लकडाउनको मौका छापी ब्रह्मलूट, ६० रुपैयाँको औषधि २ हजार ४०० मा बिक्री !

सिन्धुपाल्चोकका केही औषधि पसलले लकडाउनको फाइदा उठाउँदै बढी मूल्य लिई औषधि विक्री गरेको भेटिएको छ ।

 

जिल्ला जनस्वास्थ्य कार्यालय र बाह्रबिसे नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा बाह्रबिसे नगरपालिकाका बजार क्षेत्रका औषधि पसलमा शुक्रबार गरिएको अनुगमनका क्रममा वास्तविक मूल्यभन्दा बढी मूल्य लिएको भेटिएको नगर प्रमुख निमफुञ्जो शेर्पाले बताए। उनका अनुसार सेतीदेवी मेडिकल राम्चेले बढी मूल्यमा औषधि बिक्री गरेको पाइएको हो ।

 

‘मेडिकलले अनियमितता गरिरहेको छ भन्ने सूचनाका आधारमा हामीले नै औषधि किन्न पठाउँदा त्यस्तो प्रमाण पायौँ,’ उनले भने । उनका अनुसार सरकारले निःशुल्क एबोसनको औषधि वितरण गरे पनि बढीमा ६० रुपैयाँ पर्ने औषधिलाई सो मेडिकलले २ हजार ४०० लिएको हो । त्यस्तै सोही मेडिकलले औषधि बिक्रीवितरण गर्दा बिल नदिएको पाइएको छ ।

 

यसैगरी कुँवेर मेडिकल राम्चे–९ को मेडिकल दर्ता गरे पनि सम्बन्धित व्यक्तिले सञ्चालन नगरी अर्कैले सञ्चालन गरेको पाइएको, सदीक्षा फार्मेसीको बिरामी जाँच्ने आधिकारिक व्यक्ति नभएको पाइएको नगर स्वास्थ्य शाखाको ठहर छ । प्रायः सबै मेडिकलहलमा चिकित्सकको सिफारिसबिना अवैधानिकरूपमा औषधि बिक्री गरेको पाइएको शाखाले जनाएको छ ।

 

प्रतिवेदन तयार गरी जिल्ला प्रशासन तथा जनस्वास्वास्थ्य कार्यालयमा जानकारी गराउने तथा ती सबै पाँच मेडिकललाई लिखित स्पष्टीकरण तथा कारवाहीका लागि नगर स्वास्थ्य शाखाबाट पत्रचार गर्ने निर्णय भएको नगरप्रमुख शेर्पाले जानकारी दिए । रासस

आइएलओले गैरआवासीय नेपाली संघलाई ५ करोड अनुदान दिने Read Previous

आइएलओले गैरआवासीय नेपाली संघलाई ५ करोड अनुदान दिने

साना-मझौला व्यवसायीको समस्या समाधान गर्न नसके महासंघको सान्दर्भिकता सकिन्छ : शेखर गोल्छाको अन्तर्वार्ता Read Next

साना-मझौला व्यवसायीको समस्या समाधान गर्न नसके महासंघको सान्दर्भिकता सकिन्छ : शेखर गोल्छाको अन्तर्वार्ता