कोरोना महामारीका बीच सेयर बजारमा देखियो यस्तो चाँदीको घेरा

काठमाडौं । कोरोना महामारीका कारण लामो समयसम्म बन्द भएको सेयर बजारले अहिले गति लिएका कारण लगानीकर्ताहरु खुसी देखिन थालेका छन् ।

 

पछिल्लो समय जारी गरिएका आइपीओहरुमा जसरी लगानीकर्ताहरुको सहभागिता बढ्दै जान थालेको छ, त्यसले पनि उनीहरुको उत्साह नै संकेत गर्दछ ।

 

हरेक बादलमा चाँदीको घेरा हुन्छ भन्ने भनाइ यहाँ चरितार्थ भएको छ । अनलाइन प्रयोगकर्ताको बढोत्तरीले नेपालको पूँजी बजारलाई दीर्घकालीन रुपमा सकारात्मक प्रभाव पार्ने निश्चित नै छ ।

 

हाम्रो बजार अझै परिपक्व भइसकेको छैन । सामान्य लगानीकर्ताहरु बजार बढ्दा धेरै हौसने र घट्दा धेरै आत्तिने प्रवृत्तिका छन् । त्यसैले अहिले बढेको बजारका कारण मानिसहरु उत्साहित हुनु स्वभाविक नै हो । तर, यो समयमा नेपाली सेयर बजारलाई दीर्घकालीन रुपमै सकारात्मक प्रभाव पार्ने केही परिर्वतनका संकेतहरु पनि देखिएका छन् ।

 

हाल ब्रोकर कार्यालयहरुमा ‘स्क्रीन रुम’ बन्द छ । लगानीकर्ताहरु ब्रोकरको कार्यालयमा गएर स्क्रीन हेरेर बस्ने र त्यहीँबाट ब्रोकर मार्फत अफलाइन कारोबार गर्ने अवस्था छैन । तर, त्यसका बाबजूद अहिले दैनिक कारोबार १ अर्ब रुपैयाँ हाराहारी भइरहेको छ ।

यसको मतलब यो महामारीको समयमा नेपाली सेयर बजारमा आफैं अनलाइन कारोबार गर्नेको संख्या उल्लेख्य रुपमा वृद्धि भएको छ । अबको विश्व नै डिजीटल विश्व हुने भनेर आंकलन भइरहेको समयमा नेपाली अर्थतन्त्रको एक महत्वपूर्ण क्षेत्रले उल्लेख्य रुपमै त्यो बाटो समाउनु पक्कै पनि सुखद र सकारात्मक हो । यसले भविष्यमा बजारको विकास र विस्तारका लागि महत्वपूर्ण भूमिका खेल्ने आधारहरु प्रष्ट नै देखिन्छ ।

 

नेप्सेका अनुसार लकडाउन अघि सेयर बजारको कुल कारोबार मध्ये ८१.६६ प्रतिशत कारोबार अफलाइन (ब्रोकरकोमा गएर वा ब्रोकरलाई फोन गरेर गरिने सेयर कारोबार) कारोबार थियो भने १८.३४ प्रतिशत कारोबार अनलाइन कारोबार (ब्रोकरको भर नपरी आफैं कारोबार गर्ने) हुने गरेको थियो ।

 

अहिले मानिसहरु घर बाहिर सकेसम्म निस्कन चाहदैनन् । आफूले चिनेजानेका र दैनिक भेटघाट हुने मानिसहरु बाहेक अन्य धेरै मानिसहरु भेट नगर्ने बानीको विकास भएको छ ।

 

यसैकारण सेयर कारोबार पनि आफैं अनलाइन मार्फत गर्ने चासो मानिसहरुमा बढेको छ । लकडाउन पछिको समयमा अनलाइन कारोबार गर्नेको संख्या करिब एक तिहाइ पुगेको छ । लकडाउन अघि १८.३४ प्रतिशतले अनलाइन कारोबार गर्ने गरेकोमा अहिले त्यो बढेर ३३.१६ प्रतिशत पुगेको छ भने अफलाइन कारोबार ८१.६६ प्रतिशतबाट घटेर ६६.८४ प्रतिशतमा आइपुगेको छ ।

 

यसैगरी यो समयमा अनलाइन प्रयोगकर्ता (अनलाइन सेयर किनबेचको लागि युजर नेम र पासर्वड लिएका) को संख्यामा पनि भारी बृद्धि भएको छ । गत मंसिर महिनामा नेपालमा अनलाइन प्रयोगकर्ताको संख्या १६ हजार ५७३ थियो भने अहिले प्रयोगकर्ताको संख्या दुईगुणाले बढेर ३३ हजार ४२९ पुगेको छ । यसको मतलब ७ महिनामा अनलाइन प्रयोगकर्ताको संख्या दोब्बरभन्दा बढी भएको छ ।

 

हरेक बादलमा चाँदीको घेरा हुन्छ भन्ने भनाइ यहाँ चरितार्थ भएको छ । अनलाइन प्रयोगकर्ताको बढोत्तरीले नेपालको पूँजी बजारलाई दीर्घकालीन रुपमा सकारात्मक प्रभाव पार्ने निश्चित नै छ ।

१० लाख दिए बैंकबाट साढे ३ करोड ऋण पास गरिदिने भन्दै ठगी गर्ने पक्राउ Read Previous

१० लाख दिए बैंकबाट साढे ३ करोड ऋण पास गरिदिने भन्दै ठगी गर्ने पक्राउ

धान रोपाइँ ६० प्रतिशत पूरा, धान उत्पादन बढ्ने अनुमान Read Next

धान रोपाइँ ६० प्रतिशत पूरा, धान उत्पादन बढ्ने अनुमान