कुखुराको मासुको मूल्य ह्वात्तै बढ्यो, प्रतिकिलो ५०० पुग्ने अनुमान

काठमाडौं । पछिल्लो समय बजारमा कुखुराको मासुको मूल्य अस्वभाविक रुपमा वृद्धि भएको छ । लकडाउन अघि २५० रुपैयाँ प्रतिकिलो रहेको कुखुराको मासुको भाउ अहिले आकाशिएर प्रतिकिलो ४०० रुपैयाँ पुगेको छ ।

 

लकडाउनको बेलामा ढुवानी र खपत हुन नसक्दा गिरावट आएको कुखुराको मासुको मूल्य लकडाउन खुकुलो भएसँगै ह्वात्तै बढेको हो । अहिले काठमाडौं उपत्यकामा कुखुराको मासु प्रतिकेजी ३८० देखि ४०० रुपैयाँसम्म विक्री भइरहेको छ । आगामी दिनमा पनि कुखुराको मासुको भाउ झनै बढ्ने सम्भावना रहेको व्यवसायीहरुले बताएका छन् ।

 

ह्याचरीहरुले लकडाउनका समयमा कुखुराको चल्ला विक्री नभएको र राख्ने ठाउँ नभएको भन्दै करिब ७० लाख चल्ला मारेका थिए । त्यसकारण अहिले बजारमा जिउँदो कुखरा अभाव हुँदा मासुको माग बढेकाले भाउ ह्वात्तै बढेको हो ।

 

ह्याचरी संघका अध्यक्ष टिकाराम सापकोटाले अहिले फार्महरुमा जिउँदो कुखुरा नभएका र बजारमा मासुको माग बढ्दै गएपछि भाउ आकाशिएको बताए ।‘ह्याचरीहरुले लकडाउनका समयमा कुखुराको चल्ला विक्री नभएको र राख्ने ठाउँ नभएको भन्दै करिब ७० लाख चल्ला मारेका थिए ,’ उनले भने, ‘त्यही कारण अहिले बजारमा जिउँदो कुखरा नहुँदा मासुको भाउ बढेको हो ।’

 

अझै नयाँ चल्ला उत्पादन गरेर मासुका लागि तयारी बनाउन करिब डेढ महिना जति लाग्ने उनले बताए । त्यसकारण आगामी केही हप्ता कुखुराको मासुको भाउ अझै बढ्न सक्ने उनको भनाइ छ ।

 

व्यवसायीहरु हाल बजारमा कुखुराको मासुको मागसँगै मूल्य वृद्धि भएको बताउँदै आएका छन् । ‘लकडाउन खुकुलो भएसँगै बजारमा चहलपहल बढेकाले मासुको खपत पनि बढेको छ,’ एक कोल्डस्टोर सञ्चालकले भने, ‘अहिले जिउँदो कुखुराको अभाव छ, माग बढ्ने क्रम बढ्दो छ । आगामी दिनमा कुखुराको मासुको मूल्य ५०० सम्म पुग्ने सम्भावना छ । ’

 

नेपालमा सामान्य अवस्थामा कुखुराको मासुको माग दैनिक ९ लाख देखि १० लाख केजी रहेको थियो । हाल कोरोनाका कारण दैनिक कुखुराको मासुको माग ६ देखि ७ लाख केजी रहेको उनले बताए । यो माग कुखुरा उत्पादन कम हुनु र कुखुरा उत्पादन गर्ने व्यवसायीले चल्ला किन्न नपाएका कारण पूरा गर्न हम्मे परिरहेको उनले बताए ।

 

‘चल्ला उत्पादन भइराखे, त्यो विक्री गर्नु पर्ने किन्ने मान्छे आउन सकेनन्, न त ढुवानी गरेर पुराउन सकियो, अनि सबै चल्ला गाड्नु पर्यो, अहिले बजारमा कुखुराको मासुको माग बढ्दो छ, उत्पादन छैन, त्यही भएर मासुको मूल्य महँगो भएको हो,’ सापकोटाले चाणक्य पोष्टसँग भने ।

 

बीचमा बिचौलियामार्फत त्यही कुखुरा कोल्ड स्टोरमा पुग्छ र कोल्ड स्टोर हुँदै पसल पसलमा पुग्छ । यसरी कुखुराको मूल्यमा समेत बिचौलियाको हावी भएको देखिन्छ ।

 

नेपाल ह्याचरी फार्मका सञ्चालक गर्दै आएका रामहरी ढकाल अहिले बजारमा जिउँदो कुखुरा नै नभएको बताउँछन् । उनले जिउँदो कुखुरा अभाव भएका कारण फ्रेस मासुको मूल्य बढ्न गएको बताए । ‘अहिले बजारमा जिउँदो कुखुरा छैन, सबैले फ्रिजमा स्टक गरेर राखिएको फ्रोजन कुखुराको मासु विक्री गरिरहेको छन्,’ ढकालले चाणक्य पोष्टसँग भने ।

 

फ्रोजन मासुको मूल्य हाल बजारमा करिब ३५० रुपैयाँ केजी रहेको छ । फ्रेस मासुको मूल्य ३८० रुपैयाँ देखि ४०० सय रुपैयाँसम्म पर्ने गरेको छ । बजारमा यही फ्रेस मासु नभएको मौका मिलाएर मासु व्यवसायीहरु भने महँगोमा बेचेको हुन सक्ने उनले बताए ।

 

उनका अनुसार लकडाउन सुरु भएपछि मासु पसल बन्द भएको र चल्ला तथा कुखुराहरु ढुवानी नहुँदा किन्ने समेत नभए पछि धेरै कुखुरा मार्नु पर्ने बाध्यता भएको थियो । लक डाउनका बेला कुखुराको मूल्य २१० रुपैयाँसम्म झरेको थियो ।

 

अहिलेको कोरोनाले प्रभावित बनाएको पोल्ट्री व्यवसाय सामान्य अवस्थामा आउन डेढ/दुई वर्ष लाग्ने उनले बताए । धेरै किसानहरु पोल्ट्री फमबाट पलायन हुन सक्ने सम्भावना समेत रहेको उनको भनाइ छ ।

 

विभिन्न जातका चल्लाहरु आयात गरिने भएका कारण समेत ती चल्ला नआउँदा पनि पोल्ट्री व्यावसायमा असर परेको उनी बताउँछन् ।

बाढीले मध्यभोटेकोशी हाइड्रोपावरमा अर्बौंको क्षति Read Previous

बाढीले मध्यभोटेकोशी हाइड्रोपावरमा अर्बौंको क्षति

सुनको भाउ बढेको बढ्यै, तोलाको साढे ९२ हजार नजिक Read Next

सुनको भाउ बढेको बढ्यै, तोलाको साढे ९२ हजार नजिक