काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले गत आर्थिक वर्ष २०७६/७७ मा पौने ८५ करोड खुद नाफा कमाएको छ ।
बैंकले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकले ८४ करोड ७१ लाख १९ हजार खुद नाफा आर्जन गरेको छ ।
यो अघिल्लो आव २०७५/७६ को तुलनामा २६.४१ प्रतिशत धेरै हो ।अघिल्लो वर्षको सोही अवधिसम्म बैंकले ६७ करोड १ लाख ५९ हजार नाफा कमाएको थियो ।
समीक्षा अवधिसम्म बैंकको वितरण योग्य नाफा पनि ८४ करोड ७१ लाख रुपैयाँ नै छ । बैंकको जगेडा कोष अघिल्लो वर्षको तुलनामा १०७ प्रतिशतले बढेर १ अर्ब ६३ करोड ४७ लाख पुगेको छ ।
१ अर्ब २३ करोड बढी खुद ब्याज आम्दानी गरेको बैंकको सञ्चालन मुनाफा भने १ अर्ब १० करोडभन्दा बढी छ । बैंकले समीक्षा अवधिमा २५ करोड निक्षेप संकलन गरी ५७ करोड ४३ लाख कर्जा प्रवाह गरेको छ ।
बैंकले विभिन्न कम्पनीको सेयर लगायत विभिन्न क्षेत्रमा १२ करोड ५८ लाखभन्दा बढी लगानी गरेको बताएको छ । जसले ८ अर्ब ७८ करोड रुपैयाँ विभिन्न बैंकहरुमा राखेको छ ।
बैंकको खराब कर्जा शून्य प्रतिशत, प्रतिसेयर आम्दानी २६.४१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११३.६२ रुपैयाँ छ ।
हाल १२ अर्ब चुक्ता पूँजी रहेको बैंकले सर्वसाधारणका लागि ८ अर्ब बराबरको आइपीओ ल्याउने प्रक्रियामा छ ।