एनआइसी एशिया बैंकद्धारा ‘डिजिटल अकाउन्ट ओपनिङ’ प्रणालीको सुरुवात

काठमाडौं । एनआइसी एशिया बैंकले ‘डिजिटल अकाउन्ट ओपनिङ’ प्रणालीको सुरुवात गरेको छ । यससँगै अब ग्राहकले बैंकको शाखामा पुगेर डिजिटल माध्यमबाट फाराम भरी बचत खाता खोल्न सक्नेछन् ।

 

बैंकका अनुसार ग्राहकले ‘डिजिटल अकाउन्ट ओपनिङ’ प्रणालीमार्फत भौतिक फारमको सट्टा खाता खोल्नका लागि आवश्यक आफ्नो विवरण, फोटो, औंठाछाप, हस्ताक्षर लगायतका विवरणहरू डिजिटल प्रणालीबाटै भरी बचत खाता सहज तरिकाले खोल्न सक्ने व्यवस्था गरिएको छ ।

 

यस प्रणालीमा सेवाग्राहीहरूले चमत्कारिक सुविधाहरूले भरिपूर्ण ९ वटा न्यू प्रिमियम सुपर चमत्कारिक खाता योजनाहरूमध्ये आफूले इच्छाएको खाता छनोट गरी बिना झन्झट आफ्नो खाता डिजिटल रुपमा खोल्न सक्नेछन् ।

 

कम्प्युटरमा दक्षता नपुगेका ग्राहकका निम्ति बैंककै कर्मचारीहरूको सहयोगमा डिजिटल रुपमा खाता खोल्न सकिने समेत व्यवस्था गरेको छ । जसका लागि बैंकले देशभर रहेका आफ्ना शाखा कार्यालयहरूमा छुट्टै डिजिटल लबीको व्यवस्था गरेको छ ।

 

देशको ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यअनुरुप डिजिटल माध्यमबाट बैंकिङ कारोबारलाई बढाउनुका साथै आफ्ना अधिकतम सेवाहरूलाई डिजिटल माध्यममा लैजाने क्रममा डिजिटल प्रणाली जस्तो नवीनतम सुविधा ल्याएको छ । यसरी खाता खोल्दा ग्राहकलामो फारम भर्ने तथा आफ्नो पालो कुरेर बस्ने झन्झटबाट मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ ।

 

बैंकले यसअघि ‘आइ सर्भिस’ प्रणालीमार्फत सेवाग्राहीले घर वा अफिसबाट आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी आफ्नो वा आफुले चाहेको यस बैंकको खातामा नगद रकम जम्मा गर्ने भौचर भर्न मिल्ने अनलाइन प्रणालीको शुभारम्भ गरिसकेको छ ।

 

यसको अलावा बैंकले मोबाइल बैंकिङ्ग सेवा नवीकरण, अनब्लक, ब्लक, तथा पिन रिसेट गर्ने एवं मौज्दात विवरण, चेक अनुरोध, ई–कमर्श दर्ता, ब्यालेन्स सर्टिफिकेट अनुरोध र स्टेटमेन्ट अनुरोध गर्नका लागि समेत अनलाइन प्रणालीमार्फत सेवा दिइरहेको छ ।

 

बैंकले हाल देशभरका ३२६ शाखा कार्यालय, ४६५ एटीएम, १०१ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

२ अर्ब १७ करोड घाटा भएपछि श्रीराम सुगर मिल सधैंका लागि बन्द, सम्पत्ति बेचेर दायित्व व्यहोर्ने Read Previous

२ अर्ब १७ करोड घाटा भएपछि श्रीराम सुगर मिल सधैंका लागि बन्द, सम्पत्ति बेचेर दायित्व व्यहोर्ने

नेपाल-चीन रेलमार्ग निर्माण सुरु, चीनतर्फ धमाधम सर्भे हुँदै, नेपालतर्फ भने कुनै छाँटकाँट छैन Read Next

नेपाल-चीन रेलमार्ग निर्माण सुरु, चीनतर्फ धमाधम सर्भे हुँदै, नेपालतर्फ भने कुनै छाँटकाँट छैन