काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको माहोल तातेको छ । गत चैत २८ गते हुनु पर्ने साधारण सभा कोभिड १९ को कारण उत्पन्न परिस्थितिका कारण स्थगित भएको थियो ।
कोभिडको प्रभाव मानवीय दिनचर्या बनाउँदै अगाडि बढ्ने सरकारी निर्णयपछि आगामी साउन २६ र २७ गतेलाई साधारण सभाको नयाँ मिति तय भएसँगै उमेद्वारहरु चुनावी कार्यक्रममा व्यस्त हुन थालेका हुन् ।
चन्द्रप्रसाद ढकालले आफ्नो वरिष्ठ उपाध्यक्षको उमेद्वारी यसअघि नै घोषणा गरेका थिए । आज काठमाडौंमा एक कार्यक्रम आयोजनागरी उनले आफ्नो प्यानलबाट चुनाव लड्ने उपाध्यक्षका उमेद्वारको औपचारिक घोषणा गरेका हुन् ।

ढकाल समूहबाट जिल्ला नगरको उपाध्यक्षमा गुणनीधि तिवारी, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एसोशिएट उपाध्यक्षमा रामचन्द्र सांघाईले आफ्नो उमेद्वारी दिने घोषणा गरेका छन् ।
‘हाम्रो टिम निकै सन्तुलित र सबै किसिमका व्यवसायीलाई समेट्ने किसिमले तयार भएको छ । यो टिमले महासंघमा व्यवसायीको हक हितको लागि राम्रोसँग काम गर्ने छ’, उमेद्वारी घोषणा कार्यक्रममा बोल्दै चन्द्रप्रसाद ढकालले भने ।

अहिले को कुन टिममा छ भन्दा पनि चुनावपछि शेखर गोल्छाको नेतृत्वमा महासंघ एक ठिक्का भएर काम गर्ने बताए । उनले शेखर गोल्छालाई चुनावमा पक्ष-विपक्षमा नलाग्नसमेत उनले आग्रह गरे ।
यसअघि नै किशोर प्रधान समूहले आफ्ना उपाध्यक्षका उमेद्वार घोषणा गरिसकेको छ । प्रधान समूहबाट जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ र एशोसिएट उपाध्यक्षमा सौरभ ज्योतिले उमेद्वारी दिने घोषणा गरेका थिए ।
दुवै पक्षको उपाध्यक्षका उमेद्वार तय भइसकेकाले अब चुनावी माहोल सुरु भएको छ ।