पुराना निर्जीवन बीमा कम्पनीलाई अजोडको टक्कर, ६ कम्पनीको व्यापार घट्यो (तथ्यांकसहित)

काठमाडौं । कारोनाका कारण अधिकांश क्षेत्रको व्यापार व्यवसाय खुम्चिए पनि बीमा क्षेत्रमा भने यसको खासै प्रभाव परेको देखिएन ।

 

बैंकहरुले समेत व्यापार विस्तार गर्न नसकेको अवस्था बीमा कम्पनीहरुले भने आफ्नो व्यावसाय ७ प्रतिशतले बढाउन सफल भएका छन् । गत आर्थिक वर्षको अन्तिम ३ महिना (चैत-जेठ) मा व्यवसाय बढाउन नसकेपनि अन्य महिनामा भने बीमा कम्पनीहरुले व्यवसाय वृद्धि गरेका छन् ।

 

निर्जीवन बीमा कम्पनीहरुले सवारीसाधन, घर, हाउजिङ, स्वास्थ्य, जलविद्युत् कम्पनी, उद्योगधन्दा लगायत सम्पत्तिहरुको बीमाबापत प्रिमियम संकलन गर्ने गर्छन् ।

 

बीमा समितिको तथ्यांक अनुसार गत आर्थिक वर्ष १९ वटा निर्जीवन बीमा कम्पनीहरुले कुल २५ अर्ब ८७ करोड बीमा शुल्क आर्जन गरेका छन् ।  यो अघिल्लो आर्थिक वर्ष १ अर्ब ६२ करोड रुपैयाँ बढी हो । निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७५/७६ मा २४ अर्ब २५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

 

गत आवमा १२ वटा निर्जीवन बीमा कम्पनीहरुले बीमा शुल्क आर्जन बढाएका छन् भने एउटा कम्पनीको स्थिर रहेको छ। त्यस्तै ६ वटा कम्पनीको व्यावसाय भने अघिल्लो वर्षको तुलनामा घटेको छ ।

 

गत आवमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले ३ अर्ब ५२ करोड रुपैयाँ र सबैभन्दा कम सानिमा जनरल इन्स्योरेन्सले ३५ करोड बीमा शुल्क आर्जन गरेको छ ।

 

व्यवसाय विस्तारमा प्रभु र अजोडको छलाङ

 

गत आवमा प्रभु र अजोड इन्स्योरेन्सले व्यवसाय विस्तारमा छलाङ मारेका छन् । २० वटा निर्जीवन बीमा कम्पनीमध्ये प्रभुले रकमका आधारमा सबैभन्दा धेरै बीमा शुल्क आर्जन वृद्धि गरेको छ । यसले गत आवमा १ अर्ब ५५ करोड प्रिमियम संकलन गरेको छ । यो अघिल्लो आर्थिक वर्षकोभन्दा ५४ करोड रुपैयाँले बढी हो ।

यस्तै, २ वर्ष अगाडि मात्र सञ्चालनमा आएको अजोड इन्स्योरेन्सले  पुराना बीमा कम्पनीहरुलाई व्यवसाय विस्तारमा टक्कर दिएको छ । कम्पनीले गत आवमा आफ्नो व्यवसाय दोब्बरभन्दा बढीले बढाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा अजोडले गत आवमा व्यवसाय १०७ प्रतिशतले वृद्धि गरेको छ । प्रतिशतका आधारमा यो बीमा कम्पनीमध्येकै धेरै हो ।

 

आर्थिक वर्ष २०७५/७६ मा ४१ करोड बीमा शुल्क आर्जन गरेको कम्पनीले गत आवमा त्यसलाई दोब्बरले बढाएर ८६ करोड पुर्याएको छ । अजोडले प्रभुबाहेक सबै पुराना कम्पनीलाई पछि पार्दै समग्रमा धेरै बीमा शुल्क आर्जन गर्ने कम्पनीको सूचीमा दोस्रोमा रहेको छ ।

 

