटास मलमा ३० देखि ३२ प्रतिशत अनुदान दिएको छ ।

 

सीमा क्षेत्रमा युरिया मलको मूल्य प्रतिकेजी १४ रुपैयाँ, डीएपी ४३ रुपैयाँ र पोटास ३१ रुपैयाँ पर्ने गर्छ । यसैगरी सीमामा युरिया मलको ७०० रुपैयाँ प्रति बोरा, डीएपीको २ हजार १५० र पोटासको १ हजार ५५० रुपैयाँ प्रति बोरा पर्छ । बोरामा ५० केजी मल हुन्छ ।

 

त्यो मल सीमाबाट किसानसम्म पुग्दा युरिया मल १ हजार १०० रुपैयाँ, डीएपी २ हजार ५०० र पोटास २ हजार २०० रुपैयाँ बोरा पर्न जान्छ । यसरी मलको मूल्यमा ४०० देखि ७०० रुपैयाँसम्म फरक पर्ने गरेको अध्यक्ष बस्नेतले बताए ।

 

उनले कुन बालीका लागि कति मल चाहिन्छ भन्ने अभिलेख सरकारसँग नभएको बताए । ‘सरकारसँग कुन बालीमा कति मल चाहिन्छ भन्ने जानकारी छैन, देशभरका पालिकाहरुमा कृषि जमिन कति छ, कतिमा कृषि हुन्छ, कति बाँझो छ र कति मल वितरण गर्नुपर्छ भन्ने केही तथ्यांक छैन । यसका लागि हामीले पहल गरिरहेका छौं,’ बस्नेतले चाणक्य पोष्टसँग भने ।

 

यस्तै महासंघले मल नीति २०५८ संशोधनको माग गर्दै आएको छ । उनले यो पटक सरकारले फरक ढंगले मल वितरण गर्ने भने पनि त्यो कार्यान्वयनमा नदेखिएको बताए ।

 

उता कृषि तथा पशुपन्छी विकास मन्त्रालयले असारसम्ममा साढे ३ लाख मेट्रिक टन मल वितरण भइसकेको जनाएको छ । मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीका अनुसार अब २ लाख मेट्रिकटन हाराहारीमा मल वितरण गर्न बाँकी रहेको छ ।

 

डीएपी मल आयात हुने क्रममा रहे पनि युरिया मल कलकत्ता भन्सारमा क्वारेन्टाइनमा राखिएको उनले बताए । सो मल केही दिनमा आइपुग्ने उनले बताए ।

 

साल्ट ट्रेडिङ अन्तर्गतको २१ हजार ५०० मेट्रिकटन युरिया मल नाकामै रहेको उनले बताए । ‘डीएपी मल आइरहेको छ, युरिया मल आउन केही समय लागेको हो । भन्सारमा क्वारेन्टाइनमा राखिएको छ भन्ने सुनेको छु । त्यो पनी छिटै आउँछ, ’ केसीले भने ।

 

साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारीले २१ हजार ५०० मेट्रिकटन युरिया मल आयात हुन बाँकी रहेको र त्यो क्वारेन्टाइनमा बसेर ७/८ दिनमा आइपुग्ने बताए ।

 

कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक नेत्र भण्डारीले धेरै कुरामा परनिर्भर भएकाले पनि मल आयातमा ढिलाइ हुने गरेको बताउँछन् । कृषि सामग्री कम्पनीले गत आवमा २ लाख ७६ मेट्रिकटन मल आयात गरिसकेको छ । ५० हजार मेट्रिकटन युरिया मल आयात गर्न बाँकी रहेको उनले बताए ।

 

सधैं बाहना नै बाहना बनाउँदै वर्षेनी मल आयातमा ढिलाइ गरिँदै आइएको छ । यसवर्ष कहिले लकडाउन त कहिले मजदूर अभावमा मल आयात हुन नसकेको बताइएको छ । कृषिप्रधान देश भनिए पनि खेती लगाउने बेलामा कृषकलाई मल चाहिन्छ भन्ने सरकारले अहिलेसम्म ख्याल राख्न सकेको छैन ।

 

गत आवमा आयात गर्नुपर्ने कुल ७१ हजार मेट्रिकटन मल आयात गर्न अझै बाँकी रहेको छ । चालू आर्थिक वर्षमा ५ लाख मेट्रिकटन मल आयात गर्ने लक्ष्य रहेको छ । चालू आवमा मल आयात गर्न ११ अर्ब बजेट विनियोजन गरिएको छ । सो मल आयातका लागि समेत टेन्डर प्रक्रिया सुरु गरिसकेको कृषि मन्त्रालयका प्रवक्ता केसीले बताए ।

 

मल आयातमा सधैं बाहना नै बाहना आउने गरेको छ । गत आवको मल लकडाउनको कारण मजदूर नभएर रोकिएको भनियो । सो मल साउन १० गतेसम्म आयात हुने भनिएको थियो । सो मल साउन २२ गतेसम्म आउन सकेको छैन । अब साल्ट ट्रेडिङले साउन अन्तिम सम्म आउने भनिएको मल भदौसम्म आउने बताइएको छ ।

 

धानमा कति मल चाहिन्छ?

