काठमाडौं । कोरियन इन्फोटेन्टमेन्ट सिस्टम निर्माता कम्पनी मोट्रेक्सले नेपालमा गाडी एसेम्बल गर्न लगानी बोर्डबाट स्वीकृति लिएको १ वर्ष पूरा भइसकेको छ ।
२०७५ चैत्र १ गते लगानी बोर्डको ३५औँ बैठकले नेपालमै गाडी एसेम्बल गर्न मोट्रेक्स कम्पनीलाई स्वीकृति दिएको थियो ।
मोट्रेक्स त्यसको लागि नेपालमा १० अर्ब ५४ करोड रुपैयाँ लगानी गर्ने प्रस्ताव पेश गरेको थियो । नेपालमा कोरोना संक्रमणको कारण लकडाउन गर्नुअघि नै उसलाई स्वीकृति दिएको एक वर्ष पूरा भएको हो ।
लगानी सम्मेलनको मुखमा बोर्डले उक्त लगानी स्वीकृति गरेको थियो । तत्कालीन बोर्डका सीईओ महाप्रसाद अधिकारीले कोरियन कम्पनीको गाडी मोट्रेक्सले नेपालमा एसेम्बल गर्ने जानकारी दिएका थिए ।
लगानीको विषयमा मोट्रेक्सले काम अगाडि बढिरहेको जनाएको छ । लगानी बोर्डपनि त्यसको धेरै काम अगाडि बढिरहेको बताउँछ । तर, देखिनेगरी कुनैपनि काम हुन सकेको छैन ।
कोभिड १९ को संक्रमण फैलनुअघिसम्म कम्पनीले उद्योग सञ्चालनका लागि आवश्यक जग्गा खोजिरहेको लगानी बोर्ड स्रोतको भनाइ छ ।
उद्योग सञ्चालनका लागि जग्गा लिन वातावरण विभागको स्वीकृति, वातावरणीय प्रभाव मूल्याङ्क लगायतका प्रक्रिया पूरा गर्नु पर्ने भएकाले यी काम अगाडि बढिरहेको देखिन्छ । जग्गा किनेपछि उद्योग रजिष्टर गर्नुपर्ने हुन्छ । फेरि राष्ट्र बैंकको अनुमति लिने लगायतका धेरै प्रकृया यथावत नै रहेको लगानी बोर्ड स्रोतले जनाएको छ ।
‘नेपालमा प्रकृया धेरै छ, यी प्रकृयाहरुका क्रममा उद्योग खडा नभएसम्म काम देखिन नसकेको हो । अहिले कोभिड १९का कारण केही काम भएको छैन, नत्र धेरै काम कम्पनीले गरिसकेको हुने थियो’, लगानी बोर्डका एक अधिकारीले भने ।
नेपालमा सवारी साधन उत्पादनको सम्भावना कम
पूर्णरुपमा सवारी साधन नेपालमा बनाउने सम्भावना नै नभएको लगानी बोर्डका कन्सल्टेन्ट आशिस गजुरेलको बुझाइ छ । ‘हामीसँग गाडी बनाउन आवश्यक कच्चा पदार्थ नै छैन, त्यसले गर्दा बाहिर भन्दा यहाँ बन्ने गाडी महँगो पर्न जान्छ,’ गजुरेलले भने ।
विदेशी लगानीको लागि प्रस्ताव आए पनि भारतबाट आयात हुने सवारीसँग नेपालमा बन्ने सवारीले प्रतिस्पर्धा गर्न नसक्ने उनको तर्क छ ।
‘ठूलो संख्यामा भारतमा गाडी उत्पादन हुन्छन् । त्यहीबाट एसेम्बल किट ल्याएर यहाँ बनाउनेसम्म हुन्छ । तर, यसले नेपालको चाहना पूरा गर्छ वा गर्दैन यो अर्को विषय हो’, गजुरेलले भने । मोट्रेक्स, हुन्डाई लगायतका कम्पनीले नेपालमा सवारी साधन एसेम्बल यूनिट लगाउने प्रयास गरिरहेका छन् ।