काठमाडौं । सीडीएस एण्ड क्लियारिङ लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ ।
गत मंसिरदेखि प्रमुखविहीन रहेको सीडीएसले सीईओ नियुक्तिका लागि मंगलबार एक सूचना प्रकाशित गर्दै योग्य उम्मेदवारलाई १५ दिनभित्र आवेदन दिन आह्वान गरेको छ ।
केन्द्रीय निक्षेप सेवा नियमावली २०६७ को नियम १८ ले तोकेको योग्यता अनुसार सीईओ पदका लागि अर्थशास्त्र, वाणिज्य शास्त्र, वित्त, लेखा, व्यवस्थापन वा वाणिज्य कानून विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको उपाधी हासिल गरेको व्यक्ति, पूँजी बजार वा उद्योग वा वाणिज्य वा वित्त वा लेखा वा कानुन वा व्यवस्थापन क्षेत्रहरूमध्ये कुनै एक वा एकभन्दा बढी क्षेत्रमा कम्तीमा ५ वर्षको अनुभव भएकाले आवेदन गर्न सक्नेछन् ।
यसमा आवेदन गर्नका लागि ३५ वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनुपर्नेछ।यस अघिका प्रमुख कार्यकारी अधिकृत देव प्रकाश गुप्ताको कार्यकाल सकिएपछि उक्त पद खालि रहेको थियो। गुप्ताको कार्यकाल कार्तिक १५ मै सकिएको भएपनि संचालक समितिले एक महिना समय थप गरेको थियो, उक्त थपिएको समय सकिएपछि गुप्ताले राजीनामा दिएका थिए।
