काठमाडौं । होटल व्यावसायीले लकडाउनको कारण बन्द रहेको बेलाको घरभाडा छुट नभए आन्दालन गर्ने चेतावनी दिएका छन् । होटल व्यवसायी महासंघले १४ बुँदे माग राख्दै तत्काल सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिएको हो ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी महासंघका अध्यक्ष हिराध्वज शाहले सरकारले साना होटलहरूलाई बेवास्ता गरेको भन्दै तत्काल माग सम्बोधा नगरे आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
उनले विषम परिस्थितिमा सरकारले ठूला तारे होटल र साना होटलहरू बीच विभेद गरेको आरोप लगाए । साना होटलहरूले विदेशबाट आउने नागरिकलाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्न बिना शुल्क होटल दिन तयार रहँदा समेत तारे होटलमा महँगो शुल्क तिर्न बाध्य पारिएको उनले बताए ।
होटल व्यवसायीहरूले घरभाडामा ५० प्रतिशत छुटको व्यवस्था गर्न र घरभाडा छुट दिने घरधनिको बैंक ऋणको ब्याजमा सहुलियत दिन समेत माग गरेका छन् ।
महासंघले लकडाउन खुलेपछि पनि तत्काल होटल सञ्चालन नहुने भएकाले बिजुली पानीको महसुलमा एक वर्षसम्म छुट दिनुपर्ने, टेलिफोन, इन्टरनेटमा विशेष सहुलियत दिनुपर्ने, एकवर्षको व्यवसाय कर तथा राजस्वमा छुट गर्नुपर्ने, बैंकको ऋण र ब्याज भुक्तानी गर्ने अवधि २ वर्ष थप्नुपर्ने माग गरेको छ ।
त्यस्तै, महासंघले सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउनुपर्ने, होटलहरूलाई क्वारेन्टिनको रुपमा प्रयोग गराउन र सुरक्षा सावधानी अपनाएर होटल खोल्ने व्यवस्था गर्न माग गरेको छ ।