जोरपाटी-सुन्दरीजल सडक : २२ मिटरको मापदण्ड कायम भएन, अहिलेकै अवस्थामा पिच गर्ने तयारी

काठमाडौं । जोरपाटी–सुन्दरीजल सडक आगामी मङ्सिरसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । विस्तारको क्रममा रहेको सडक उपलब्ध चौडाइमै कालोपत्र गर्न लागिएको हो ।

 

लामो समयदेखि तोकिएको मापदण्ड २२ मिटर कायम गर्नका लागि प्रयास भए पनि नसकिएपछि अहिलेकै अवस्थामा कालोपत्र गर्न लागिएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

 

सो सडकमा उपलब्ध चौडाइमै कालोपत्र गर्दा कतै १२ मिटर त कतै २० मिटरसम्म कायम हुने आयोजना प्रमुख गुरु अधिकारीले जानकारी दिए।

 

सरकारले केही समय पहिले मात्रै काठमाडौं उपत्यका विस्तारका क्रममा रहेका सडक उपलब्ध चौडाइमै कालोपत्र गर्ने निर्णय गरेको थियो । उनले भने, ‘सोही निर्णयका आधारमा कालोपत्र गर्न लागिएको हो ।’

 

सडक विस्तारकै लागि आयोजनाले बन्दाबन्दी समयमा समेत आवश्यक तयारीको काम गरिरहेको थियो । यहाँ रहेका ६७ रुख हटाइएको आयोजनाले जनाएको छ । अत्तरखेलमा रहेका झण्डै १५० घर हटाउन नसकिने हुनाले त्यस क्षेत्रमा सडकको चौडाइ कम हुने आयोजना प्रमुख अधिकारीले बताए ।

 

उनले भने, ‘जुन ठाउँमा जति उपलब्ध छ त्यति गर्दा कतै बढी र कतै कम हुने देखिन्छ ।’ विस्तारका क्रममा रहेको सडकमा मर्मतसमेत नहुँदा स्थानीयवासी हैरानी भोग्दै आएका थिए । सडकमा खाल्डोका कारण वर्षाको समयमा आवतजावतमा कठिनाइ भएको स्थानीयवासी बताएका छन् ।

महासंघ निर्वाचन : चन्द्रप्रसाद ढकाल समूहका तीन उपाध्यक्ष उमेद्वारको आधिकारीक घोषणा Read Previous

महासंघ निर्वाचन : चन्द्रप्रसाद ढकाल समूहका तीन उपाध्यक्ष उमेद्वारको आधिकारीक घोषणा

युवालाई एकद्धार प्रणालीबाट तालीम दिन कोष स्थापना, वार्षीक ५ लाखलाई सीप सिकाइने Read Next

युवालाई एकद्धार प्रणालीबाट तालीम दिन कोष स्थापना, वार्षीक ५ लाखलाई सीप सिकाइने