नुनदेखि सुनसम्मका खानी सञ्चालनका लागि १३ कम्पनीले दिए आवेदन, चुनढुंगा रोजाइमा

काठमाडौं । सरकारले बोलकबोल प्रक्रियाबाट १० नयाँ खानीे सञ्चालन गर्न दिने तयारी गरेको छ ।

 

खानी तथा भूगर्भ विभागले असार ३ गते नुनदेखि सुनसम्मका खानीको उत्खन्न तथा अनुसन्धानका लागि आवेदन मागे गरेको थियो । सोसँगै २ हप्तामै खानी सञ्चालनका लागि १ दर्जनभन्दा बढी कम्पनीले आवेदन दिएका छन् ।

 

विभागका अनुसार शुक्रबारसम्ममा खानी सञ्चालनको लागि अनुमति माग्दै १३ कम्पनीले आवेदन दिएका छन् । सो अवधिमा १० नयाँ खानीमध्ये ७ वटा खानी सञ्चालनका लागि आवेदन परेको छ । ३ वटा खानी सञ्चालनका लागि अहिलेसम्म कुनै आवेदन परेको छैन ।

 

विभागले तामा, चुनढुंगा, नुन, कोइला, ग्रेनाइट , केओलिन लगायतको खानी उत्खनन तथा अध्ययनका लागि आवेदन दिएका कम्पनीलाई बोलकबोलका आधारमा सञ्चालन अनुमति दिइने जनाएको छ ।

 

आवेदन दिने समय अझै ३ हप्ता बाँकी रहेकाले सो अवधिसम्म सबै खानी सञ्चालनका लागि आवेदन पर्ने सम्भावना रहेको विभागले जनाएको छ ।

 

विभागका अनुमती शाखा प्रमुख रुपक खड्काका अनुसार सल्यान जिल्लास्थित कपुरकोट गाउँपालीकामा रहेको चुनढुंगा खानी, बागमती प्रदेशमा रहेका २ वटा तामा खानी उत्खनन तथा अनुसन्धानका लागि हालसम्म कुनै आवेदन परेको छैन ।

 

उनका अनुसार बागमती प्रदेशको धादिङस्थित बेनीघाट रोराङ गाउँपालीकाको चुनढुंगा उत्खन्नका लागि भने ५ कम्पनीले आवेदन दिएका छन् ।

 

यस्तै, गण्डकी प्रदेशको मुस्ताङस्थित बारागाउको नुन खानी, प्रदेश १ को उदयपुरमा रहेको तामा खानीको अध्ययन तथा अनुसन्धानका लागि एक/एक कम्पनीले अनुमति मागेका छन् ।

 

त्यसैगरी प्रदेश ५ रोल्पाको ५ को सुनछहारी गाउँपालिकामा रहेको सुन खानी, बागमती प्रदेशको कोओलिन अनुसन्धानका लागि २/२ वटा कम्पनीले अनुमति मागेका छन् । बागमति प्रदेशकै ग्रेनाइट उत्खन्नका लाइसेन्सका लागि एउटा आवेदन परेको छ ।

 

‘उनीहरुले तोकेको समयमा आवेदन गर्ने छन्, ३ भन्दा कम आवेदन आएकाहरुका लागि फेरि १५ दिन म्याद थपिने छ, त्यो अवधिमा पनि प्रस्ताव नआए त्यो रद्द हुन्छ,’ खड्काले चाणक्य पोष्टसँग भने ।

 

विभागले तामा, चुनढुंगा, नुन, कोइला, ग्रेनाइट , केओलिन लगायतको खानी उत्खनन तथा अध्ययनका लागि आवेदन दिएका कम्पनीलाई बोलकबोलका आधारमा सञ्चालन अनुमति दिइने जनाएको छ ।

 

विभागले असार पहिलोसाता ३५ दिनभित्र खानीको उत्खन्न तथा अध्ययन गर्न इच्छुक फर्म तथा कम्पनीहरूबाट आवेदनको माग गरेको हो ।

 

कुन-कुन खानी सञ्चालनका लागि आवेदन माग गरिएको छ ?

 

विभागले लाइसेन्स खुला गरेका खानीमा सबैभन्दा बढी तामाका रहेका छन् । धादिङको बेनिघाट रोराङ गाउँपालिका, मकवानपुरको थाहा नगरपालिका र उदयपुरको कटारी नगरपालिकामा तामाको भण्डार रहेको छ । बेनिघाटको धुषा, थाहाको आग्रा र कटारीको लेखानीमा रहेको तामा उत्खननका लागि लाइसेन्स खुल्ला गरिएको हो ।

 

त्यसैगरी, सल्यानको कपुरकोट गाउँपालिका र धादिङको बेनिघाट रोराङ गाउँपालिकामा चुनढुंगा, मुस्ताङको बराहगाउँ मुक्तिक्षेत्र गाउँपालिकामा नुन, रोल्पाको सुनछहारी गाउँपालिकामा सुनखानी सञ्चालनका लागि आवेदन माग गरेको छ ।

 

त्यस्तै, मकवानपुरको थाहामा ग्रेनाइट र कोओलिन र पाल्पाको निस्दी गाउँपालिकामा कोइला खानी संचालनका लागि अनुमति दिइने विभागले जनाएको छ ।

 

विभागका अनुसार चालू आर्थिक वर्षमा ९५ वटा खानी उद्योगले लाइसेन्स लिएका छन् भने एउटा खानी उद्योगको लाइसेनस रद्द भएको छ ।

 

उनका अनुसार यो पटक धेरै खानीहरु राम्रोसँग सञ्चालन हुन नसकेकाले विभागबाट अनुगमन हुन सकेको छैन ।

एनआइसी एशिया लघुवित्तको आइपीओ बाँडफाँट, कसले कति कित्ता पाए Read Previous

एनआइसी एशिया लघुवित्तको आइपीओ बाँडफाँट, कसले कति कित्ता पाए

साधना लघुवित्तको आइपीओ खुल्यो, कति कित्ता भर्नु उपयुक्त Read Next

साधना लघुवित्तको आइपीओ खुल्यो, कति कित्ता भर्नु उपयुक्त