काठमाडौं । हिमालय एअरलाइन्स र चिनीयाँ बहुराष्ट्रिय प्रविधि कम्पनी हुवावे क्लाउड बीच रणनीतिक सहकार्य सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा हिमालय एअरलायन्सका अध्यक्ष झोउइन्योङ्ग र हुवावे टेक्नोलोजिज् नेपाल का प्रमुख कार्यकारी अधिकृत डेङ्ग शुइजेनले हस्ताक्षर गरे ।
यो सम्झौताबाट सूचना प्रविधिको नयाँ प्रयोगबाट उड्डयन क्षेत्रमा यात्रुले थप सहज सुविधा प्राप्त हुने दुई कम्पनीले विश्वास व्यक्त गरेका छन्।
सूचना र संचार प्रविधि सेवा प्रदायक क्षेत्रमा हुवावेले हिमालय एअरलाइन्सलाई अझ सक्षम बनाउने सिलसिलामा प्रतिस्पर्धात्मक सेवामार्फत यात्रुहरुलाई उत्कृष्ट टिकेटिङ विकल्पहरु र यात्रा अनुभव प्रदान गर्नेछ ।
हिमालय एयरलाइन्सलाई दक्षिण एशियाको एक अग्रणी वायुसेवाको रुपमा स्थापित गर्ने अवसर सृजना गर्दै ठोस परिणामहरु प्राप्त गर्न यस सम्झौताले स्मार्ट उड्डयन क्षेत्र निर्माण र बहुआयामिक हवाई संजाललाई प्रबद्र्धन गर्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा भर्चुअल माध्यममार्फत नेपालका लागि चीन राजदूतावासका आर्थिक तथा वाणिज्य काउन्सेलर झाङ्गफ्यान, तिब्बत स्वशासित क्षेत्रका वाणिज्य विभागका उपनिर्देशक वाङ्गपिङ्ग र हुवावे टेक्नोलोजी क्लाउड र ए.आई व्यवसायिक समूह-एशिया प्रशान्त क्षेत्रका अध्यक्ष झोउ डान्जीनको उपस्थिति रहेको थियो ।
दुवै संस्थाहरुलाई बधाई दिँदै नेपालका लागि चीन राजदूतावासका आर्थिक तथा वाणिज्य काउन्सेलर झाङ्ग फ्यानले महामारी पश्चातको अन्तर्राष्ट्रिय उड्डयन, अन्तर्राष्ट्रिय संचार र बेल्ट एण्ड रोड इनिसिएटिभ सहकार्य ९बी।आर।आई०का नयाँ चुनौती र परिस्थितिहरुलाई सामना गर्न यो सम्झौता वास्तवमै सक्रिय कदम रहेको बताए ।