काठमाडौं । एनआइसी एशिया बैंकले तीन सुपर चमत्कारिक कर्जा योजना ल्याएको छ ।
बैंकले ८.२५ प्रतिशत ब्याजदरमै सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जा योजना सार्वजनिक गरेको हो ।
बैंक अनुसार ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कमा उक्त कर्जाहरु उपलब्ध हुनेछन् । साथै, उक्त ब्याजदर १ वर्षसम्मका लागि परिवर्तन नहुने बैंकले जनाएको छ ।
सुपर चमत्कारिक घर कर्जाअन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण, जग्गा खरिद आदि वित्तीय सेवा सुविधाका कर्जा लिन सक्नेछन् । ग्राहकले न्यूनतम ५ वर्षदेखि अधिकतम ३० वर्षसम्मका लागि यस्तो कर्जा लिन सक्नेछन् ।
सुपर चमत्कारिक घर कर्जा अन्तर्गत अधिकतम १ करोड ५० लाखसम्म कर्जा पाइने बैंकले जनाएको छ । जसमा अधिकतम ५० लाखसम्मको ओभरड्राफ्ट सुविधा समेत लिन सकिने व्यवस्था गरिएको छ ।
घर निर्माण गर्दाको हकमा बैंकले निर्माण लागतको शतप्रतिशतसम्म कर्जा प्रवाह गर्ने, घर निर्माणको लागि अधिकतम ५ वर्षसम्मको मोराटारियम पिरियड लिन सकिने र उक्त अवधिमा ऋणीले कर्जाको ब्याज मात्र भुक्तानी गर्न सक्ने समेत सुविधा रहेको छ ।ग्राहकले आफ्नो आर्थिक क्षमता अनुसारको आफूले तिर्नसक्ने ईएमआइ वार्षिक रुपमा आफैले निर्धारण गरेर भुक्तानी गर्न सक्नेछन् ।
यसैगरी सुपर चमत्कारिक सवारी कर्जाअन्तर्गत रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी र विद्युतीय सवारीको लागि ग्राहकले कर्जा प्राप्त गर्न सक्नेछन् । अन्य बैंकमार्फत सवारी कर्जा उपभोग गरिरहेका ग्राहकले पनि यस बैंकको सुपर चमत्कारिक सवारी कर्जा अन्तर्गत आफ्नो कर्जा स्थानान्तरण गर्न सक्ने बैंकले जनाएको छ । यस योजना अन्तर्गत अधिकतम २ करोड रुपैयाँ सम्मा कर्जा लिन सकिनेछ । सवारी धितो राखेको हकमा कर्जा अवधि अधिकतम १० वर्षसम्म र सवारी तथा घरजग्गा दुबै धितो राखेको खण्डमा अधिकतम १५ वर्षसम्म कर्जा अवधि हुने व्यवस्था गरिएको छ ।
यसैगरी बैंकले साना तथा मझौला उद्योग व्यवसायलाई प्रोत्साहन गर्न सुपर चमत्कारिक व्यवसाय कर्जा योजना ल्याएको छ । जसअन्तर्गत उद्योगी तथा व्यवसायीले आफ्नो व्यवसायको आवश्यकता अनुसार आवधिक कर्जा तथा ओभरड्राफ्ट मिश्रित रुपमा उपभोग गर्न सक्नेछन् । यस्तो कर्जा सीमा अधिकतम १ करोडसम्म निर्धारण गरिएको छ ।
यस्तो योजनाबाट विषम परिस्थितिमा समेत लगानीको वातावरण बनाउन आमसर्वसाधारणलाई थप प्रोत्साहन तथा प्रेरणा मिल्ने बैंकले विश्वास लिएको छ ।
सुपर चमत्कारिक कर्जामार्फत ग्राहकलाई सहज रुपमा कर्जा प्रदान गर्ने बैंकले रणनीति लिएको छ । बैंकले आवश्यक कागजात प्राप्त भएको ४८ घण्टाभित्र यी तीन वटा कर्जाबारे नै निर्णय दिने व्यवस्था गरेको छ । यी कर्जाहरु बारे आवेदन बैंकको बेवसाइट, ३४४८८ मा Loan टाइप गरी एसएमएस र बैंकको ९८०१२२७७५५ नम्बरमा मिस कल गरी थप जानकारी प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।