धान रोपाइँ ६० प्रतिशत पूरा, धान उत्पादन बढ्ने अनुमान

काठमाडौ । यसवर्ष असारमै करिब दुईतिहाइ रोपाइँ सम्पन्न भएकोछ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यसवर्ष असार २२ गतेसम्म धान रोपाइँ ६० प्रतिशत पूरा भएको जनाएको छ ।

 

गत वर्ष यस अवधिमा २४ प्रतिशत मात्र धान रोपाइँ गरिएको थियो । गत वर्ष ढिला मनसुनको कारण धान रोपाइँ प्रभावित भएको थियो भने अनुकूल मौसमले यस वर्ष धान रोपाइँ बढेको कृषि मन्त्रालयका प्रवक्ता हरीबहादुर केसीले बताए ।

 

‘यो पटक मौसमले पनि साथ दिएकोले धान रोपाइँ बढ्ने अनुमान गरिएको छ,’ केसीले भने । उनले यो वर्ष ९८ प्रतिशत धान रोपाइँ हुने अपेक्षा गरिएको बताए । यो पटक मौसम अनुकूल रहे रोपाइँ क्षेत्र र उत्पादन पनि बढ्ने ठूलो सम्भावना रहेको छ ।

 

गत वर्ष १४ लाख हेक्टर जमिनमा धान रोपाइँ भएको थियो । यो वर्ष १५ लाख हेक्टर जमिनमा धान रोपाइँ हुने अनुमान गरिएको छ । मन्त्रालयले यो पटक धानको उत्पादन गत ५ वर्षको तुलनमा ७ प्रतिशतले बढ्ने अनुमान गरेको छ । गत वर्ष किसानले ५५ लाख टन धान उत्पादन गरेका थिए ।

 

कृषि विभागका अनुसार कर्णालीमा न्यूनतम ७९ प्रतिशत जमिनमा धान रोपाइँ पूरा भएको छ । सुदूरपश्चिम प्रदेश र प्रदेश ५ मा ७५ प्रतिशत खेती योग्य जमिनमा धान रोपाइँ पूरा भएको छ । गण्डकी प्रदेशमा ५६ प्रतिशत जमिनमा धान रोपाइँ भएको छ भने बागमती प्रदेशमा ५२ प्रतिशत जमिनमा धान रोपाइँ पूरा भएको छ । प्रदेश २ मा ५० प्रतिशत र प्रदेश १ मा ५१ प्रतिशत धान रोपाइँ पूरा भएको छ ।

 

कृषि मन्त्रालयले आगामी १० दिनमा ९० प्रतिशत जमिनमा धान रोपाइँ पूरा हुने अनुमान गरेको छ । प्रवक्ता केसीका अनुसार यो पटक अत्याधिक वर्षाका कारण तराई क्षेत्रमा धान रोपाइँ समयमै सुरु भएको थियो ।

 

पर्याप्त जनशक्ति र अनुकूल मौसमका कारण समयमै धान रोपाइँ भएको उनले बताए । ‘यो पटक विभिन्न स्थानीय र प्रदेश सरकारले बाँजो जमिनमा धान रोप्ने किसानलाई अनुदानको व्यवस्था समेत गरेका कारण, धानरोपाइँको क्षेत्र बढ्ने देखिन्छ,’ केसीले भने ।

 

उनले सरकारको कुनै पनि उर्वर जमिन बाँझो नराख्ने नीतिले पनि धानको उत्पादन क्षेत्र बढाएको बताए । बाढी पहिरोका समाचार आएपनि हालसम्म कुनै पनि बाली तथा तरकारीमा यसले क्षति नपारेको दाबी गरे ।

कोरोना महामारीका बीच सेयर बजारमा देखियो यस्तो चाँदीको घेरा Read Previous

कोरोना महामारीका बीच सेयर बजारमा देखियो यस्तो चाँदीको घेरा

महासंघ निर्वाचन : चन्द्रप्रसाद ढकाल समूहका तीन उपाध्यक्ष उमेद्वारको आधिकारीक घोषणा Read Next

महासंघ निर्वाचन : चन्द्रप्रसाद ढकाल समूहका तीन उपाध्यक्ष उमेद्वारको आधिकारीक घोषणा