स्टक धेरै भएपछि डीडीसीले दुग्धजन्य पदार्थको भाउ घटायो, ५ अर्बको सामान स्टक

काठमाडौं । लकडाउनका कारण दूध तथा दुग्धजन्य पदार्थको बिक्रीमा कमी आउँदा मौज्दातमा वृद्धि भएकाले सरकारको स्वामित्व रहेको दुग्ध विकास संथान (डीडीसी) ले घ्यू, नौनी र धुलो दूधको मूल्य घटाएको छ ।

 

यही असार ३ गतेदेखि घ्युमा प्रतिलिटर २०, नौनीमा ८० र धुलो दूधमा १० रुपैयाँ छुट दिइएको छ । घ्यूको खुद्रा मूल्यसँगै थोक मूल्यमा एकदेखि ५ प्रतिशतसम्म छुट दिइएको डीडीसीका महानिर्देशक रुद्रप्रसाद पौडेलले जानकारी दिए ।

 

उनका अनुसार थोक मूल्य प्रतिलिटर ८३० का दरमा ३०० देखि ५०० लिटर घ्यू किन्दा एक प्रतिशत छुट दिइएको छ । यसैगरी पाँचदेखि १ हजार लिटरमा दुई, १ हजारदेखि ३ हजारसम्म चार, ३ हजारदेखि ५ हजारसम्म चार र ५ हजार लिटरदेखि माथि घ्यू किन्दा ५ प्रतिशतसम्म छुट दिइएको छ ।

 

२० छुट डीडीसीका बिक्री केन्द्र लैनचौर, खुमलटार, नयाँ सडक तथा आयोजना केन्द्रबाट खरीद गर्दा मात्र पाइने जनाइएको छ । एक हजार लिटरभन्दा बढी नौनी खरीद गर्नेलाई ८० र धुलो दूध खरीद गर्नेलाई १० छुट दिइएको डीडीसीका अर्थविज्ञ अज्जन अधिकारीले जानकारी दिए । उनका अनुसार यसअघि नौनी प्रतिलिटर ७८० रुपैयाँ र धुलो दूध प्रतिलिटर ६०० थियो ।

 

डीडीसीका आयोजना केन्द्र लौनचौर, बालाजु, विराटनगर, जनकपुर, ढल्केबर, हेटौडा, बुटवल, कोहलपुर, अत्तरिया र कैलालीबाट नौनी र धुलो दूध खरीद गर्दा मात्र छुट हुनेछ । यसैगरी नेपाली सेनालाई बिक्री गरिने होलमिल्क (घ्यूसहितको दूध) १ हजारभन्दा बढी खरीदमा १० रुपैयाँ छुट दिइएको छ । यसअघि थोकमूल्य ७५० रुपैयाँ थियो ।

 

असार ३ गतेअघि बट्टाको घ्यू प्रतिलिटर ९२० तथा प्याकेटमा राखिएको घ्यू प्रतिलिटर ९०० मा बिक्री गरिएको थियो ।

 

दूध खपतमा ४ प्रतिशत वृद्धि

 

लकडाउन केही खुकुलो भएसँगै दूध तथा दुग्धजन्य पदार्थको बिक्रीमा क्रमिक रुपमा सुधार हुँदै आएको महानिर्देशक पौडेलले जानकारी दिए। डीडीसीको तथ्यांकानुसार बन्दाबन्दी समयभन्दा हाल ४ प्रतिशतले दूध खपतमा वृद्धि भएको तथा अन्य पदार्थको खपतमा कमी आएको छ ।

 

लकडाउन अघिको तुलनामा काठमाडौँ उपत्यकामा मात्र दैनिक १२ प्रतिशत दूध खपतमा कमी आएको जनाइएको छ । उनका अनुसार बन्दाबन्दीअघि काठमाडौँ उपत्यकामा मात्र दैनिक ८७ हजार लिटर दूध बिक्री हुँदै आएकामा आज ७६ हजार लिटर बिक्री भएको छ । दूधसँगै दही खपतमा ४० प्रतिशतले कमी आएको जनाइएको छ ।

 

किसानको २ महिनाको ७० करोड भुक्तानी बाँकी

 

लकडाउनको समयमा नियमित रुपमा कृषकबाट दूध सङ्कलन भए तापनि समस्या भएकाले डेरी सञ्चालकले २ महिनादेखि भुक्तानी रोकेका छन् । सामान्यतया १५/१५ दिनमा भुक्तानी हुँदै आए पनि डेढ महिनादेखि भुक्तानी नभएको महानिर्देशक पौडेलले जानकारी दिए ।

 

‘एक महिनाको भुक्तानी बाँकी हुनुपर्ने हो तर खपतमा कमी हुँदा डेढ महिनाको ३० करोड भुक्तानी रोकियो, जति छिटो बिक्री हुन्छ त्यति छिटो भुक्तानी गरिनेछ,’ उनले भने, ‘सम्भवतः १५ दिनको भुक्तानी दुईतीन दिन भित्र गरिनेछ ।’

 

लकडाउनका कारण दुग्धजन्य पदार्थको मौज्दातमा वृद्धि हुँदा कृषकलाई भुक्तानीमा समस्या भएको नेपाल डेरी एशोसिएशनका महासचिव प्रल्हाद दाहालले जानकारी दिए ।

 

उनका अनुसार २ महिनाको ७० करोड भुक्तानी बाँकी छ । डीडीसी र निजी क्षेत्रबाट गरी १ करोड भुक्तानी बाँकी छ । पछिल्लो समय ४० देखि ४५ प्रतिशतसम्म दूध तथा दुग्धजन्य पदार्थको खपतमा वृद्धि भएको तथा ५ अर्ब बराबरको मौज्दात सामग्री रहेको दाहालले जानकारी दिए।

व्यापार गर्ने होइन, कोरोना साटासाट गर्ने ठाउँ बन्न सक्छ न्यूरोड (फोटोफिचर) Read Previous

व्यापार गर्ने होइन, कोरोना साटासाट गर्ने ठाउँ बन्न सक्छ न्यूरोड (फोटोफिचर)

घरभाडा छुट नभए आन्दोलन गर्ने होटल व्यावसायीको चेतावनी  Read Next

घरभाडा छुट नभए आन्दोलन गर्ने होटल व्यावसायीको चेतावनी