काठमाडौं । लकडाउन यताको ३ महिनामा निर्जीवन बीमा कम्पनीहरुले साढे ४ अर्ब रुपैयाँभन्दा बढी बीमा शुल्क आर्जन गरेका छन् ।
बीमा समितिको तथ्यांक अनुसार निर्जीवन बीमा कम्पनीहरुले चैतदेखि जेठमसान्त सम्ममा ४ अर्ब ६८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
जसमा चैतमा १ अर्ब ६० करोड, बैशाखमा १ अर्ब र जेठमा २ अर्ब ८ करोड रुपैयाँ गरी कुल ४ अर्ब ६८ बीमा शुल्क आर्जन गरेका हुन् ।
हाल सञ्चालनमा रहेका २० निर्जीवन बीमा कम्पनीमध्ये सबैभन्दा धेरै बीमा शुल्क शिखर इन्स्योरेन्सले आर्जन गरेको छ । शिखरले चैतमा २८ करोड, बैशाखमा ६ करोड र जेठमा २१ करोड गरी ५५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
यस्तै, हिमालयन जनरलले चैतमा ९ करोड, बैशाखमा ३ करोड र जेठमा २६ करोड गरी ३८ करोड बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै ३ महिनामा सगरमाथाले ३६ करोड, नेको र सिद्धार्थ इन्स्योरेन्सको ३५/३५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
यस अवधिमा सबैभन्दा कम बीमा शुल्क सानिमा जनरल इन्स्योरेन्सले गरेको छ । सानिमाले चैतमा १ करोड, बैशाखमा १ करोड र जेठमा २ करोड गरी कुल ४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।