काठमाडौं । साधना लघुवित्तले आज (असार २१ गते) देखि प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन खुला गरेको छ ।
केही समय अघि आर्थिक सम्वृद्धि लघुवित्तलाई प्राप्ती गरेर एकीकृत कारोबार थालेको लघुवित्तले ७ करोड ७ लाख ८० हजार बराबरको ७ लाख ७ हजार ८०० कित्ता आइपीओ निष्काशन गरेको हो ।
जसमध्ये १० हजार ८९० कित्ता कम्पनीका कर्मचारी र ३५ हजार ३९० कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। सर्वसाधारणमा ६ लाख ६१ हजार ५२० कित्ता जारी हुनेछ।
लघुवित्तको आइपीओमा बुधबार (२४ गते) सम्म आवेदन दिन सकिनेछ । सो अवधिमा पूरै आवेदन नपरे ढिलोमा आगामी साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ ।आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
लघुवित्तको आइपीओको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । इच्छुक लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल, सी–आस्वा सदस्याता लिएका बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।
लघुवित्तको यस आइपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ प्लस रेटिङ दिएको छ। यसले कम्पनीको अवस्था औषतभन्दा कम रहेको जनाउँदछ ।
कति कित्ताका लागि आवेदन दिनु उपयुक्त
लघुवित्तले सर्वसाधारणका लागि ६ लाख ६१ हजार ५२० कित्ता सेयर निष्काशन गरेको छ । धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँड गर्नुपर्ने हुन्छ।
सो अनुसार लघुवित्तको आइपीओ ६६ हजार १५२ हजार आवेदकलाई १० कित्ताका दरले सेयर बाँडफाँट गर्न पुग्दछ। तसर्थ ६६ हजार १५२ जनाले मात्र भरे भने सबैले १० कित्ता पाउछन् भने सो भन्दा बढीले आवेदन दिएको खण्डमा गोलाप्रथाबाट १० कित पाउने सम्भावना हुन्छ ।
हालसम्म खुलेका आइपीओमा ३ देखि ४ लाखले आवेदन दिँदै आएका छन् । त्यसका आधारमा यस आइपीओमा १० कित्ताका लागि १ हजार रुपैयाँ बराबरको आवेदन दिँदा उपयुक्त हुने देखिन्छ ।