२ अर्ब १७ करोड घाटा भएपछि श्रीराम सुगर मिल सधैंका लागि बन्द, सम्पत्ति बेचेर दायित्व व्यहोर्ने

काठमाडौं। रौतहट जिल्लाकै पहिलो चिनी मिल श्रीराम सुगर मिल्स सधैंका लागि बन्द भएको छ ।

 

करिब २ दशक अघि सञ्चालनमा आएको उक्त मिल शुरुका केही वर्षमा नाफामा रहे पनि पछिल्ला वर्षहरुमा निरन्तर घाटामा परेपछि स्थायी रुपमा बन्द भएको हो । वर्षैपिच्छे घाटा थपिने क्रम बढेपछि उद्योग सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको कम्पनीले जनाएको छ ।

 

कम्पनीले एक सूचना जारी गर्दै आफूहरुले जति प्रयास गर्दा पनि उद्योग सञ्चालन गर्न नसक्ने अवस्था पुगेको भन्दै यही साउन ११ गते (आइतबार) देखि सधैंका लागि बन्द गरिएको सरोकारवाला निकायलाई जानकारी गराएको छ ।

 

गोल्छा र विशाल समूहको लगानी रहेको यस चिनी मिलको आर्थिक वर्ष २०७५/७६ सम्म २ अर्ब १७ करोड ७५ लाख ५८ हजार ३७५ रुपैयाँ घाटामा रहेको उद्योगद्धारा जारी सूचनामा उल्लेख छ ।

 

कम्पनीको अवस्था जर्जर रहेको र पूँजीको समेत अभाव भएकाले कम्पनीले विगत ४ महिनादेखि कर्मचारीको तलब समेत दिएको छैन । अब उद्योगको स्वामित्वमा रहेको चलअचल सम्पत्ति बिक्री गरेर कर्मचारीको तलब सुविधा, उखु किसानको बाँकी भुक्तानी लगायत दायित्व व्यहोर्ने उद्योगले जनाएको छ ।

 

कम्पनी व्यवस्थापनले चलअचल सम्पत्ति बिक्रीका लागि सरकारसँग अनुमतिको प्रक्रिया समेत अगाडि बढाइसकेको छ। सरकारबाट अनुमति पाउनेबित्तिकै सम्पत्ति बिक्री गरेर कर्मचारी र उखु किसानको भुक्तानी गरिने उद्योग व्यवस्थापनले जनाएको छ।

 

३० करोड ४५ लाख ९९ हजार चुक्ता पूँजी रहेको कम्पनीको नेप्सेमा ३० लाख ४५ हजार ९९० कित्ता सेयर सूचीकृत छ । उद्योग बन्द भएसँगै कम्पनीको सेयर कारोबार समेत रोकिएको छ ।

व्यापारीमा कोरोना देखिएपछि महाबौद्धका पसल बन्द Read Previous

व्यापारीमा कोरोना देखिएपछि महाबौद्धका पसल बन्द

एनआइसी एशिया बैंकद्धारा ‘डिजिटल अकाउन्ट ओपनिङ’ प्रणालीको सुरुवात Read Next

एनआइसी एशिया बैंकद्धारा ‘डिजिटल अकाउन्ट ओपनिङ’ प्रणालीको सुरुवात