अचाक्ली महँगियो भान्सा, तरकारीको भाउ ५७८ प्रतिशतसम्म बढ्यो

काठमाडौं । पछिल्लो दुइ साता यता काठमाडौं उपत्यकामा तरकारीको भाउ ह्वात्तै बढेको छ । लकडाउन यता निरन्तर सस्तिएको तरकारीको भाउ लककडाउन खुकुलो भएसँगै क्रमशः बढ्न थाले पनि साउन लागेयता भने अचाक्ली बढेको छ ।

 

पछिल्लो दुई साता यता परेको अविरल वर्षका कारण उपत्यका प्रवेश गर्ने विभन्न सडक पहिरोले अवरुद्ध हुँदा तरकारीको ढुवानीमा समस्या भई आपूर्तिमा कमी आउँदा भाउ ह्वात्तै बढेको छ । बाढी पहिरोले कृषकको तरकारीमा क्षति पुग्दा तरकारी उत्पादन समेत घटेको छ ।

 

बजारमा आपूर्ति घटेपनि माग बढ्दै गएकाले तरकारीको भाउ ह्वात्तै बढेको कालीमाटी तरकारी तथा फलफूल बजारका व्यापारीहरु बताउँछन् । पछिल्लो समय लकडाउन खुकुलो हुँदै गएकाले साना होटल, रेष्टुरेन्टहरु खुल्न थालेकाले तरकारीको माग बढ्दै गएको उनीहरु बताउँछन् ।

 

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उप निर्देशक विनय श्रेष्ठले बाढी पहिरोका कारण ढुवानीमा समस्या हुँदा तरकारीको आपूर्ति कम भएसँगै भाउ बढेको बताए । ‘पहिरोका कारण मुख्य गरी पृथ्वी र त्रिभुवन राजमार्ग अवरुद्ध हुँदा धादिङ, चितवन, मकवानपुर लगायतमा उत्पादन भएको तरकारी ल्याउन सकिएको छैन, उनले भने, ‘एक त यो तरकारी उत्पादन कम हुने समय, त्यसमाथि पनि ढुवानीमा समस्या हुँदा आपूर्ति निकै घटेकाले भाउ ह्वात्तै बढेको हो ।’

कालिमाटी फलफूल तथा तरकारी बजारमा काउली, प्याज, गोलभेँडा, बन्दा, लौका, गाजर, आलु, मुला, काँक्रो लगायत अधिकांश तरकारीको अचाक्ली बढेको छ ।

 

बजारमा पछिल्लो दुई महिनाको अवधिमै तरकारीको भाउ ५७८ प्रतिशतसम्म बढेको छ । यस अवधिमा सबैभन्दा धेरै भाउ काउलीको बढेको छ । जेठ १२ गते थोक मूल्य प्रतिकिलो १८ रुपैयाँ रहेको काउलीको भाउ अहिले १२५ रुपैयाँ पुगेको छ ।

 

यस्तै, यस अवधिमा घिउसिमिको भाउ ४४४ प्रतिशतले बढेर प्रतिकिलो ९८ रुपैयाँ पुगेको छ । जेठमा प्रतिकिलो १८ रुपैयाँ रहेको घिउसिसिको भाउ अहिले बढर ९८ रुपैयाँ पुगेको छ । हरियो धनियाँ, सेतो मूला, हरियो फर्सीको पनि भाउ ३५० प्रतिशतभन्दा धेरैले बढेको छ ।

 

यस्तै घिरौला, हरियो प्याजको मूल्य २५० प्रतिशत, गान्टे मूला २४०, भिडे खुर्सानी २२८, भिण्डी २१४ प्रतिशतले बढेको सकिन्छ । दोब्बरभन्दा बढीले  भाउ बढेका अन्य तरकारीहरुमा गोलभेँडा, पालूगो साग, चिचिण्डो, चमसूर, रायो साग, तितेकरला, बोडी, घिरौला लगायत रहेका छन् ।

 

यो थोक मूल्यमा वृद्धि भएको भाउ हो । खुद्रा विक्रेताले यस मूल्यमा पनि २० प्रतिशतदेखि झन्डै दोब्बरसम्म नाफा राखेर बेच्ने गरेको पाइन्छ । जसले अहिलेको विषम परिस्थितिमा उपभोक्ताको ढाड सेकिएको छ ।

१० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक Read Previous

१० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

सुनको भाउ बढेको बढ्यै, तोलाको साढे ९७ हजार पुग्यो Read Next

सुनको भाउ बढेको बढ्यै, तोलाको साढे ९७ हजार पुग्यो