सेयर बजारको आफ्नै चक्र हुन्छ । अनुकूल वातावरण हुँदा बजार बढ्छ । प्रतिकूल वातावरण हुँदा बजार घट्छ । यो एउटा सामान्य नियम हो ।
सेयर बजार आफैमा अनिश्चित छ । आजसम्म कसैले यो ठ्याक्कै यति अंकले बढ्छ वा यति अंकले घट्छ भनेर ठोकुवा गर्न सकेका छैनन । र, कुनै शुत्र पनि प्रतिपादन भएको छैन । विज्ञहरुले पनि विभिन्न आधारहरुको अध्ययन गरेर भविष्यवाणी गर्दै आएका छन् ।
सामान्यतः बजारमा आपूर्ति कम, बैंकको ब्यजादर कम, तरलता पर्याप्तता, व्यावहारिक रुपमा सरल सहज नियम लागू हुँदा लगायत अवस्थामा बजार बढ्छ भन्ने मान्यता छ । त्यस्तै, बैंकको ब्याज महँगो हुँदा, तरलता अभाव, लगानीकर्तालाई चर्को कर, अन्य क्षेत्रमा लगानीको वातावरण अनुकूल हुँदा, लगानीकर्ताको मनोबल गिर्दा लगायत अवस्थामा बजार घट्छ ।
पछिल्ला दिनको सेयर बजारको प्रवृत्ति हेर्दा धेरै लगानीकर्ता फस्नसक्ने देखिन्छ । लामोसमयपछि खुलेको बजार बढ्ने आशामा लगानीकर्ताले बजार प्रवेश गर्न थालेका छन् । तर, एकदिन बेस्सरी बढ्ने अनि अर्कोदिन बेस्सरी घट्दा नयाँ लगानीकर्ता डुब्ने सम्भावना पनि बढेको छ ।
करिब ३ महिना बन्द भएको सेयर बजार यसैसाता (सोमबार) देखि खुलेको छ । बजार खुलेको पहिलो दिन बजार नेगेटिभ सर्किट लागेर पुनः फर्केको थियो । दिनको अन्त्य करिब १३ अंकले घटेर बजार बन्द भयो ।
तर, मंगलबार र बुधबार बजारले एकाएक छलाङ मार्यो । दुई दिनमै बजार करिब १५० अंकले बढ्यो । कुनै कम्पनीको सेयर ३ दिनमै ३२ प्रतिशतले बढ्यो भने धेरै कम्पनीका सेयर २५ प्रतिशत बढ्यो ।
यसबारे लगानीकर्ताले विभिन्न अड्कलबाजी गरे । बजार बढ्नुमा नेप्सेले ‘प्लेजड’ मा रहेका सेयर बेच्न नपाउने व्यवस्था गर्दा सेयर आपूर्तिमा कमी आइ माग बढेर बजार उकालो लागेको लगानीकर्ताले अनुमान गरे । त्यस्तै केही लगानीकर्ताले बैंकमा पर्याप्ता तरलता, घट्दो ब्याजर, कारोनाका कारण तत्कालै अन्य क्षेत्रमा लगानी हुने वातावरण नहुँदा त्यो पैसा सेयर बजारमा लगानी गर्न थालेकाले बजार बढेको अनुमान गरे । अहिलेको अवस्थामा यी कुरा केही हदसम्म सही पनि छन् ।
तर, बिहीबार सेयर बजारमा एकाएक ‘यूटर्न’ आयो । बजारमा नेगेटिभ सर्किट लागेर २ घण्टामै बजार बन्द भयो । अघिल्ला दुई दिनमा पोजेटिभ सर्किट लागेको बजारमा सामान्य ‘करेक्शन’ हुन्छ भन्ने सबै अनुमान गरेका थिए । तर, बजार नेगेटिभ सर्किट लागेर ८० अंकले घटेर बन्द भयो ।
यी पछिल्ला ४ दिनको सेयर बजार हेर्ने हो भने यो जुवाघर भन्दा फरक नपर्ने देखिन्छ । एकै दिन अस्वाभाविक रुपमै बढ्ने अनि अर्को दिन ठ्याक्कै उल्टो गतिमा घट्ने !
सेयर बजारको यो उतरचढाव जुवाखालमा लाग्ने दाउ जस्तै हुन थालेको छ । एकपटक नलागे अर्को पटक दाउ लाग्ने वा कहिल्यै दाउ नै नलाग्ने ।नेपाली सेयर बजारमा लगानीकर्ता एकदमै अस्थिर देखिएका छन् । बजारमा दीर्घकालीन लगानीकर्ता भन्दा अल्पकालीन लगानीकर्ता हाबी भएको देखिन्छ । केही ठूला लगानीकर्ताहरुले केही दिनमै कमाउन बजार ‘म्यानुपुलेट’ गर्नाले बजार अस्थिर हुने गरेको साना लगानीकर्ताले आरोप लगाउने गरेका छन् ।
‘कुनै ठोस कारण चाहिँदैन । एकदिन बजार आफैं बुर्कुसी मारेको छ । अर्कोदिन त्यही गतिमा झरेको छ,’ पुतलीसडको ब्रोकर कार्यालयमा भेटिएका लगानीकर्ताले भने, ‘यतिबेला सेयरमा लगानी गर्नु र जुवा खेल्नु दुवै उस्तै हो जस्तो भान भएको छ । न कमाउने टुंगो छ, न गुमाउने ।’
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई अर्थमन्त्री भएको बेलामा सेयर बजारलाई जुवाघरको संज्ञा दिएका थिए । त्यस्तै हालका अर्थमन्त्री युवराज खतिवडाले पनि सेयर बजारलाई अनुत्पादक क्षेत्र भनेर अभिव्यक्ति दिएका थिए । नेपाली सेयर बजार, लगानीकर्ताको प्रवृति देखेर नै सरोकारवाला निकायका व्यक्तिले समेत नकारात्मक दृष्टिले हेरेको हुनसक्छ ।
पछिल्ला दिनको सेयर बजारको प्रवृत्ति हेर्दा धेरै लगानीकर्ता फस्नसक्ने देखिन्छ । लामोसमयपछि खुलेको बजार बढ्ने आशामा लगानीकर्ताले बजार प्रवेश गर्न थालेका छन् । तर, एकदिन बेस्सरी बढ्ने अनि अर्कोदिन बेस्सरी घट्दा नयाँ लगानीकर्ता डुब्ने सम्भावना देखिन्छ । यस्तो अवस्थामा लगानीकर्ता हौसिएर वा आत्तिएर सेयर किनबेच गर्नुभन्दा केही समय बजारको अवस्था हेरेर कारोबार गर्नुपर्ने जानकारहरु बताउँछन् ।