भदौदेखि ‘नेसनल पेमेन्ट गेटवे’ सञ्चालनमा आउने

काठमाडौं । सरकारले भुक्तानी सेवालाई एकीकृत गरी आगामी भदौदेखि ‘नेसनल पेमेन्ट गेटवे’ संचालनमा ल्याउने भएको छ ।

 

सरकारले लिने र दिने भुक्तानीसँगै छरिएर रहेका निजी वालेट तथा कार्डको कारोबार, अन्तर्राष्ट्रिय भुक्तानीका क्षेत्रसमेतलाई समेत एउटै पेमेन्ट गेट–वेमा समेट्ने गरी नेसनल पेमेन्ट गेटवे’ सञ्चालनमा ल्याउन लागेको हो ।

 

सरकारले लामो समयदेखि सरकारले ‘नेसनल पेमेन्ट गेटवे’ सञ्चालनमा ल्याउने बताउँदै आए पनि भदौदेखि भने यसले मूर्त रुप पाउने भएको हो ।

 

नेसनल पेमेन्ट गेटवेमा मोबाइल सेवा प्रदायक, कमर्सियल बैंक, सरकारी निकाय आवद्ध हुनेछन् । यसमा राष्ट्र बैंकले अनुगमन र सुपरीवेक्षणको काम गर्ने र राष्ट्रिय सूचना केन्द्रले गोपनियता, सुरक्षा लगायतका प्राविधिक पक्ष हेर्नेछ ।

 

अहिले बजारमा निजी क्षेत्रका एक दर्जभन्दा बढी अनलाइन भुक्तानी सेवा प्रदान गर्दै आएका छन् । यसैबीच सरकारले पनि आफ्नै छुट्टै भुक्तानी सेवा सुरु गर्ने लागेको हो ।

 

राष्ट्रिय सूचना प्रविधि केन्द्र कार्यकारी निर्देशक सुनील पौडेलका अनुसार पेमेन्ट गेट-वे संचालमा ल्याउन आवश्यक अन्तर्राष्ट्रिय स्तरको मापदण्डमा पूर्वाधार तयार भइसकेको छ । सरकारले गर्ने खर्च, जनतालाई दिने सामाजिक सुरक्षा र निजी क्षेत्रलाई दिनुपर्ने भुक्तानी अब एकद्धार प्रणालीमा ल्याइनेछ ।

 

नेसनल पेमेन्ट गेटवे सरकारी तथा गैरसरकारी निकाय, उद्योगी, व्यापारी, आयातकर्ता-निर्यातकर्तादेखि उपभोक्तासम्मले प्रतिक्षा गरेको विषय हो । यस विषयमा प्रविधि पत्रकार मञ्चले शुक्रबार आयोजना गरेको वेबनार कार्यक्रममा पौडेलले पेमेन्ट गेटवेको तयारीका बारेमा बताएका हुन् ।

 

‘महालेखा परीक्षकको कार्यालयले बनाइरहेको सिस्टम साउनदेखि सञ्चालनमा आयो भने लगत्तै त्यसलाई एकीकृत गरी नेसनल पेमेन्ट गेट–वे सञ्चालनमा आउनेछ,’ पौडेलले भने । महालेखाले संचालमा ल्याएको महिना दिनमै पेमेन्ट गेटवे संचालनमा आउने उनको भनाइ थियो ।

 

यसबाट रियल टाइममा हुने पेमेन्ट र वास्तविक आम्दानी खर्चको जानकारी समेत तत्काल थाहा पाउन सकिने भएकाले उपभोक्ताको समय बचत हुनुका साथै झञ्जटबाट समेत छुट्कारा पाउनेछन् । पैसासँग सरोकारको भएकाले यसमा थप सुरक्षाको प्रत्याभुति गर्नुपर्ने भन्दै उनले त्यसतर्फ राष्ट्रिय सूचना प्रविधि केन्द्र चनाखो रहेकोे बताए ।

 

अहिले बनेको सिस्टमबाट १ सेकेन्डमा १ हजारवटा कारोबार गर्न सकिन्छ । पछि आवश्यकता अनुसार बढाउँदै लैजान सकिने किसिमको सिस्टम तयार भएको छ ।

 

नेपाल राष्ट्र बैंकले राष्ट्रिय सूचना प्रविधि केन्द्रलाई पेमेन्ट गेट-वेका लागि आवश्यक सेटलमेन्ट बैंकको व्यवस्था गर्न सहमति दिएसँगै राष्ट्रिय वाणिज्य बैंकसँग आपसी समझदारी (एमओयू) समेत भइसकेको छ ।

