काठमाडौं । ‘कृषि प्रधान’ देश भनेर गौरव गरिरहे पनि नेपालबाट हुने कृषिजन्य पदार्थको निर्यातमा भने बर्सेनि व्यापक गिरावट आउने गरेको तथ्याङ्कले देखाएको छ ।
नेपालबाट भारत हुँदै तेस्रो मुलुक जाने अलैँची, अदुवा, चियालगायतका कृषिजन्य पदार्थको निर्यात कम हुँदा त्यसबाट हुने आम्दानीमा पनि कमी आएको देखिएको छ ।
व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रका अनुसार आन्तरिक तथा बाह्य समस्याका कारण नेपालको निर्यात क्षमतामा कमी आएको हो ।विशेष गरी अनेक वाहाना बनाउँदै भारतले बेलाबेलामा लगाउने प्रतिबन्ध तथा नाकामा गर्ने अवरोधका कारण निर्यातमा व्यापक गिरावट आएको हो ।
गत आर्थिक वर्षको साउनदेखि जेठ मसान्तभित्र १३ करोड ६ लाख १ हजार ६७२ किलो निर्यात भएको चिया यस वर्ष सोही समयमा ८ करोड ३ लाख २५ हजार ७८७ किलो मात्र निर्यात भएको केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार चालू आर्थिक वर्ष ०७६/७७ (साउन–जेठ) भन्दा आर्थिक वर्ष २०७६÷७७ सोही अवधिमा चिया निर्यातमा उल्लेखनीय कमी आएको हो । चियाको निर्यातमा कमी आएसँगै यसबाट भित्रिने आम्दानीमा समेत ह्रास आएको देखिएको छ ।
प्रवद्र्धन केन्द्रका अनुसार गएको आव (साउन–जेठ) मा २ अर्ब ८९ करोड ३५ हजार बराबरको चियाबाट आम्दानी भित्रिएकोमा यस आवको सोही अवधिमा २ अर्ब ६ करोड ५३ लाख ६८ हजार बराबर मात्र आम्दानी नेपाल भित्रिएको छ ।
यस्तै नेपालबाट भारत हुँदै तेस्रो मुलुक पुग्ने अर्को कृषिजन्य पदार्थ अलैंचीको समेत परिमाण र आम्दानी दुवैमा यस वर्ष गिरावट आएको केन्द्रको तथ्यांकले देखाएको छ ।
गएको आर्थिक वर्ष ०७५/०७६ को जेठ मसान्तसम्ममा ४८ लाख ८० हजार ९८५ किलोको अलैंची विदेश निर्यात भएकोमा यस आर्थिक वर्षको जेठसम्ममा ४३ लाख ९ हजार ५०९ किलो मात्र निर्यात भएको पाइएको छ ।
गएको वर्षको जेठ मसान्तसम्ममा ४ अर्ब ३५ लाख ८७ हजार बराबरको अलैँचीबाट आय भएकोमा यस वर्षको जेठ मसान्तसम्ममा ३ अर्ब ४६ करोड १० लाख ४२ हजार बराबरको मात्र आम्दानी भएको देखिएको छ ।
यसैगरी नेपालबाट निर्यात हुने अदुवामा पनि यस वर्ष ठूलो परिमाणमा गिरावट आएको पाइएको छ । गएको आव २०७५÷०७६ को ११ महिनामा १ करोड २८ लाख ८४ हजार ८४ किलो अदुवा निर्यात भएकोमा यस वर्षको सोही अवधिमा ७६ लाख ८४ हजार ७१६ किलोमा मात्र निर्यात भएको तथ्याङ्कले जनाएको छ ।
गएको वर्षको जेठ मसान्तसम्ममा ४२ करोड २१ लाख ६७ हजार २०० बराबरको आय भए पनि यस आवको सोही अवधिमा ३६ करोड ५० लाख ८७ हजार रुपैयाँ बराबरको मात्र अदुवाबाट आम्दानी भएको प्रवद्र्धन केन्द्रले जनाएको छ ।
वैदेशिक व्यापारमा कुल प्रतिशतको ३.९ प्रतिशत हिस्सा ओगट्ने अलैँचीको यस वर्ष १३.६ प्रतिशतले आम्दानीमा गिरावट आएको छ भने २.३ प्रतिशत हिस्सा ओगट्ने चियाको आम्दानीमा २८.५ प्रतिशत र ०.४ प्रतिशत हिस्सा रहेको अदुवाको १३.४ प्रतिशत गिरावट आएको वैदेशिक व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रले जनाएको छ ।