यातायात मजदूरको कोरोना बीमाको प्रिमियम सरकार र व्यवसायीले आधा आधा तिर्ने

काठमाडौं । कोभिड–१९ को जोखिमको समयमा सार्वजनिक यातायात सञ्चालन गर्दा श्रमिकको कोरोना बीमाको प्रिमियम सरकार र यातायात व्यवसायीले आधाआधा तिरिदिने सहमति भएको छ ।

 

यातायात व्यवस्था विभागमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र तीन मजदूर ट्रेड युनियन र महानगरीय ट्राफिक प्रहरी महाशाखाबीच यस्तो सहमति भएको छ ।

 

त्यस्तै, यातायात श्रमिक कोरोनाका कारण मृत्यु भएमा आश्रित परिवारलाई क्षतिपूर्तिका लागि सरकारका तर्फबाट कोष स्थापना गर्न विभागले सम्बन्धित मन्त्रालयमा सिफारिस गर्ने सहमति भएको छ ।

 

यातायात श्रमिकका लागि आवश्यक पर्ने मास्क, स्यानिटाइजर, पन्जा, पिपिईलगायत सम्पूर्ण स्वास्थ्य सामग्रीहरू सम्बन्धित व्यवसायीले उपलब्ध गराउने सहमति भएको छ ।

 

त्यस्तै, स्थानीय सरकारले सङ्क्रमणको जोखिम कम गर्न बसपार्कलगायत स्थानमा खानेपानी, साबुन, सानिटाजइजरको व्यवस्था गर्ने तय भएको छ । विभागको बैठकमा केही दिनपहिले भएको बैठकमा सहभागी उपत्यकाका पालिकाका प्रमुखहरुले उपयुक्त स्थान छानेर सवारीसाधन निर्मलीकरणको व्यवस्था मिलाइने बताएका थिए ।

 

त्यस्तै, स्थानीय तहले सङ्क्रमणबाट बच्ने उपायका विषयमा समेत जनचेतना फैलाउनेछ । विभागले गत महिना सार्वजनिक यातायात सञ्चालनसम्बन्धी निर्देशिका बनाएको थियो । त्यसले स्वास्थ्य सुरक्षाका धेरै कुरा नसमेटिएको व्यवसायी र मजदूर सङ्गठनले बताउँदै आएका छन् ।

 

सरकारले गत २३ गते छोटो दूरीमा सार्वजनिक यातायात खुलाउने निर्णय गरे पनि अहिलेसम्म थोरै सङ्ख्यामा मात्रै यातायातका साधन गुडिरहेका छन् ।

 

अधिकांशले स्वास्थ्य सुरक्षाको प्रत्याभूति हुनुपर्ने भन्दै सवारीसाधन सञ्चालन गरिसकेका छैनन् । सोमबार बसेको मन्त्रपरिषद्को बैठकले एक जिल्लाबाट अर्को जिल्लामा समेत सवारसाधन सञ्चालन गर्न सकिने निर्णय गरिसकेको छ ।

अब १ हजारको नोटमा ‘राम-लक्ष्मण’ Read Previous

अब १ हजारको नोटमा ‘राम-लक्ष्मण’

मौद्रिक नीतिले बैंकहरुको नाफा नघटोस् भनेर गर्दिएको यो व्यवस्था, जसले सेयर बजार 'बुम' होला ? Read Next

मौद्रिक नीतिले बैंकहरुको नाफा नघटोस् भनेर गर्दिएको यो व्यवस्था, जसले सेयर बजार 'बुम' होला ?