नेपाल क्लियरिङ हाउसको कारोबार संख्या २ करोड नाघ्यो, ९७ खर्ब कारोबार

काठमाडौं । विद्युतीय भुक्तानी सेवा प्रदायक नेपाल क्लियरिङ हाउस (एनसीएचएल)को कुल कारोबार संख्या २ करोड नाघेको छ ।

 

क्लियरिङ हाउसले गत आर्थिक वर्ष २०७६/७७ मा २ करोड ६ लाखभन्दा बढीको भुक्तानी कारोबारहरू फर्स्योट गरेकोकम्पनीले जनाएको छ । यो अघिल्लो आर्थिक वर्षको भन्दा २२.२ प्रतिशले बढी हो ।

 

एक आर्थिक वर्षमा विभिन्न भुक्तानी प्रणालीमार्फत भएका सो कारोबारहरू मूल्यका आधारमा ९६.८ खर्ब नेपाली रुपैयाँ रहेको छ ।

 

एनसीएचएलको स्थापना वर्षदेखि हालसम्मको वृद्धि दर ५८.८ प्रतिशत पुगेको छ । हाल एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरूमार्फत दैनिक औसत ३६.२ अर्ब बराबरको ७७,११५ भुक्तानी कारोबार हुने गरेका कम्पनीले जनाएको छ ।

 

नेपाल क्लियरिङ हाउसले एनसीएचएल ईसीसी एनसीएचएल आईपीएस र कनेक्ट आईपीएसलगायत भुक्तानी तथा फर्स्योटका प्रणालीहरू सञ्चालनमा गरिरहेका छन् । यसका साथै नेसनल पेमेन्ट्स इन्टरफेस तथा कनेक्ट आरटीजीएस पनि सञ्चालन गर्दै आएको छ ।

 

विभिन्न भुक्तानी प्रणालीहरूको एकीकृत इन्टरफेसको रूपमा विकास गरिएको एनपीआईमार्फत हाल बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रदायक र भुक्तानी प्रणाली सञ्चालकलगायत विभिन्न सेवा प्रदायक संस्थाहरूलाई जोडी भुक्तानी कारोबार सञ्चालन गर्दै आएको छ ।

 

यस सेवाको प्रयोग सरकारी निकायमा पनि तलब भुक्तानी, तेस्रो पक्ष भुक्तानीलगायतका विभिन्न भुक्तानी एवं राजस्व संकलनका निम्ति हुँदै आएको छ ।

 

लकडाउनअघि दैनिक १ अर्ब औसत कारोबार हुने कनेक्ट आइपीएसमा असारमा भने २.५ अर्ब बराबरको दैनिक औसत कारोबार कम्पनीले जनाएको छ । डिजिटल भुक्तानी बढ्दै गएकाले २०७७ साउन १ गतेबाट भुक्तानी प्रणालीहरूमा शुल्क घटाएको कम्पनीले जनाएको छ ।

पुनरकर्जा कार्यविधि लागू, ५ प्रतिशत ब्याजमै २० करोडसम्म ऋण पाउने, यस्ता व्यवसायीले पाउँछन् ऋण Read Previous

पुनरकर्जा कार्यविधि लागू, ५ प्रतिशत ब्याजमै २० करोडसम्म ऋण पाउने, यस्ता व्यवसायीले पाउँछन् ऋण

दराज र ईसेवाले ल्यायो १ रुपैयाँमा आइफोन एसई जित्ने अफर Read Next

दराज र ईसेवाले ल्यायो १ रुपैयाँमा आइफोन एसई जित्ने अफर