काठमाडौं। नेपाल राष्ट्र बैंकले कोरोनाबाट प्रभावित क्षेत्रहरुको वर्गीकरण गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयन गर्न जारी निर्देशनमा प्रभावित क्षेत्रको वर्गीकरण गरेको हो ।
केन्द्रीय बैंकले कोरोनाले अर्थतन्त्रको विभिन्न क्षेत्रमा परेको प्रभाव, त्यसबाट वित्तीय क्षेत्रमा पर्न सक्ने असर, उद्योग व्यवसायको पुनरुत्थानमा लाग्न सक्ने समय आदि आधारमा प्रभावित क्षेत्रको वर्गीकरण गरेको बताएको छ ।
राष्ट्र बैंकले कोरोनाबाट प्रभावित क्षेत्रलाई ३ वर्गमा वर्गीकरण गरेको छ । जसमा अति प्रभावित, मध्यम प्रभावित र न्यून प्रभावित क्षेत्र भनेर वर्गीकरण गरिएको छ।
कुन क्षेत्रका व्यवसाय कुन वर्गमा परे
राष्ट्र बैंकका अनुसार पर्यटन क्षेत्रमा ट्रेकिङ, ट्राभल एजेन्सी, पर्वतारोहण, र्याफ्टिङ, क्याम्पिङ, टूर अपरेटर, हिलिङ सेन्टर, क्यासिनो, मसाज स्पा, होटल, पर्यटक आवास, मोटेल, ग्रामीण पर्यटन, होस स्टे, रिसोर्ट तथा रेष्टुराँ, पर्यावरणीय पर्यटन, बन्यजन्तु आरक्षण लगायतका क्षेत्रलाई अति प्रभावित क्षेत्रको सूचीमा राखिएको छ।
त्यसैगरी खप्ने सामान जस्तै प्लास्टिक, फलाम/स्टील, टायर, छाला, धातुका उत्पादन, घरायसी उपकरण आदि उत्पादन तथा बिक्री वितरणसँग सम्बन्धित उद्योग व्यवसाय, निजी तथा आवासीय विद्यालय, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय, कलेज तथा विश्व विद्यालय, प्राविधिक शिक्षालय, प्रि-स्कुल, यात्रुवाहक स्थल यातायात, ब्युटी पार्लर, सैलुन, कानूनी, लेखा, इन्जिनियरिंग लगायतका परामर्श सेवा वा व्यवसाय, अस्पताल, क्लिनिक, नर्सिंगहोम, डायग्नोस्टिक सेन्टर , निर्माण व्यवसाय, औषधि उत्पादन, छपाइ, प्रकाशन तथा संचार गृह लगायत उद्योग व्यवसायलाई मध्यम प्रभावित क्षेत्रमा राखिएको छ ।
त्यसैगरी उत्पादनमा रही राष्ट्रिय प्रसारणमा जोडिएका जलविद्युत आयोजना, अनलाइन (इकमर्स) मा संलग्न व्यवसाय, खाद्यान्न उत्पादन, प्रशोधन, भण्डारण तथा बिक्री वितरण, पेय पदार्थ प्रशोधन तथा बिक्री वितरण गर्ने उद्योग व्यवसाय, आयात जन्य व्यापार, पेट्रोल पम्प, ग्यास तथा पानी सम्बन्धित व्यवसाय, औषधि बिक्री वितरण, विज्ञापन सेवालाई न्यून प्रभावित क्षेत्रमा वर्गीकरण गरिएको छ ।
