बैंकमै थुप्रियो पैसा, ५ दिनमै थपियो करिब १ खर्ब निक्षेप

काठमाडौं । पछिल्लो समय नेपाली बैंकिङ प्रणालीमा अधिक तरलता कायम भएको छ ।कोरोनाका कारण लामो समयसम्म उद्योगधन्दा ठप्प रहेको र हाल क्रमशः खुल्दै गए पनि तत्कालै कर्जा लगानी नहुने अवस्थाले बैंकमै पैसा थुप्रिन थालेको हो ।

 

नेपाल राष्ट्र बैंकका अनुसार असार महिनाको अन्तिम पाँच दिनमा मात्र वाणिज्य बैंकमा करिब १ खर्ब रुपैयाँ बराबर निक्षेप थपिएको छ ।

 

छोटो समयमा धेरै निक्षेप थपिएकै कारण असार मसान्तमा बैंकहरुको कुल निक्षेप ३४ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ । असार २६ गते यस्तो निक्षेप ३३ खर्ब ८८ अर्ब रुपैयाँ थियो ।

 

यस्तै, असार अन्तिम साता वाणिज्य बैंकहरुले कुल ६१ अर्ब रुपैयाँ थप कर्जा प्रवाह गरेका छन् । असार मसान्तमा वाणिज्य बैंकहरुको कुल कर्जा लगानी २९ खर्ब ३ अर्ब रुपैयाँ छ । असार २६ गतेसम्म यस्तो लगानी २८ खर्ब ४२ अर्ब रुपैयाँ थियो ।

 

आर्थिक वर्षको अन्त्यमा सरकारी खर्च बढेकाले वाणिज्य बैंकहरुमा एकै पटक ठूलो निक्षेप थपिएको बताइएको छ । गत जेठ मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १३.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो निक्षेप १३.३ प्रतिशतले बढेको थियो ।

 

सोही अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १०.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १८.२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

असोज मसान्त भित्रै सबै आयोजनाको ठेक्का लगाइसक्नुपर्ने, कात्तिक १५ देखि काम सुरु Read Previous

असोज मसान्त भित्रै सबै आयोजनाको ठेक्का लगाइसक्नुपर्ने, कात्तिक १५ देखि काम सुरु

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार पनि १ अर्ब घट्यो Read Next

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार पनि १ अर्ब घट्यो