पुनरकर्जा कार्यविधि लागू, ५ प्रतिशत ब्याजमै २० करोडसम्म ऋण पाउने, यस्ता व्यवसायीले पाउँछन् ऋण

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना प्रभावित व्यवसायीलाई लाई राहत दिने गरी पुनरकर्जा कार्यविधि लागू गरेको छ।

 

राष्ट्र बैंकले अर्थतन्त्रमा पारेको प्रभावलाई सम्बोधन गरी उद्योग, पेशा, व्यवसायको पुनरुत्थानमा सहयोग पुर्याउन पुनरकर्जामा पहुँच अभिवृद्धि गरी विद्यमान पुनरकर्जा सुविधालाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले ‘नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि,२०७७’ कार्यान्वयनमा ल्याएको हो ।

 

यो कार्यविधि कार्यान्वयनमा आएसँगै हाल रहेको पुनरकर्जा सुविधा थप व्यवस्थित र प्रभावकारी हुने राष्ट्र बैंकको विश्वास छ ।

 

राष्ट्र बैंकका अनुसार बैंकहरूले ऋणीबाट विशेष पुनरकर्जामा ३ प्रतिशत, लघु, घरेलु तथा साना उद्यम पुनरकर्जामा र साधारण पुनरकर्जामा ५ प्रतिशतसम्म ब्याज लिन पाउने छन्।

 

सरकारले कोरोनाबाट प्रभावित व्यवसायीलाई अऋण प्रदान गर्न १ खर्ब रुपैयाँ बराबरको पुनरकर्जा कोष स्थापना गरेको छ । यो कोषबाट व्यवसायीले ५ प्रतिशत ब्याजदरमा ५ करोड रुपैयाँसम्म पुनरकर्जा पाउने छन् । एकमुष्ट रुपमा प्रदान गरिने पुनरकर्जाको अवधि बढीमा १ वर्षको हुनेछ । र, यस्तो कर्जा नवीकरण हुने छैन ।

 

पुनरकर्जालाई ३ वर्गमा वर्गीकरण

 

राष्ट्र बैंकले पुनरकर्जालाई मुख्य गरी ३ वर्गमा वर्गीकरण गरेको छ । जस अनुसार व्यवसायीले ३ देखि ५ प्रतिशतसम्म ब्याजदरमा सहुलियत कर्जा पाउने छन् ।

 

राष्ट्र बैंकका अनुसार बैंकहरूले ऋणीबाट विशेष पुनरकर्जामा ३ प्रतिशत, लघु, घरेलु तथा साना उद्यम पुनरकर्जामा र साधारण पुनरकर्जामा ५ प्रतिशतसम्म ब्याज लिन पाउने छन्।

 

उद्यमी स्वयं संलग्न भई सञ्चालन गरिएका उद्यम, व्यापार तथा व्यवसायमा प्रवाह भएको १५ लाखसम्मको कर्जा सुविधाको लागि प्रदान गरिने पुनर्कर्जालाई लघु, घरेलु तथा साना उद्यम पुनरकर्जामा वर्गीकरण गरिएको छ ।

 

यस्तै, बैंकले समय समयमा कुनैक्षेत्र विशेषलाई विशेष प्राथमिकता दिने गरी प्रदान गरिने पुनर्कर्जालाई विशेष पुनरकर्जा मानिने छ । यस अन्तर्गत हाल कायम रहेको निर्यात, महिला उद्यमी, फरक ढङ्गले सक्षम व्यक्तिले सञ्चालन गरेका उद्यम,व्यवसाय, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा प्रदान गरिएको पुनरकर्जा पर्नेछन् ।

 

त्यसैगरी लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा र विशेष पुनरकर्जामा नपरेका र बैंकले समय समयमा तोकेको सबै पुनरकर्जाहरूलाई साधारण पुनरकर्जा अन्तर्गत पर्नेछन् ।

 

अधिकतम २० करोड पुनरकर्जा पाउने

 

बैंकबाट आह्वान गरी इजाजतपत्रप्राप्त संस्थालाई एकमुष्ट प्रदान हुने प्रति ग्राहक पुनरकर्जाको अधिकतम सीमा ५ करोड हुनेछ । यसरी एकमुष्ट प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिनेरकमको ७० प्रतिशतभन्दा बढी हुने छैन ।

बैंकले ग्राहक अनुसार मूल्याङ्कन गरी उपलव्ध गराउने पुनरकर्जाको प्रति ग्राहक अधिकतम सीमा २० करोडसम्म हुनेछ । यसरी ग्राहक अनुसार प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको २० प्रतिशतभन्दा बढी हुने छैन ।

 

बैंकबाट आह्वान गरी इजाजतपत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरूलाई प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको १० प्रतिशतभन्दा बढी हुने छैन ।

 

यस्ता व्यवसायीले पाउछन् पुनरकर्जा

 

पुनरकर्जा कार्यविधि अनुसार लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा अन्तर्गत विशेष र साधारण पुनरकर्जा इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाबाट १५ लाखसम्म कर्जा पाउने छन् ।

 

