काठमाडौं । काठमाडौं महाबौद्ध गणेश मन्दिर नजिक पसल चलाउने दुई व्यापारीलाई कोरोना संक्रमण देखिएपछि त्यस क्षेत्रका अधिकांश पसल बन्द भएका छन् ।
आइतबार महाबौद्ध स्तुपा व्यवसाय गर्दै आएका दुई भारतीय व्यापारीमा कारोना भाइरस देखिएको थियो । सोसँगै महाबौद्ध क्षेत्र वरपरका अधिकांश पसल आजदेखि बन्द भएका छन् ।
करिब साढे ३ महिना लामो लकडाउनका कारण बन्द भएका पसलहरु लकडाउन खुकुलो भएसँगै गत महिनादेखि खुलेका थिए । ती व्यापारीमा कोरोना देखिएपछि व्यापारीहरु त्रासित हुँदै पुनः पसल बन्द गरेका हुन् ।
अहिले ती व्यापारीको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गरी स्वाब संकलन भइरहेको जनाइएको छ । र, स्वाब संकलन गरिएका सबैको पीसीआर रिपोर्ट नआएसम्म सबै सहज रहन आग्रह गरिएको छ ।
पछिल्लो समय लकडाउन खुलेसँगै मानिसहरू अत्यधिक रूपमा सडकमा निस्कन थालेका छन् । व्यापार व्यवसाय पनि पहिलेकै जस्तो सुचारु भएकाले पनि संक्रमण फैलिने सक्ने आशंका गर्न थालिएको छ ।
