बाढीले ८८ हजार हेक्टर खेतीयोग्य जमिनमा क्षति, १ हजार पशुपंक्षी मरे

काठमाडौं । केही दिनयता देशभर परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरोले विभिन्न स्थानमा ठूलो क्षति पुर्याएको छ ।

 

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार हालसम्म ५ वटा प्रदेशबाट क्षतिको प्रारम्भिक जानकारी आएको छ ।

 

लगातार परेका पानीका कारण हालसम्म ८८ हजार ६७७ हेक्टर खेतीयोग्य जमिन डुबान परेको छ भने बाढी पहिरोमा परी १ हजार ८१ पशुपंक्षी मरेका छन् ।

 

यसरी मर्नेका कुखुराको संख्या ८५० रहेको मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले जानकारी दिए । उनले तराईका क्षेत्रमा धेरै डुबान भएको देखिए पनि त्यसले धान बालीमा धेरै असर नगरेको बताए । डुबानको केही दिनमै पानी सुकेकाले फेरि बाली ब्युँझने भएकाले धानमा धेरै क्षति नपुगेको उनको भनाइ छ ।

 

‘धान बालीमै धेरै असर परेको भने छैन, प्रारम्भिक तथ्यांक अनुसार ७ सय हेक्टरमा पहिरोको कारण बालीमा क्षति हुन सक्ने देखाएको छ,’ केसीले चाणक्य पोष्टसँग भने ।

 

कुन प्रदेशमा कति क्षति

 

हालसम्म ५ वटा प्रदेशबाट प्रारम्भिक क्षति जानकारी आएको छ । २ वटा प्रदेशको जानकारी आउन बाँकी रहेको छ । प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबाट प्रारम्भिक क्षतिको जानकारी मन्त्रालयमा आएको हो ।

 

प्रदेश २ मा ८७ हजार ६२९ हेक्टर जमिन डुबान भएको थियो । सो डुबानले मानिसको दैनिकी कष्टकर बनाए पनि कृषिबालीमा भने धेरै असर नपारेको केसीको भनाइ छ । तर, धेरै दिनसम्म बालीमा डुबान भए त्यसमा क्षति पुर्याउन सक्ने उनले बताए ।

 

गण्डकी प्रदेशमा १ हजार ८२ हेक्टर क्षेत्रफलमा बाढी तथा पहिरोकाले बालिमा क्षति पुर्याएको छ । सो क्षेत्रमा ३९२ पशुपन्छीमा क्षति परेको हो । सो मध्ये ३०० कुखुरा मरेको र अन्य पशुहरु बाढी तथा पहिरोले बगाएको उनले बताए ।

 

प्रदेश ५ मा १५६ हेक्टर क्षेत्रमा क्षति पुगेको छ । सो क्षेत्रमा पहिरोका कारण धान, मकैका बालीहरुमा क्षति पुगेको उनले बताए । ३८९ पशुपन्छीमा क्षति पुगेको छ । २५० कुखुराहरु एकै ठाउँमा मरेको उनले जानकारी दिए ।

 

कर्णाली प्रदेशमा २०५ रोपनी क्षेत्रमा धान खेतमा क्षति भएको छ । सुदूपश्चिम प्रदेशमा ३०० ब्रोइलर कुखुरा बाढीले बगाएको छ ।

सरकारको ऋण १ वर्षमै साढे २ खर्ब बढेर १३ खर्ब पुग्यो, प्रति नेपालीको थाप्लोमा कति Read Previous

सरकारको ऋण १ वर्षमै साढे २ खर्ब बढेर १३ खर्ब पुग्यो, प्रति नेपालीको थाप्लोमा कति

थप १४७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८ हजार २४१ पुग्यो, १५६ जना डिस्चार्ज Read Next

थप १४७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८ हजार २४१ पुग्यो, १५६ जना डिस्चार्ज