१ खर्ब २८ अर्बको पेट्रोलियम पदार्थ आयात

काठमाडौं । गत आर्थिक वर्ष २०७६/७७ मा नेपालमा कुल १ खर्ब २८ अर्ब २२ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।

 

भन्सार विभागले प्रकाशन गरेको तथ्यांक अनुसार एक वर्षको अवधिमा २८ अर्ब ३६ करोड रुपैयाँ बारबरको पेट्रोल आयात भएको छ । साथै, १ अर्ब ७ करोड रुपैयाँ बराबरको मट्टितेल आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

 

त्यसैगरी सबैभन्दा धेरै आयात भएको पेट्रोलियम पदार्थ डिजेल हो । एक वर्षको अवधिमा कुल ८७ अर्ब ३७ करोड रुपैयाँको डिजेल आयात भएको छ । यसरी कुल १ करोड ३३ लाख लिटर पेट्रोलियम पदार्थ एक वर्षमा आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

 

चैत ११ देखि असार १ गतेसम्म पूर्ण रुपमा कोरोना भाइरसको कारण सरकारले लकडाउन गरेको भए पनि पेट्रोलियम पदार्थ आयात रकम भने बढेको हो ।

 

आर्थिक वर्ष २०७५/७६ मा १ खर्ब ७ अर्ब ५३ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो । सो वर्ष २२ अर्ब ९४ करोड रुपैयाँ बराबरको पेट्रोल आयात भएको थियो भने १ अर्ब ९ करोड रुपैयाँ बराबरको मट्टितेल आयात भएको थियो ।

 

त्यस्तै, उक्त आवमा ७३ अर्ब ८२ करोड रुपैयाँ बराबरको डिजेल आयात भएको थियो, जुन आर्थिक वर्ष २०७६/७७ को तुलनामा १३ अर्व रुपैयाँले बढी हो ।

 

सरकारले पेट्रोलियम पदार्थ आयातबाट आर्थिक वर्ष २०७६/७७ मा ४८ अर्ब ४७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १७ अर्ब  ८२ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको हो । अघिल्लो आर्थिक वर्षमा पेट्रोलियम पदार्थ आयातबाट सरकारले ३० अर्ब ६५ करोड रुपैयाँ मात्रै राजश्व संकलन गरेको थियो ।

 

नेपालमा अम्लेखगञ्च, भैरहवा, विराटनगर, वीरगञ्ज, चारआली, धनगढी, जनकपुर, नेपालगञ्च, पोखरा र सुर्खेत नाकाबाट पेट्रोलियम पदार्थ भित्रिने गरेको छ ।

थप १३९ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु, एकैदिन ६२६ डिस्चार्ज Read Previous

थप १३९ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु, एकैदिन ६२६ डिस्चार्ज

राष्ट्र बैंकद्वारा कोरोना प्रभावित क्षेत्रको वर्गीकरण, कुन व्यवसाय कुन वर्गमा परे (सूचीसहित) Read Next

राष्ट्र बैंकद्वारा कोरोना प्रभावित क्षेत्रको वर्गीकरण, कुन व्यवसाय कुन वर्गमा परे (सूचीसहित)