 

नेपालमा १५ लाख हेक्टरमा धान बाली हुन्छ । सरकारी तथ्यांक अनुसार यसका लागि ३ लाख ३९ हजार टन युरिया, १ लाख २९ हजार टन डीएपी र ९९ हजार टन पोटास मल आवश्यक हुन्छ । जस अनुसार ५ लाख ५७ हजार मल आवश्यक पर्दछ ।

 

सरकारको तथ्यांक अनुसार ६८ हजार हेक्टरमा उखुखेती हुन्छ । २ लाख ८६ हजार ८६४ हेक्टरमा व्यवसायीक तरकारी खेती हुन्छ । यो बाहेकमा कोदो, मकै, फापर, धान लगायतका खेती हुन्छन् । यो तथ्यांक हेर्ने हो भने ८ लाख मेट्रिकटन मल उखु र तरकारीकै लागि आवश्यक पर्ने देखिन्छ । यसरी नेपालमा ८ लाख मेट्रिकटन बढी मल आवश्यक पर्छ ।

 

नेपालमा कृषि जमिन घट्दै गइरहेको छ भने मल आयात वर्षेनी बढ्ने क्रममा रहेको छ । २०७०/७१ मा २ लाख ७३ हजार २३९ मेट्रिकटन मल ५ अर्ब ३० करोड लगानीमा ल्याइएको थियो । आर्थिक वर्ष २०७६/७७ का लागि ४ लाख ५० हजार मेट्रिकटन मल ल्याउने लक्ष्य रहेको थियो । सो वर्ष १० खर्ब ५२ करोड ९५ लाख रुपैयाँ मल आयातका लागि बजेट विनियोजन गरिएको थियो ।

 

आयात पक्रियामै समय बित्ने

 

कृषक समूह महासंघले कुन कुन बालीलाई कति मल चाहिन्छ त्यस अनुसार वितरण गर्नु पर्यो भन्दै आएका छन् । तर, नेपालमा अनुदानको मल आयातको प्रक्रिया लामो हुँदा समयमा किसानले कहिल्यै मल पाउने गरेका छैनन् ।

 

मल आयातका लागि सुरुमा जेठमा बजेट भाषण हुन्छ । असारमा बजेट विनियोजन गरिन्छ । त्यसपछि साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनीले ग्लोबल टेन्डरबाट मल आयात प्रक्रिया सुरु गर्छन् ।

 

कृषि समूह महासंघका अध्यक्ष बस्नेत कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङले टेन्डर गर्ने समयमा पाएको बजेट ब्याजमा लगाउने गरेको सुन्नमा आएको बताउँछन् ।

 

उनले साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनीले ब्याजको लोभमा छिटो टेन्डर आह्वान नगर्दा किसानले समयमा मल पाउन नसकेको आरोप लगाए । कृषि सामग्री कम्पनीले ७० र ३० प्रतिशत साल्ट ट्रेडिङले मल ल्याउने गरेका छन् ।

 

आयात गर्नु भन्दा ६ देखि ७ महिना अघि टेन्डर आह्वान गरिन्छ । ढिलोमा १६ महिनामा मल आयात गर्नु पर्ने व्यवस्था रहेको छ । पानी जहाजसम्म सहजै मल आउने भए पनि भारतले लाइनमा राखेर मल पठाउने हुँदा पालो कुर्नमा समय जाने गरेको सम्बद्ध अधिकारीहरु बताउँछन् ।

 

भारतको कलकत्ता भन्सारबाट मात्र आयातित मल आउने गरेको छ । मल आयातका लागि सुरुमा जेठमा बजेट भाषण हुन्छ । असारमा बजेट विनियोजन गरिन्छ । त्यसपछि साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनीले ग्लोबल टेन्डरबाट मल आयात प्रकृया सुरु गर्छन् ।

फाप्लु विमानस्थलमा ‘वाक थ्रु मेटल डिटेक्टर’ यन्त्र जडान, चेकजाँचमा सहज हुने Read Previous

फाप्लु विमानस्थलमा ‘वाक थ्रु मेटल डिटेक्टर’ यन्त्र जडान, चेकजाँचमा सहज हुने

काठमाडौंमा ६१ सहित थप ३८१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१ हजार ३९० पुग्यो Read Next

काठमाडौंमा ६१ सहित थप ३८१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१ हजार ३९० पुग्यो