‘३ महिनादेखि गाडी थन्क्याउँदा चलाउनै नमिल्ने भए, अब कसरी बैंकको ऋण तिर्ने र परिवार पाल्ने’

काठमाडौं । कोभिड १९ का कारण सबैभन्दा बढी प्रभावित भएको क्षेत्र हो सार्वजनिक यातायात । करिब ३ महिनाभन्दा बढी गाडी थन्क्याएर बसेर व्यवसायीलाई यतिबेला बैंकको किस्ताले सताउन थालेको छ ।

 

व्यवसायीहरुले राज्य विहिन, सरकारविहिन जस्तो अवस्था सृजना भएको भन्दै यातायात क्षेत्रलाई मर्यादिन बनाउन सरकार समक्ष माग गरेका छन् ।

 

बुधबार विकास तथा प्रविधि समितिको बैठकमा उनीहरुले मजदूर र व्यवसायीहरुले कोभिड १९ का कारण बैंकमा ऋणको ब्याज तिर्न नसकेको, थन्क्याएर राख्दा गाडीका पाटपूर्जा बिग्रिएर गाडीहरुचल्नै नसक्ने अवस्थामा पुगेको गुनासो गरेका छन् ।

 

हाल व्यवसायीहरुले लक डाउनका समयमा भोग्नु परेको क्षतिपूर्तीको माग राखिएको छ । यातायात व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष दीपक केसीले ट्याक्सी चलाउन दिनुपर्ने भनेर मोडालिटी बनाई यातायात व्यवस्थापन विभागमा बुझाए पनि त्यसका निम्ति केही नभएको बताए । उनले चालकले आवश्यक अनुसार बिरामीहरुलाई समेत अस्पताल लैजानु पर्ने भएकाले ट्याक्सी चालकको समेत कोभिड १९ बीमा गराइनु पर्ने बताए ।

 

यस्तै उनले उपत्यकामा लाखौँ गाडी भएको तर व्यवस्थीत बसपार्क नभएकाले त्यसले पनि कोरोनाको संक्रमण बढाउँने बताउँदै त्यसतर्फ ध्यानकर्षण गराए ।

 

‘काठमाडौंमा नयाँ बसपार्क बाहेक कुनै व्यवस्थित छैनन्, बसपार्क व्यवस्थित गरे कोरोना संक्रमण रोक्न सकिन्छ, हामीलाई मापदण्ड बनाएर दिनु हामी त्यही अनुसार सवारी सञ्चालन गर्ने छौँ,’ केसीले भने ।

 

६० प्रतिशत भन्दा बढी ट्याक्सी ड्राइबरहरुले आफ्नो गाडी अथवा जग्गा धितो राखेर गाडी किनेको हुनाले उनीहरुको घर, जमिन र आयस्रोतको गाडी नै बैंकले तान्ने अवस्थामा रहेको उनले बताए ।

 

यस्तै नेपाल यातायात व्यवसायी संघका भीमज्वाला राईले यातायात क्षेत्रमा १० खर्बको हाराहारीमा निजी क्षेत्रको लगानी रहेको भन्दै ४५ लाख मानिसहरुको जीवन सार्वजनिक यातायात क्षेत्रमा आश्रित रहेको उनले बताए । १०७ दिन लक डाउन भइसकेको र अझै बढ्ने क्रममा रहेको हुँदा सार्वजनिक यातायात व्यवसायमा रहेका मजदूर तथा व्यवसायीहरुको घरमा चुल्हो बल्न नसक्ने अवस्था सृजना हुन थालेको बताए ।

 

सानुकुमार कार्कीले ट्याक्सी गुडाउन नपाएपछि खान समेत नपाउने अवस्था सृजना हुनुका कारण आत्महत्या गरेको भन्दै अझै आत्महत्याको संख्या बढ्न नदिन अनुरोध गरे ।

 

राईले भने ‘अब कोरोनाले भन्दाले भोकले मरिन्छ कि भन्ने डर भएको छ ।’ सरकारले यातायात मजदूर तथा व्यवसायीहरुका लागि केही सिन्को भाँच्ने काम नगरेको बताए ।

 

सरकारले यातायात श्रमिकका लागि राहत प्याकेजको समेत कुनै व्यवस्था नगरेको भन्दै उनले ७७ जिल्लाका यातायात श्रमिक राहत प्याकेजबाट बन्चित रहेको बताए ।

 

‘मन्त्रालयले यातायात क्षेत्रलाई गम्भीरपूर्वक लिएन, निजीलाई जति मानिस हालेर पनि गुडाउन पाउने, श्रमिकले रोजिरोटीको लागि समेत गाडी गुडाउन नपाउने,’ राईले भने । उनले सार्वजनिक सवारी सञ्चालनका लागि वातावरण बनाउन समिति समक्ष अनुरोध गरे ।

 

‘हामी प्रशिक्षण दिएर भए पनि मजदुर खटाउन तयार छौं, सरकारले वातावरण बनाइदियो,’ उनले भने । उनले सरकारले राहत प्याकेज दिने अथवा सार्वजनिक सवारी गुडाउने मध्य एउटा व्यवस्था नगरे मजदूर तथा व्यवसायी सबै टाउकोमा कफन बाँधेर निस्किने चेतावनी दिए ।

 

नेपाल यातायात ट्रक व्यवसायी धर्मराज भण्डारीले सार्वजनिक यातायात र ट्याक्सीको बैंक ब्याजमा सरकारले मिना गरिदिन माग गरेका छन् । उनले हालसम्म कुनै बैंकले सवारी करमा छुट नदिएको र उल्टै ब्याज तथा ऋण नतिरे त्यो बैंकले कब्जा गर्ने धम्की समेत आएको भन्दै पुन किस्ताको समेत माग गरेका छन् ।

 

यस्तै नेपाल विद्युत् परिवहन संघका राज श्रेष्ठले सफा ट्याम्पु गुडाउन नपाउँदा त्यसका ब्याट्रीहरु बिग्रीने क्रममा रहेको भन्दै ट्याम्पु गुडाउन वातावरण मिलाउन अनुरोध गरे ।

 

उनले ८ जनाको ठाउँमा ६ जना राखेर मात्र भए पनि ट्याक्पु गुडाउने व्यवस्था मिलाइदिन समितिमा माग गरेका छन् । धेरैको व्यवसाय खोसिएको भन्दै उनले १ लाख यात्रुलाई सेवा दिँदै आएको भन्दै मापदण्ड ल्याए त्यसै अनुसार ट्याम्पु गुडाउने बताए ।

 

यातायात व्यवसायी होमप्रसाद अधिकारीले यातायात विभागले जरिवाना बाहेक कुनै कुरामा ध्यान नदिएको आरोप लगाए । उनले जबरजस्ती चलाउँदा कोरोना लाग्ने र व्यवस्थित पनि कसैले नगर्ने गरेको बताए । उनले यातायात सवारी चालक तथा सहचालकहरुका लागि समेत पीपीईको माग राखेका छन् । उनले सरकारले सवारी चालक र सहचालकलाई पीपीईअनिवार्य दिनु पर्ने बताए ।

नबिल बैंक र हुवावे बीच रणनीतिक साझेदारी Read Previous

नबिल बैंक र हुवावे बीच रणनीतिक साझेदारी

अजोड इन्स्योरेन्सको आइपीओ खुल्यो, कति कित्ता भर्नु उपयुक्त Read Next

अजोड इन्स्योरेन्सको आइपीओ खुल्यो, कति कित्ता भर्नु उपयुक्त