काठमाडौं । नेपाल राष्ट्र बैंकले दुलर्भ जुम्ल्याहा हात्ती ‘राम-लक्ष्मण’ को तस्वीर भएको १ हजार दरको नयाँ नोट चलनचल्तिमा ल्याउने भएको छ ।
आज (बुधबार)देखि चलनचल्तीमा आउने नयाँ नोटको आकार र रंग भने पुरानै जस्तो हुनेछ। २०२६ सालदेखि प्रचलनमा आएको हजारको नोटमा यस अघि एउटा हात्तीको चित्र थियो । अब प्रचलनमा आउने नोटमा भने नेपालमै जन्मेका जुम्ल्याहा हात्तीको चित्र राखिएको छ।
ती जुम्ल्याहा हात्ती ‘राम–लक्ष्मण’ को जन्म २०६५ कात्तिक २४ गते चितवन राष्ट्रिय निकुञ्जस्थित सौराहामा रहेको हात्ती प्रजनन तथा तालिम केन्द्रमा भएको थियो ।
प्रचलनमा आउने नयाँ नोटको अगाडिको भागमा बायाँतर्फ सगरमाथाको चित्र छ। दायाँतर्फ ४ मिलिमिटर चौडाइ भएको चलायमान ‘एनआरबी र ‘१०००’ अंकित सुरक्षण धागो छ। दायाँतर्फ हजार दरको नोट जनाउने अंग्रेजी अंकको केही अंश छ।
नोटको दायाँतर्फ लालीगुराँस र हजार दरको नोट जनाउने पानीछाप छ। यसमा दृष्टिविहीन व्यक्तिहरूले छामेर नोट पहिचान गर्न सक्ने गरी हजार अंक जनाउने रोमन अक्षर ‘एम’ पनि लेखिएको छ।‘राम–लक्ष्मणको चित्र भने नोटको पछाडिको भागमा राखिएको छ ।
यो नोटमा तत्कालीन गभर्नर चिरञ्जीवि नेपालले हस्ताक्षर गरेका छन्। नोटको तल्लो भागको बोर्डमा नोटको सिरिज नम्बर र विक्रम सम्बत् २०७६ लेखिएको छ।