फ्रान्सको राष्ट्रिय ध्वजाबाहक एयर फ्रान्सले साढे ७ हजार कामदार हटाउने

कोरोना भाइरसका कारण हवाई उड्डयनका क्षेत्रमा मन्दी छाएपछि फ्रान्सको राष्ट्रिय ध्वजाबाहक एयर फ्रान्सले आफ्नो कम्पनीमा कार्यरत ७ हजार ५०० कामदार हटाउने निर्णय गरेको छ ।

 

तर एयर फ्रान्सको मुख्यालयमा ट्रेड युनियनले कम्पनीको घोषणाको विरोधमा प्रदर्शन गरेका छन् । कम्पनी र युनियनका प्रतिनिधिबीच एयर फ्रान्सको प्रस्तावका विषयमा वार्ता पनि शुरु भएको छ ।

 

फ्रान्स सरकारले गत मे महिनामा ल्याएको आर्थिक सहायता कार्यक्रमबाट एयर फ्रान्सले करिब ८ अर्ब डलर सरकारी कोष प्राप्त गरे पनि मजदूर निकाल्ने निर्णयमा पुगेको भन्दै मजदूर युनियन आक्रोशित भएका हुन् ।

 

मजदूर युनियनले एयर फ्रान्सको निर्णयले फ्रान्सेली अर्थतन्त्रमै असर पार्ने चेतावनी दिएका छन् । सरकारी सहायता रकमबाट कम्पनीमा सुधार गर्नुपर्नेमा उल्टै मानिसलाई बेरोजगार बनाएको युनियनका नेताहरुको गुनासो छ ।

 

एयर फ्रान्सका प्रतिनिधिसँग पहिलो चरणको वार्तापछि कम्पनी व्यवस्थापनले एयर फ्रान्सबाट ६ हजार ५०० देखि ४१ हजार कर्मचारी, कामदार हटाउने तथा एयर फ्रान्सको सहायक कम्पनी हपले एक हजारदेखि २ हजार ४०० मजदूर सन् २०२२ सम्ममा हटाउने घोषणा गरेको थियो ।

 

एक अनुमान अनुसार विश्वभर यस वर्ष एयरलाइन्सहरुले करिब ८४ अर्ब डलर नोक्सानी व्यहोर्ने छन् । एयरलाइन्सको आम्दानीमा झण्डै आधा घट्ने छ । केही विमान कम्पनी बन्द हुनेक्रममा रहेका छन् । अधिकारीहरुले विश्वको एयरलाइन्स व्यवसायलाई बचाउन वा लयमा फर्किन केही वर्ष लाग्ने बताएका छन् ।

 

कोरोना भाइरसका कारण एयर फ्रान्सले आफ्ना उडानमा विगत तीन महिनाभित्र करिब ९५ प्रतिशतले कमी आएको जनाएको छ । कम्पनीले प्रति दिन १करोड ५० लाख युरो गुमाउनु परेको छ ।

 

सरकारले उपलब्ध गराएको वित्तीय सहायता ऋण र ऋणको प्रत्याभूतिका रुपमा दिइएको छ । उड्डयन क्षेत्रमा फ्रान्स सरकारले करिब १५ अर्ब युरोको आर्थिक सहयोगको व्यवस्था गरेको छ ।

 

फ्रान्समै रहेको युरोपेली विमान निर्माता कम्पनी एयरबसले पनि शुक्रबार कम्पनी बचाउन करिब १५ हजार कामदार, कर्मचारी हटाउने घोषणा गरिसकेको छ ।

-एजेन्सी

बेलाबेलामा भारतले गर्ने अवरोधले चिया, अलैंची र अदुवाको निर्यातमा व्यापक गिरावट Read Previous

बेलाबेलामा भारतले गर्ने अवरोधले चिया, अलैंची र अदुवाको निर्यातमा व्यापक गिरावट

नलगाड जलविद्युत् आयोजना प्रभावितलाई मुआब्जा दिन शुरु, प्रतिरोपनी कति पाउँछन् Read Next

नलगाड जलविद्युत् आयोजना प्रभावितलाई मुआब्जा दिन शुरु, प्रतिरोपनी कति पाउँछन्