३ करोड १४ लाख बचत खाता संचालनमा, कर्जा लिने ४० लाखभन्दा बढी

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा नेपालीहरुको वित्तीय पहुँच क्रमशः बढ्दै गएको छ । बैशाख मसान्तसम्ममा तीन करोडभन्दा बढी नेपालीको बैंक तथा वित्तीय संस्थामा बचत खाता रहेको छ ।

 

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ काे माैद्रिक नीति अनुसार २०७६ बैशाख मसान्तमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुमा रहेको निक्षेप खाता संख्या २ करोड ७३ लाख पुगेको छ । साथै, लघुवित्त कम्पनीहरुमा ४१ लाख ५८ हजार खाता संख्या रहेको छ । यसरी बैंक तथा वित्तीय संस्था र लघुवित्तको खाता संख्या जोड्दा ३ करोड १४ लाख ५८ हजार बचत खाता संचालनमा रहेका छन् ।

 

यस्तै बैंक तथा वित्तीय संस्थाहरुमा १४ लाख ५४ हजार कर्जा खाता रहेका छन् भने लघुवित्तमा २६ लाख १३ हजार कर्जा खाता रहेकाे छन् । दुबैमा गरेर ४० लाख ७१ हजार कर्जा खाता रहेका छन् ।

 

यस्तै देशका ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ३२ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेका छन् । अब ३१ स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा पुग्न बाँकी छ ।

 

वित्तीय संस्थाको शाखा संख्या साढे ८ हजार पुग्यो

 

२०७६ जेठ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ८ हजार ५६४ पुगेको छ । जसमा वाणिज्य बैंकहरुको ३ हजार ५३९, विकास बैंकको १ हजार २५०, वित्त कम्पनीहरुको २०५ र लघुवित्त वित्तीय संस्थाहरुको ३ हजार ५७० शाखा रहेका छन् ।

 

२०७५ जेठ मसान्तमा भने बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ६ हजार ४१४ रहेको थियो । त्यस्तै बैंक तथा वित्तीय संस्थाको एक शाखाबाट औसतमा ३४११ जनसंख्याले सेवा लिनसक्ने अवस्था रहेको छ ।

 

यस्तै मोबाइल बैकिङ्ग प्रयोगकर्ता ७० लाख पुगेका छन् भने, इन्टरनेट बैकिङ्गका ग्राहकको संख्या ८ लाख ९३ हजार पुगेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकलाई जारी गरेका डेबिट कार्डको संख्या ६२ लाख ८१ हजार तथा क्रेडिट कार्डको संख्या १ लाख १३ हजार पुगेको छ ।

कर्णाली प्रदेशमा सबैभन्दा बढी धान रोपाइ, अन्य प्रदेशमा घट्यो Read Previous

कर्णाली प्रदेशमा सबैभन्दा बढी धान रोपाइ, अन्य प्रदेशमा घट्यो

अब बैंकले बीमा पोलिसी बेच्न नपाउने Read Next

अब बैंकले बीमा पोलिसी बेच्न नपाउने