काठमाडौं । गतआर्थिक वर्षको ११ महिनामा नेपाल सरकार (संघीय सरकार) ऋण साढे २ खर्ब रुपैयाँ भन्दा धेरैले बढेको छ।
अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६/७७ साउनदेखि जेठसम्ममा सरकारको ऋण २ खर्ब ६४ अर्ब ८१ करोड रुपैयाँ थपिएको छ ।
गत आवको जेठ मसान्तसम्ममा संघीय सरकारको सार्वजनिक ऋण १३ खर्ब १२ अर्ब ७१ करोड करोड रुपैयाँ पुगेको छ। यो कुल गार्हस्थ उत्पादनको एकहिाइभन्दा बढी हो । आर्थिक वर्ष २०७५/७६ को असारमसान्त सम्ममा सरकारको ऋण १० खर्ब ४७ अर्ब ९० करोड रुपैयाँ थियो ।
सरकारको कुल ऋणमध्ये ५ खर्ब ९४ अर्ब १८ करोड आन्तरिक र ७ खर्ब १८ अर्ब ५३ करोड रुपैयाँ वैदेशिक ऋण रहेको अर्थ मन्त्रालयले जनाएको छ।
यस अनुसार प्रत्येक नेपालीको थाप्लोमा साढे ४३ हजारभन्दा बढी सार्वजनिक ऋण रहेको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार नेपालको जनसंख्या ३ करोड २७ हजार ६५९ रहेको छ ।सबैलाई समानुपातिक रुपमा भाग लगाउँदा प्रत्येक नेपालीको टाउकोमा ऋणको भारी ४३ हजार ७१६ रुपैयाँ सार्वजनिक ऋण पर्न आउँछ ।
पछिल्लो समय कोरोना भाइरसका कारण देशको अर्थतन्त्र नै ठप्प जस्तै हुँदा सरकारको आम्दानीको मुख्य स्रोत राजस्व असुलीमा ठूलो गिरावट आएको थियो । जसले गर्दा सरकारको दैनिक खर्च समेत ऋण लिएरै चलाउनु पर्ने अवस्था आएकाले यस्तो ऋण ह्वात्तै बढेको हो ।
गत आवको जेठसम्ममा संघीय सरकारले आन्तरिक ऋणतर्फ ३३ अर्ब ८९ करोड बराबरको साँवा तथा १९ अर्ब २४ करोड बराबरको ब्याज भुक्तानी गरेको छ । त्यसैगरी, बाह्य ऋणतर्फ १६ अर्ब ५२ करोड साँवा र ३ अर्ब ५६ करोड रुपैयाँ ब्याज भुक्तानी गरेको छ ।