बुर्कुसी मार्दै सेयर बजार, दुई दिनमै १४८ अंक बढ्यो

काठमाडौं । करिब डेढ महिनापछि सोमबार देखि खुलेको बजारमा लगातार सर्किट लाग्दै आएको छ ।

 

सोमबार नेगेटिभ सर्किट लागेको बजारमा पछिल्ला दुई दिनमा लगातार पोजेटिभ सर्किट लागेर पूरा समय कारोबार नभइ बजार बन्द भएको छ ।

 

पोजेटिभ सर्किट लागेर पूरा दिन कारोबार नभइ बजार बन्द भएको आज लगातार दोस्रो दिन हो । मंगलबार कारोबार सुरु भएको सवा दुइ घण्टामै बजार बन्द भएको थियो भने आज डेढ घण्टामै बन्द भएको छ ।

 

पछिल्ला दुई दिनमा मात्रै सेयर बजार सूचक नेप्से करिब १५० अंकले बढेको छ । मंगलबार करिब ७२ अंकले बढेको बजार बुधबार खुलेको डेढ घण्टामै ७५ अंकले बढेर सर्किट लागेर बन्द भएको छ ।

 

बुधबार खुलेदेखि नै लगातार बढ्न थालेको बजार १३ मिनेटमा ४ प्रतिशतले बढेर पहिलो सर्किट लागेको थियो भने पुनः खुलेको बजार ३ मिनेटमै ५ प्रतिशतले बढेर दोस्रो सर्किट लागेको थियो । सो पश्चात ४० मिनेटपछि खुलेको बजार थप ६ प्रतिशतले बढे पछि बुधबार दिनभरका लागि बजार बन्द भएको छ ।

 

आज नेप्से ७५.७७ अंकले बढेर १३३६.५३ विन्दुमा पुगेको छ। आज १३५ कम्पनीको ४० करोड ७३ लाख भन्दा बढीको कारोबार भएको छ ।

 

आज कारोबार भएका अधिकांश कम्पनीको मूल्य बढेको छ । जसमा करिब २ दर्जन कम्पनीको मूलयमा पोजेटिभ सर्किट लागेको छ ।

 

किन बढ्दै छ बजार ?

 

दुई दिनमै करिब १५० अंकले बजार बढेपछि लगानीकर्ता उत्साहित भएका छन् । बजारमा विक्रीकर्ता भन्दा खरिद कर्ताको चाप बढी देखिएको छ । यसले गर्दा लगानीकर्ताले आगामी दिनमा बजार झन बढ्ने अनुमान लगाउन थालेका छन् ।

 

बजारबढ्नुको कुनै ठोस कारण नभएपनि नेप्सेको नयाँ व्यवस्थाले केही सकारात्मक भूमिका खेलेको देखिन्छ । नेप्सेले बजार घट्न नदिन बैंक तथा वित्तीय संस्थाबाट मार्जिनमा किनेको ‘प्लेजड’मा रहेको सेयर बेच्न नपाउने नियम लागू गरेको छ । यसले बजारमा सेयर आपूर्ति कम हुन गई माग बढेपछि बजारमा पनि उछाल आएको लगानीकर्ताको भनाइ छ ।

 

अहिले बैंकमा पर्याप्त तरलता रहेकाले लगानीकर्ताले सेयरमा लगानी गर्न थालेको अनुमान लगाउन थालिएको छ । बैंक तथा वित्तीय संस्थामा रहेका पैसा अन्यत्र लगानी हुन नसकेको अवस्था सहजै ऋण पाइने भएकाले केही लगानी कर्ताले सेयरमा लगानी गर्न थालेको बताइएको छ ।

 

हिमालय एयरलाइन्स र हुवावे बीच रणनीतिक सम्झौता Read Previous

हिमालय एयरलाइन्स र हुवावे बीच रणनीतिक सम्झौता

लकडाउनमा निर्जीवन बीमा कम्पनीले आर्जन गरे साढे ४ अर्ब बीमा शुल्क Read Next

लकडाउनमा निर्जीवन बीमा कम्पनीले आर्जन गरे साढे ४ अर्ब बीमा शुल्क