काठमाडौं । बिहीबार सेयर बजारमा पहिरो गएको छ । अघिल्ला दुईदिनमा लगातार पोजेटिभ सर्किट लागेको बजार नेगेटिक सर्किट लागेर पानै २ घण्टामै बन्द भएको छ ।
आज कारोबार खुलेदेखि ओरालो लागेको बजार तेस्रो नेगेटिभ सर्किट लागेर बन्द भएको छ । जम्मा ३३ मिनेट कारोबार भएर बन्द भएको छ ।
पहिलो २३ मिनेटमै ४ प्रतिशतले घटेर पहिलो सर्किट लागेको बजार पुनः खुलेको ३ मिनेटमै दोस्रो सर्किट लागेको थियो । त्यसपछि खुलेको बजार जम्मा ७ मिनेटमै ६ प्रतिशत अर्थात ८० अंकले घटेर बन्द भएको छ ।
बजारमा ठूलो गिरावट आएपनि कारोबार रकम भने उत्साहजनक छ । जम्मा आधाघण्टाको कारोबारमा पानै ४८ करोडको कारोबार भएको छ ।
आज नेप्से परिसूचक ८०.४१ अंकले घटेर १२५६.११ विन्दुमा आइपुगेको छ । आज कारोबार भएका १४२ कम्पनीमध्ये अधिकांश कम्पनीको मूल्य घटेको छ । करिब आधा दर्जन कम्पनीको मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको यसको ६ करोडभन्दा बढीको कारोबार भएको छ ।
आज कारोबार भएका ११ समूहमध्ये म्युचुअल फण्ड बाहेक सबै समूहको सूचक ओरालो लागेको छ । आज सबैभन्दा धेरै जीवन बीमा समूहको सूचक ६०८.६१ अंकले घटेको छ ।