काठमाडौं । अखिल नेपाल यातायात मजदूर संघ, उपत्यका ट्याक्सी विशेष समिति र उपत्यका ट्याक्सी व्यवसायी तथा चालक समाजले संयुक्त रुपमा आन्दोलन सुरु गरेका छन् ।
उनीहरुले आज मंगलबार ट्याक्सी चलाउन पाउनुपर्ने माग राख्दै संयुक्त रुपमा यातायात व्यवस्था विभाग, वानेश्वर अगाडी प्रदर्शन गरेका हुन् ।
‘अरु सबै व्यवसाय खुलिसके । निजी गाडीहरु जोरविजोर प्रणालीमा आधारित भएर चल्न शुरु गरिसकेका छन् । निजी गाडी र ट्याक्सीमा के फरक छ ?,’ आन्दोलनमा सहभागी एक ट्याक्सी चालकले भने ।
ट्याक्सी चढ्ने भनेको एक–दुइजना वा आफ्नै साथीभाइ वा परिवारको सदस्यहरु मात्रै भएको र यसै पनि उनीहरु घरपरिवारमा सँगै बसिरहेको हुँदा ट्याक्सी चढ्दा कोरोना संक्रमणको अतिरिक्त जोखिम नरहने आन्दोलनकारीको दाबी छ ।

यसका अलावा प्रत्येक ग्राहक ट्याक्सी चढेर ओर्लेपछि गाडीलाई स्यानिटाइज गर्ने र स्वास्थ्य सुरक्षाका अन्य मापदण्डहरु पूरा गर्ने प्रतिबद्धता पनि प्रदर्शनकारीले व्यक्त गरेका छन् ।
तपार्इंहरुले अहिले ल्याएको गाडी निकै फोहर देखिन्छ । गाडी सामान्य ढंगले सफा त राख्नु भएको छैन भने प्रत्येक पटक स्टानिटाइज गर्नुहोला भनेर कसरी विश्वास गर्ने ? भन्ने प्रश्नको जवाफमा एक ट्याक्सी चालक भन्छन्, ‘बाहिर त पानीको अभावमा र सर्भिस सेन्टरमा गएर ट्याक्सी धुने पैसाको अभावमा धुन नसकिएको हो । स्यानिटाइज त जसरी पनि गर्छौं । यो त हाम्रो पनि स्वास्थसँग जोडिएको विषय हो । हामीलाई पनि परिवार र आफ्नो ज्यानको त माया छ नि ।’
लकडाउनलाई सर्वोच्च अदालतले शून्य समय भनेर भने पनि बैंकहरुले लकडाउन शुरु भएको एक महिना पनि नपुग्दै किस्ता तिर्न ताकेता गरिरहेको उनीहरुकको गुनासो छ । ‘यस्तो बेला पनि किस्ता तिर्न ताकेता गर्ने भन्दा, हाम्रो त कामै यही हो के गर्ने ? भनेर बैंकका मानिसहरु भन्छन्,’ एक ट्याक्सी मजदूरले भने ।

सरकारसँग पटकपटक ट्याक्सीको सुरक्षित र प्रभावकारी सञ्चालनको लागि वार्ताको पहल गरे पनि सरकारले वार्ता गर्न पास्ता नगरेको प्रति प्रर्दशनकारीले रोष प्रकट गरेका छन् ।
मिटरमा जान नमान्ने, रुखो बोल्ने गरेका कारण सर्वसाधारणहरु ट्याक्सी व्यवसायी र मजदूरहरु प्रति सन्तुष्ट छैनन् । ‘सामान्य समयमा समेत मिटरमा जान नमान्ने ट्याक्सीले झन् अहिले सार्वजनिक यातायात समेत नचेलेको अवस्थामा ट्याक्सी चलाउन पाए कसरी पो लुट्ने हुन् !’, वानेश्वरमा हिँड्दै गरेका एक सर्वसाधारणले भने ।
सर्वसाधारणको यही प्रश्न आन्दोलनकारीहरुलाई सोध्दा उनीहरु भन्छन्,‘हामी पनि मिटरमै जान चाहन्छौं । तर, हाम्रा केही माग छन् जुन सरकारले संबोधन गर्नुपर्छ । ०६९ सालको रेटमा हामीले अहिले पनि कसरी ट्याक्सी चलाउने ?।’





