काठमाडौं । एनआइसी एशिया लघुवित्तले निष्काशन गरेको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ।
बिक्री प्रबन्धक सानीमा क्यापिटलमा शनिबार बिहान भएको बाँडफाँटमा ३ लाख ९७ हजार ७४१ आवेदकले कम्पनीको सेयर पाएका छन्।
आइपीओमा कुल लघुवित्तको आइपीओमा ४ लाख १४ हजार १८० जनाले आवेदन दिएका थिए । जसमा १६ हजार ४९७ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ।
विक्री प्रबन्धकका अनुसार १० कित्ता आवेदन गर्ने सबैले मागेजति सेयर पाएका छन् भने त्योभन्दा बढी कित्ता माग गर्ने ४६ हजार ५७९ जनाले गोलाप्रथाबाट थप १० कित्तासहित २० कित्ता सेयर पाएका छन् ।
लघुवित्तले असार १० गते (बुधबार) देखि १०० रुपैयाँ अंकित दरमा ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आइपीओ निष्काशन गरेको थियो ।
कुल निष्काशनमध्ये ७४ हजार कित्ता कर्मचारीका लागि, २ लाख ३७ हजार ८०० कित्ता सामूहिक लगानी कोषको लागि छुट्याएको थियो । बाँकी ४४ लाख ४३ हजार २०० कित्ता सेयरमा सर्वसाधारणको लागि बिक्री खुल्ला गरिएको थियो।
हाल १ अर्ब ४५ लाख १० हजार रुपैयाँ रहेको लघुवित्तको चुक्ता पूँजी आइपीओ निष्काशनपछि १ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । कम्पनीमा संस्थापकको हिस्सा ६७.८७ प्रतिशत अर्थात १ अर्ब ४५ लाख रुपैयाँ छ भने आइपीओ पश्चात सर्वसाधरणको हिस्सा ३२.१३ प्रतिशत अर्थात ४७ करोड ५५ लाख बराबरको सेयर कायम हुनेछ ।