नेपाल-चीन रेलमार्ग निर्माण सुरु, चीनतर्फ धमाधम सर्भे हुँदै, नेपालतर्फ भने कुनै छाँटकाँट छैन
गिता भुजेल
प्रकाशित : 3:15 pm, सोमबार, साउन १२, २०७७

काठमाडौं । नेपाल–चीनलाई रेलमार्ग मार्फत जोड्न केरुङ-काठमाडौं अन्तरदेशीय रेलमार्ग बनाउने काम अघि बढेको छ । चिनियाँ सर्भे टोलीले सिगात्सेदेखि केरुङसम्मका लागि रेलमार्ग सर्भे गरिरहेको हो । चिनियाँ टोलीबाट काम धमाधम भइरहेको छ ।

 

तिब्बतको सिगात्सेसम्म सन् २०१४ मा नै रेल आइसकेको छ । चीनले सन् २०२२ सम्ममा सिगात्सेदेखि नेपालको सीमा केरुङसम्म ५५६ किलोमिटर लामो रेलमार्ग ल्याउने छ । र त्यसपछि काठमाडौंसम्म ७२ किलोमिटर रेलमार्ग सञ्चालन गर्ने पनि दुई देश बीच सहमति भइसकेको छ ।

 

चीन तर्फको खण्डमा हाल धमाधम सर्भे भइरहेको चीनले जनाएको छ । चीनको सरकारी टेलिभिजन सीजीटीएनका कार्यक्रम निर्माता सन सिवेइले चीनतर्फ निर्माण हुने रेलमार्गको सर्भेको काम भइरहेको ट्वीटरमार्फत जानकारी गराएका छन् । उनले चीनको विभिन्न भूभागमा भइरहेको सर्भेको तस्वीरहरु समेत सार्वजनिक गरेका छन्।

 

चीनले तिब्बतको सिगात्सेसम्म सन् २०१४ मा नै रेल ल्याइसकेको छ । सिगात्सेदेखि नेपालको सीमा केरुङसम्म ५५६ किलोमिटर लामो रेलमार्ग चीनले सन् २०२२ सम्ममा पूरा गरिसक्ने योजनाका साथ काम सुरु गरेको चिनियाँ अधिकारीले बताएका छन् ।

 

चीले आफ्नो तर्फको रेलमार्ग निर्माणको प्रक्रिया अगाडि बढाए पनि नेपालतर्फ रेलमार्ग निर्माणका लागि अहिलेसम्म कुनै काम अघि बढेको छैन । रेल विभागका महानिर्देशक बलराम मिश्रले लकडाउनका कारण हाल नेपालका तर्फबाट केही काम हुन नसकेको बताए ।

 

दुई देश बीच भएको सम्झौता अनुसार नेपालले चीनलाई रेल निर्माण गर्न जमिन दिने छ भने चीनले आफ्नै लगानीमा सर्भे र रेलमार्ग निर्माण गर्न छ ।महानिर्देशक मिश्रले चीनले केरुङसम्म रेलमार्ग ल्याएपछि नेपालको तर्फबाट जमिन र अन्य सुविधाहरु प्रधान गरिने बताए ।

चीनतर्फको भू-भागमा रेलमार्गको सर्भे गर्दै चिनियाँ अधिकारी । स्रोत : चिनियाँ टेलिभिजन सीजीटीएनका कार्यक्रम निर्माता सन सिवेइको ट्वीटर

 

‘अहिले लकडाउनको कारणले हाम्रो तर्फबाट केही हुन सकेको छैन । चीनले भने काम गरिरहेको छ । केरुङसम्म चीनले रेल ल्याएपछि हामीले उनीहरुलाई ‘फ्यासिलिटेट’ गर्ने हो । आवश्यक पर्ने जमिन, विद्युत लगायतका व्यवस्था मिलाउने हो,’ महानिर्देशक मिश्रले चाणक्य पोष्टसँग भने ।

 

यस्तै चीनले सिगात्सेदेखि केरुङसम्मको ५५६ किलोमिटर लामो रेलमार्ग ल्याउने छ । चीनले सन् २०२२ सम्म सो रेलमार्ग पूरा गर्ने लक्ष्य राखेको छ ।

 

सो रेल केरुङसम्म आइपुगेपछि रसुवा हुँदै काठमाडौंसम्म जोड्ने गरी निर्माण गरिने सम्झौता भएको छ । उक्त रेलमार्ग ७२ किलोमिटर वर काठमाडौंसम्म जोड्ने सहमति भएको छ ।

 

रेल मार्ग निर्माणका लागि झन्डै २ खर्ब ७५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । उक्त रेलमार्गमा अधिकांश पुल र सुरुङ हुने प्रारम्भिक अध्ययनले देखाएको छ । प्रतिघन्टा १२० किलोमिटर दौडने काठमाडौं-केरुङ रेलमार्गमा ८० देखि ९० प्रतिशत पुल र सुरुङ हुने अनुमान छ ।

 

चिनियाँ टोलीले केरुङ–काठमाडौं रेलमार्गबाहेक काठमाडौं-पोखरा हुँदै लुम्बिनीसम्मको रेलमार्गको पनि स्थलगत अध्ययन गरेको थियो ।

 

त्यो अध्ययनमा केरुङबाट रसुवागढी-त्रिशुली-काठमाडौँसम्म रेल सञ्चालन सहज रहेको संकेत दिएको थियो । काठमाडौँबाट कुरिनटार हुँदै एउटा लाइन पोखरा जाने र अर्को लुम्बिनी लैजाने रेलमार्गको विस्तार गर्न भने ‘केही कठिनाइ’ देखाएको थियो ।

 

गत आर्थिक वर्षमा रेलमार्ग निर्माणका लागि ७ अर्ब ७० करोड रुपैयाँ विनियोजन गरिएको थियो । चालू आर्थिक वर्ष २०७७/७८ मा रेल मार्ग निर्माणका लागि ८ अर्ब ६६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।