काठमाडौं । आफूहरुलाई १० लाख दिएमा साढे ३ करोडको ऋण पास गरिदिने भन्दै सर्वसाधारणलाई ठगी गरेको आरोपमा डोटीबाट २ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दिलीपसिंह देउवाका अनुसार पक्राउ पर्नेमा जिल्लाको आदर्श गाउँपालिका–३ की ३५ वर्षीया सञ्जाकुमारी कठायत रोकाया तथा दार्चुला जिल्लाको लेकम गाउँपालिका–१ का ३२ वर्षीय पदमराज भट्ट रहेका छन् ।
आफूहरु नेपाल बैंक लिमिटेडको शाखा अधिकृत भएको भन्दै कैलालीको टीकापुर नगरपालिकाकी ४४ वर्षीया महिलालाई रु दश लाख दिएमा साढे ३ करोडको ऋण पास गरिदिन्छु भन्दै ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
उनीहरु दुवै जनालाई डोटीको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाको साथबाट नेपाल बैंक लिमिटेडको शाखा प्रबन्धकको नक्कली परिचयपत्र, विभिन्न बैंक तथा आइएमईका भौचरसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इन्द्रबहादुर मल्लले जानकारी दिए ।
पक्राउ परेकाहरुले कैलालीमा ठगी गरेका कारण कैलालीबाट नै मुद्दा चलाउने गरी जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरीसमक्ष बुझाइएको छ ।