यस्तो कर्जा हाल सञ्चालनमा रहेका उद्यम, प्राकृतिक प्रकोप वा कुनै महामारीका कारण बन्द रहेतापनि त्यस्तो घटनाअघि सञ्चालनमा रहेका र व्यवसायिक दृष्टिकोणले भविष्यमा सम्भाव्यता रहेका उद्योग, प्राकृतिक प्रकोपका कारण पुनरुत्थान गर्नुपर्ने लघु, घरेलु तथा साना उद्यमीहरूलाई प्रवाह भएका थप कर्जाहरू, वैदेशिक रोजगारीबाट फर्केका उद्यमीहरुलाई प्रवाह भएका कर्जाहरु, कृषि उत्पादन तथा प्रशोधन, पशुपंछी पालन, ह्याचरी, मत्स्यपालन आदिमा प्रवाहित कर्जाहरु, कृषि औजार तथा यन्त्र उत्पादन तथा बिक्रीवितरण, बैंकले समयसमयमा तोकेका अन्य लघु, घरेलु तथा साना उद्यमीले पाउने छन् ।

 

यस्तै, विशेष पुनरकर्जा अन्तर्गत हाल सञ्चालनमा रहेका निर्यातजन्य उद्योग, व्यवसायलाई प्रवाह भएका कर्जाहरू, न्यून आय भएका महिला, आदिवासी, जनजाती, मधेशी, दलित, फरक ढङ्गबाट सक्षम व्यक्तिले सञ्चालन गरेको उद्यम व्यवसायमा प्रवाह भएका कर्जाहरू, रुग्ण उद्योग तथा प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा प्रदान गरिएका कर्जाहरु, वैदेशिक रोजगारीमा जानेलाई प्रवाह भएको कर्जाहरु , कोभिड–१९ बाट अति प्रभावित भनी बैंकले तोकेका क्षेत्रमा प्रदान गरिएका कर्जावालाहरुले पाउनेछन् ।

 

यसैगरी साधारण पुनरकर्जाका अन्तर्गत जलविद्युत परियोजना, कृषि क्षेत्र, पशुपंक्षी तथा मत्स्यपालन व्यवसाय, विदेशमा रोजगारी वा अध्ययन गरी फर्केका युवाहरूले सञ्चालन गरेका उद्योग–व्यवसाय, उत्पादनमूलक उद्योग, पर्यटन उद्योग, निर्माण उद्योग, शिक्षा, स्वास्थ्य, संचार, मनोरञ्जन, हवाई उड्डयन, सार्वजानिक यातायात, औषधि उद्योग, डायग्नोष्टिक सेन्टर, स्वास्थ्य शिक्षण संस्था, अस्पताल, फोहरमैला प्रशोधनसँग सम्बन्धित उद्योगहरुले पाउनेछन् ।

 

यसैगरी, पर्यटकीय सम्भावना रहेका तर तुलनात्मक रुपमा विकास हुन नसकेका पर्यटकीय गन्तव्य पाथिभरा, माइपोखरी, भिमेश्वर, कालिञ्चोक, हलेसी, लाङटाङ, स्वर्गद्वारी, मनकामना, मुक्तिनाथ, माथिल्लो मुस्ताङ, महागढीमाई, जनकपुरधाम, धनुषधाम, छिन्नमस्ता, पाँच पोखरी, रारा तथा खप्तड लगायतका क्षेत्रमा पर्यटकीय पुर्वाधार स्थापना गर्न प्रदान गरिएका कर्जाहरू, कोभिड–१९ लगायत संक्रामक रोगजन्य महामारीको कारण पूर्णक्षमतामा सञ्चालन हुन नसकेका तर, भविष्यमा सञ्चालनको सम्भावना रहेका उद्यमी व्यवसायीले यस्तो पुनरकर्जा पाउनेछन् ।

 

यस्ता व्यावसाय गर्नेले पाउँदैनन् पुनरकर्जा

 

कुनै उद्यमको लागि नभई व्यक्तिगत प्रयोजनका लागि प्रवाह भएको ओभरड्राफ्ट कर्जा, घर जग्गा कर्जा, सवारी कर्जा, घरायसी सामग्री कर्जा, मार्जिन कर्जा, सुनचाँदी कर्जा, सामाजिक कर्जा तथा व्यक्तिगत नाममा वा व्यक्तिगत उपभोगका लागि लिइएका कर्जाहरू पुनरकर्जाको लागि अयोग्य मानिने छन्। तर, व्यक्तिगत नाममा कर्जा लिई ट्याक्सी चलाउने, विद्युतीय टेम्पो चलाउने जस्ता स्वरोजगार मुलक कार्य गरी आय आर्जन गरेको विषयमा इजाजतपत्रप्राप्त संस्था आश्वस्त भएमा त्यस्तो कर्जा अयोग्य मानिने छैन ।

 

व्याज अनुदान प्राप्त सहुलियतपूर्ण कर्जा लगायतका अन्य अनुदान प्राप्त कर्जाहरु, पछिल्लो आर्थिक वर्षको औसत रिटन अन इक्वीटि २० प्रतिशत वा सोभन्दा बढी रहेको उद्योग व्यवसायमा प्रवाहित कर्जाहरु, चुरोट, बिँडी, सिगार, सुर्ती, खैनी, गुट्खा लगायतका सुर्तीजन्य उद्योग÷व्यवसाय र मदिरा तथा मदिराजन्य उद्योग/व्यवसायलाई प्रवाह भएका कर्जाहरु र बैंकले समय समयमा तोकेका अन्य कर्जाहरु पुनरकर्जाको लागि अयोग्य हुनेछन्।

 

 

सुनको भाउ बढेको बढ्यै, तोलाको ९४ हजार पुग्यो Read Previous

सुनको भाउ बढेको बढ्यै, तोलाको ९४ हजार पुग्यो

नेपाल क्लियरिङ हाउसको कारोबार संख्या २ करोड नाघ्यो, ९७ खर्ब कारोबार Read Next

नेपाल क्लियरिङ हाउसको कारोबार संख्या २ करोड नाघ्यो, ९७ खर्ब कारोबार