उद्योग वाणिज्य महासंघको निर्वाचन स्थगित, पूर्ण लकडाउन हटेको १५ दिन भित्र चुनाव हुने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) को यही साउन २६ र २७ गतेलाई तोकिएको निर्वाचन स्थगित भएको छ ।

 

बिहीबार बसेको महासंघ पदाधिकारीको बैठले सरकारले हाल लकडाउन खुकुलो बनाए पनि सभा, सम्मलेन जस्ता कार्यक्रम गर्न रोक लगाएकाले निर्धारित मितिमा निर्वाचन गर्न नसकिने भन्दै तत्कालका लागि निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो ।

 

सरकारले हाल लकडाउन हटेको घोषणा गरे पनि अझै केही क्षेत्रमा बन्देज कायमै राखेको छ । साथै, सभा, भोज, भतेर लगायतका भीडभाड हुने कार्यक्रममा २५ जना भन्दा बढी भेला हुन् रोक लगाएको छ ।

 

महासंघको चुनावका १ हजारभन्दा बढी प्रतिनिधि भेला हुनु पर्ने भएकाले तोकिएकै मितिमा निर्वाचन गर्न सम्भव नहुने भन्दै महासंघले तत्कालका लागि चुनाव स्थगित गरेको हो ।महासंघले यथास्थितिमै निर्वाचन गर्न सरकारसँग अनुमति मागे पनि सरकारले स्वीकृति दिएको छैन ।

 

महासंघको आजको बैठकले निर्वाचनको अर्को मिति घोषणा नगरे पनि सरकारले पूर्ण लकडाउन हटेको घोषणा गरेको १५ दिन भित्र निर्वाचन गर्ने निर्णय गरेको छ ।

 

महासंघको निर्वाचन स्थगित भएको यो दोस्रो पटक हो ।  यसअघि पनि चैत अन्तिम साता तोकिएको महासंघको निर्वाचन कोरोना रोकथामका लागि लकडाउन लागू गरेसँगै स्थगित भएको थियो ।

 

महासंघको विधान अनुसार हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः आगामी कार्यकालका लागि अध्यक्ष बन्नेछन् भने अन्य पदाधिकारीका लागि निर्वाचनबाट चुनिएर आउनुपर्छ । महासंघको वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र चन्द्र ढकालले आ-आफ्नै प्यानल बनाएर निर्वाचनका लागि उम्मेदवारी समेत घोषणा गरिसकेका छन् ।

सिभिल मलले दियो ४ महिनाको भाडामा आधा छुट, थप ३ महिनाको ४० प्रतिशत छुट दिने Read Previous

सिभिल मलले दियो ४ महिनाको भाडामा आधा छुट, थप ३ महिनाको ४० प्रतिशत छुट दिने

ऊर्जा क्षेत्रमा लगानी गर्न बंगलादेशलाई आग्रह Read Next

ऊर्जा क्षेत्रमा लगानी गर्न बंगलादेशलाई आग्रह