काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालनका लागि इजाजतपत्र प्राप्त गर्न चाहने आन्तरिक वायुसेवा कम्पनीसँग मागेको प्रस्ताव आह्वानमा एक मात्र कम्पनीको प्रस्ताव परेको छ ।
आन्तरिक उडानको यती एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान इजाजतका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दिएको हो । यतीले आफ्नो भगिनी संस्था तारा एयरमार्फत अन्तर्राष्ट्रिय चार्टर्ड उडानका लागि निवेदन दिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले अन्तर्राष्ट्रिय उडान अनुमतिका लागि मुलुकमा सञ्चालनरत आवश्यक मापदण्ड पूरा गरेका इच्छुक आन्तरिक वायुसेवा कम्पनीसँग प्रस्ताव मागेको थियो ।
यती एयरलाइन्सले यसअघि पनि अन्तर्राष्ट्रिय उडानको इजाजत (लाइसेन्स) लिएको थियो । विसं २०६३ मा ‘यति इन्टरनेशनल’ नाममा इजाजत लिएको यति एयरलाइन्सले चीनसँगको सहकार्यमा अहिलेको अवस्थामा हिमालय एयरलाइन्स नाममा अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिरहेको जनाइएको छ ।
कम्पनीले अन्तर्राष्ट्रिय चार्टर्ड उडानका लागि मात्रै इजाजतका लागि निवेदन दिएको पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले बताए । मन्त्रालयको हवाई महाशाखाका अनुसार यतीले ‘सेडुअल’ उडानका लागि नभई चार्टर्ड उडानका लागि मात्रै इजाजत मागेको छ । इजाजतका लागि प्राप्त कागजातको अध्ययन गरी निर्णय गर्न मन्त्रालयको हवाई महाशाखा प्रमुखसमेत रहनुभएका सहसचिव आचार्यको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको छ ।
समितिमा नेपाल नगारिक उड्डयन प्राधिकरणका प्रतिनिधि तथा आमन्त्रित विज्ञ सदस्य रहनेछन् । उक्त समितिले सम्पूर्ण कागजातको अध्ययन गरी मूल्याङ्कनको आधार किटान गर्नेछ । समितिले सातदेखि १५ दिनभित्र इजाजतबारे टुङ्गो लगाउनेछ ।
मन्त्रालयबाट इजाजत प्राप्त भएपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट वायुयान सञ्चालन अनुमति एयर अपरेटर सर्टिफिकेट (एओसी) लिनुपर्ने हुन्छ । सहसचिव आचार्यले अध्ययन कमिटिले साउनको शुरुदेखि मूल्याङ्कन प्रक्रिया अघि बढाउने बताउनुभयो । यतीले अन्तर्राष्ट्रिय चार्टर्ड उडानमा पुरानो श्री एयरलाइन्सको इजाजतजस्तै यात्रु र कार्गो चार्टर्डको लागि निवदेन दिएको जनाइएको छ ।
निकट भविष्यमै सञ्चालनमा आउने निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नजिकका अन्तर्राष्ट्रिय गन्तब्यमा उडान भर्ने गरी यतीले उडान अनुमतिको प्रक्रिया अघि बढाएको बुझिएको छ । आगामी डिसेम्बरभित्र निर्माण सकिने गरी भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम द्रूत गतिमा अघि बढिरहेको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति ९१ प्रतिशत रहेको छ ।
नेपालमा अहिले निजी क्षेत्रका यतीसहित बुद्ध एयर र श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको इजाजत (लाइसेन्स) पाएका छन् । यीमध्ये श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्न पाएको छैन । छोटा गन्तब्यमा चार्टर्ड र कार्गो उडान गर्दै आएको छ । यी कम्पनीले दक्षिण एशियाली विभिन्न मुलुकमा कार्गो र चार्टर्ड उडान भने गर्दै आएका छन् । बन्दाबन्दीको अवधिमै पनि बुद्धले बङ्गलादेश र यतीले सिङ्गापुर र अफ्रिकी मुलुक सुडानमा चार्टर्ड उडान गरेको थियो । बुद्धले यसअघि भारतको बनारस र कोलकात्तामा व्यावसायिक उडान गरेको थियो ।