यस्तै, गत आवमा सानिमा जनरलले ७९ प्रतिशत, जनरल इन्स्योरेन्सले ६२, युनाइटेडले ३५ र एभरेष्टले ११ प्रतिशले बीमाशुल्क आर्जन बढाएका छन् ।

 

६ कम्पनीको व्यवसाय घट्यो

 

अघिल्लो आवको तुलनामा गत आवमा ६ वटा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय खुम्चिएको छ । गत आवमा प्रिमियर, नेपाल, लुम्बिनी, हिमालय जनरल, नेशनल र प्रुडेन्सियल इन्स्योरेन्सको बीमा शुल्क आर्जन संकुचन आएको छ ।

 

गत आवमा सबैभन्दा धेरै बीमा शुल्क आर्जन प्रुडेन्सियल इन्स्योरेन्सको घटेको छ । यसको व्यवसाय अघिल्लो आवकोभन्दा २२ करोडले घटेको छ । आर्थिक वर्ष २०७५/७६ मा १ अर्ब २५ करोड बीमा शुल्क आर्जन गरेको कम्पनीले गतमा त्यो घटेर १ अर्ब ३ करोडमा सीमित भएको छ ।

 

यस्तै गत आवमा बीमा शुल्क आर्जन प्रिमियर र नेपालको १/१ करोड, लुम्बिनीको ५ करोड, हिमालय जनरल र नेशनलको ९/९ करोडले घटेको छ ।

 

गत आवमा शिखर इन्स्योरेन्सको भने बीमाशुल्क आर्जनमा कुनै थपघट भएको छैन । शिखरले गत आवमा अघिल्लै आवको जति ३ अर्ब ५२ करोड बीमा शुल्क आर्जन गरेको छ । यो निर्जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै हो ।

 

व्यापार घटाउने कम्पनीको सेयर मूल्य भने उच्च

 

गत आवमा व्यापार घटाएका अधिकांश कम्पनीको दोस्रो बजारमा सेयर मूल्य भने उच्च रहेको छ ।

 

गत आवमा व्यापार बढाउन नसकेको शिखर इन्स्योरेन्सको सेयर मूल्य अहिले दोस्रो बजारमा कारोबारमा आएका निर्जीवन बीमा कम्पनीमध्ये दोस्रो महँगो छ । आज यसको सेयरको मूल्य १ हजार १३४ रुपैयाँ रहेको छ ।

 

त्यस्तै, बीमा शुल्क आर्जन घटाएका प्रिमियर, नेपाल, प्रुडेन्सियल लगायत कम्पनीको पनि तुलनात्मक रुपमा सेयर मूल्य महँगो रहेको छ । यी कम्पनीहरुको आजको सेयर मूल्य क्रमशः प्रिमियर ६१२, नेपाल ४८५ र प्रुडेन्सियल ४७० रुपैयाँ रहेको छ । गत आवमा व्यापार बढाएका अधिकांश कम्पनीको भन्दा यी कम्पनीको सेयर मूल्य महँगो रहेको छ ।

 

गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक भएपछि मात्रै कुन कम्पनीले कति लाभांश दिनसक्छ भन्ने थाहा हुने भए पनि व्यापार घटाएका कम्पनीहरुको बीमा शुल्क आर्जनका आधारमा लाभांश क्षमता भने घट्ने अनुमान गर्न सकिन्छ ।

सुनको मूल्य अहिलेसम्मकै महँगो, भाउ आकाशिएपछि कारोबार शून्य Read Previous

सुनको मूल्य अहिलेसम्मकै महँगो, भाउ आकाशिएपछि कारोबार शून्य

सरकारको ऋण १ वर्षमै साढे २ खर्ब बढेर १३ खर्ब पुग्यो, प्रति नेपालीको थाप्लोमा कति Read Next

सरकारको ऋण १ वर्षमै साढे २ खर्ब बढेर १३ खर्ब पुग्यो, प्रति नेपालीको थाप्लोमा कति