 

नेसनल पेमेन्ट गेटवेले कार्ड, वालेट, ईकमर्स, ईचेक, क्रेडिट ट्रान्सफर, डेबिट ट्रान्सफर, बिल पेमेन्ट लगायतका कारोबारलार्ई एकीकृतरुपमा सरलीकृत गर्ने जानकारी समेत पौडेलले दिए ।

 

नेसनल पेमेन्ट गेटवेमा मोबाइल सेवा प्रदायक, कमर्सियल बैंक, सरकारी निकाय आवद्ध हुनेछन् । यसमा राष्ट्र बैंकले अनुगमन र सुपरीवेक्षणको काम गर्ने र राष्ट्रिय सूचना केन्द्रले गोपनियता, सुरक्षा लगायतका प्राविधिक पक्ष हेर्नेछ ।

 

यो गेटवे सञ्चालनमा आएपछि सर्वसाधारणले भौतिक झन्झट व्यहोर्नुपर्ने छैन । बैकहरुमा जानुपर्ने र पैसा तिर्न लाइनमा बस्नुपर्ने बाध्यताको समेत अन्त्य हुने अपेक्षा गरिएको छ ।

 

सरकारले दिने भुक्तानी र लिने राजश्व १ रुपैयाँ पनि तलमाथि नहुने गरी कारोबार गर्नेगरी प्रणालीको विकास गरिएको छ । तत्काललाई सरकारसँग सम्बन्धित कारोबार गर्ने र यसका सर्वसाधारणलाई थप आर्थिक भार नपर्ने गरी व्यवस्थापन गरिने पौडेलले बताए ।

 

के हो नेसनल पेमेन्ट गेट-वे ?

 

पेमेन्ट गेट–वे अनलाइन भुक्तानीको महत्वपूर्ण पूर्वाधार हो । अहिले बजारमा ई–कमर्सका विभिन्न अनलाइन साइटले कारोबार गरिरहेका छन् । बैंकहहरुले विभिन्न पद्धतिबाट र अनलाइन पेमेन्ट सेवा प्रदायकहरुले विभिन्न निकायसँग समन्वय गरी काम गरिरहेका छन् ।

 

यसलाई एकै ठाउँमा ल्याइ धेरै निकायसँग भर पर्न नपर्ने गरी सरकारसँग सम्वन्धित भुक्तानीहरु सहज र सरलीकृत एव भरपर्दो बनाउन नेसनल पेमेन्ट गेटवेको अवधारणा ल्याइएको हो ।

 

पेमेन्ट गेट-वे नहुँदा भुक्तानीका लागि अहिले बैंकपिच्छे स्विच रहेका छन् । पेमेन्ट गेट-वे एउटै बनाउनका लागि राष्ट्रिय सूचना प्रविधि केन्द्रअन्तर्गत नेसनल पेमेन्ट गेट-वे सञ्चालनमा ल्याउने योजना अनुरुप आवश्यक तयारी चलिरहेको छ ।

 

कुनै पनि प्रयोगकर्ताले आफ्नो सरकारी कर, राजस्वलगायतको रकम भुक्तानी गर्न प्रयोग गर्न सक्ने छ । राष्ट्रबैंक र सरकारको निर्णय अनुसार सरकारी पेमेन्ट गेटवेमा थप सेवाहरु पनि थप्न सकिने बताइएको छ । जस्तैकि कुनै प्राइभेट कम्पनीहरुसँग (जीटुपी या जीटुबी) सम्झौता पनि गर्न सक्ने छ ।

 

त्यस्तै एटीम, प्रयोगकर्ताबाट प्रयोगकर्ता ईकमर्स, विद्युतीय चेक, कार्ड स्विच, क्रेडिट ट्रान्सफर, डेबिट ट्रान्सफरलगायतका सेवाहरु पनि सरकारी पेमेन्ट गेटवेले दिनेछ ।

'तत्काल सार्वजनिक यातायात चलाउन सक्दैनौं, ऋण जिम्मा लिएर गाडी राष्ट्रियकरण गरे हुन्छ' Read Previous

'तत्काल सार्वजनिक यातायात चलाउन सक्दैनौं, ऋण जिम्मा लिएर गाडी राष्ट्रियकरण गरे हुन्छ'

काठमाडौंमा ४२ सहित थप ११८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार ६४९ पुग्यो Read Next

काठमाडौंमा ४२ सहित थप ११८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार ६४९ पुग्यो