काठमाडौं । सरकारले बिदामा आएर कारोनाका कारण वैदेशिक रोजगारी जान नपाएका कामदारलाई पुनः श्रम स्वीकृति दिन सुरु गरेको छ ।
गत फागुन ३० देखि बन्द रहेको वैदेशिक रोजगारको लागि श्रम स्वीकृति दिने प्रक्रिया पुनः सुरु भएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
विभागका अनुसार बिदामा आएका कामदारलाई पुरानै काम जान स्वीकृति दिन थालिएको हो । यससँगै अब सरकारले वैदेशिक रोजगारीका लागि अनुमति दिएका सबै देशमा पुनः श्रम स्वीकृति लिएर नेपालीहरु जान पाउनेछन् ।
काठमाडौंमा बिहीबारबाटै र उपत्यका बाहरिका प्रदेश श्रम कार्यालयबाट आइतबारदेखि सेवा दिन थालिनेछ । नयाँ कामदारलाई भने तत्कालै विदेश जान श्रम स्वीकृति नदिइने विभागले जनाएको छ ।
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को असार ७ मा बसेको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि श्रम स्वकिृति दिन सक्ने अधिकार दिएको थियो ।
