फाप्लु विमानस्थलमा ‘वाक थ्रु मेटल डिटेक्टर’ यन्त्र जडान, चेकजाँचमा सहज हुने

सोलुखुम्बुको सदरमुकाम नजिक रहेको फाप्लु विमानस्थलमा ‘वाक थ्रु मेटल डिटेक्टर’ यन्त्र जडान गरिएको छ ।

 

विमानस्थल सञ्चालमा आएको ४४ वर्षपछि उक्त यन्त्र जडान गर्न सफल भएको नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका प्रमुख प्रकाश शर्माले जानकारी दिए ।

 

कार्यालयका अनुसार सोलुखुम्बुलाई हवाई मार्गमा जोड्ने उद्देश्यले निर्माण गरिएको विमानस्थलमा पहिलोपटक विसं २०३२ मा पिलाटस विमानले उडान भरेको थियो भने २०३४ सालदेखि टुइनेटर विमानले उडान भर्न शुरु गरेको थियो ।

 

नेपाल नागरिक उड्डयन प्राधिकरण प्रधान कार्यालय हवाई सुरक्षा विभागको आर्थिक लगानीमा उक्त यन्त्र जडान गरिएपछि चेकजाँचमा सहज हुने विमानस्थल कार्यालयले जनाएको छ । यसअघि प्रहरी कर्मचारीले हातले जाँच गर्नुपर्ने बाध्यता थियो । अब भने कुनै पनि व्यक्तिले संवेदनशील सामग्री बोकेको खण्डमा साइरन आफैँ बज्ने हुँदा सहज हुने कार्यालयको भनाइ छ ।

 

विशिष्ट कक्ष छ, सञ्चालनमा छैन

 

फाप्लु विमानस्थमा विशिष्ट कक्ष भए पनि सञ्चालनमा ल्याउन नसकिएको विमानस्थल प्रमुख शर्माको भनाइ छ । ‘विशिष्ट कक्ष छ, तर आवश्यक सामग्री व्यवस्थाको लागि बजेट अभाव हुँदा सञ्चालन गर्न सकिएन,’ प्रमुख शर्माले भने, ‘सम्बन्धित निकायमा पहल गरिरहेका छौं, सगरमाथाको जिल्ला भएकाले पनि यो अति महत्वपूर्ण छ ।’

 

भौतिक संरचनाका हिसाबले विमानस्थलमा सुधारको कार्य आवश्यक रहेको बताइएको छ । अपाङ्गमैत्री संरचना नहूँदा बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई समेत सेवा लिन समस्या हुने गरेको छ । धावनमार्गसम्म जान तथा आउनका लागि निकै कठिन हुने गरेको स्थानीयवासी कान्छा शेर्पाको भनाइ छ ।

 

उक्त विमानस्थलमा नेपाल एयरलाइन्स, तारा र समिट एयरले साप्ताहिक रुपमा उडान भर्दै आएका छन् । काठमाडौँ–फाप्लु तथा फाप्लु–लुक्लासमेत उडान हुने गरेको छ । खुम्बुका लागि आवश्यक सामग्री फाप्लुबाट तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा ढुवानी हुने गरेको छ ।

 

फाप्लु विमानस्थलसँग सङ्घीय तथा प्रदेश राजधानी जोड्ने सडक पिच भए फाप्लुसम्म ढुवानी भएको सामग्री हवाई सेवामार्फत खुम्बु लैजान सहज हुने व्यवसायीको भनाइ छ ।

 

विमानस्थलको भौतिक संरचना तथा अवस्थाको सांसद हेमकुमार राईको टोलिले गत चैत ३ गते सम्बन्धित मन्त्रालय तथा प्राधिकरणको ध्यानाकर्षण गराएको थियो ।

 

फाप्लु विमानस्थलमा वाक थ्रु मेटल डिटेक्टर मेशिन जडानका लागि तत्काल प्रक्रिया अगाडि बढाउन आग्रह गरिएबमोजिम नै कार्य भएको सांसद राईका स्वकीय सचिव भूपेन्द्र कट्टेलले बताए ।

साधना लघुवित्तको सेयर बिहीबारदेखि कारोबार हुने, कति पायो ओपनिङ रेञ्ज Read Previous

साधना लघुवित्तको सेयर बिहीबारदेखि कारोबार हुने, कति पायो ओपनिङ रेञ्ज

किसानको खेतमा हाल्नुपर्ने मल कलकत्ताको 'क्वारेन्टिन'मा, अनेक बाहना बनाउँदै आयातमा ढिलाइ Read Next

किसानको खेतमा हाल्नुपर्ने मल कलकत्ताको 'क्वारेन्टिन'मा, अनेक बाहना बनाउँदै आयातमा ढिलाइ