काठमाडौं । दहीचिउरा खाने दिनका रुपमा हेरिएको असार १५ गते साढे ५ करोड रुपैयाँको दही बिक्री भएको छ ।
निजी क्षेत्रका डेरी व्यवसायी र सरकारी स्वामित्वमा सञ्चालित दुग्ध विकास संथान (डीडीसी) बाट ५ करोड ४६ लाख ६० हजार रुपैयाँको दही बिक्री भएको जनाइएको छ ।
निजी क्षेत्रका दूग्ध व्यवसायको संस्था नेपाल डेरी एशोसिएशनबाट देशैभर ४ लाख ३० हजार लिटर दही बिक्री भएको एशोसिएशनका महासचिव प्रल्हाद दाहालले जानकारी दिए।
उनका अनुसार बन्दाबन्दीका कारण गत वर्षको तुलनामा दहीको खपतमा कमी आए तापनि तीन गुणा बढी खपत भएको छ ।
‘गत वर्ष असार पन्ध्रका दिन मागअनुसारको दही पुर्याउन एक सातादेखि मौज्दात राख्नुपथ्र्यो तर बन्दाबन्दीका कारण यसपालि धेरै माग नभएको र मागअनुसार खपतमा सहज भयो,’ उनले भने ।
डीडीसीको दही खपत १० प्रतिशतले कमी
गत वर्षको तुलनामा यस वर्ष डीडीसीको दही खपतमा १० प्रतिशतले कमी आएको छ । सबैभन्दा धेरै दही काठमाडौं उपत्यकामा खपत हुँदै आएकामा बन्दाबन्दीका कारण उपत्यका छाड्नेहरु वृद्धि हुँदा खपतमा कमी आएको डीडीसीले जनाएको छ ।
डीडीसीका महानिर्देशक रुद्रप्रसाद पौडेलका अनुसार यस वर्ष काठमाडौं उपत्यकामा ३० हजार लिटर र बाहिर ४० हजार लिटर गरी ७० हजार लिटर दही बिक्री भएको छ ।
अन्य समयमा साँझ ५ बजेसम्म खुल्ने बिक्री केन्द्र उपभोक्तालाई ध्यानमा राख्दै साँझ ७ बजेसम्म खुला गरिएको उनले जानकारी दि)। गत वर्ष निजी र सरकारी दुवैबाट असार १५ को दिन ७ हजार लिटर दही बिक्री भएको थियो ।