न हिउँद न वर्षामा सुरक्षित छ सडक, काठको पुलबाटै गाडी तार्नुपर्ने बाध्यता

हिमालपारिको जिल्ला भनेर चिनिने मनाङका बासिन्दालाई नेपालको राजधानी र गण्डकी प्रदेशको राजधानी पुग्न धेरै कठिन छ । जिल्लाबाहिर आवतजावत र सामग्री ढुवानी गर्ने मनाङवासीको यही एउटै सडक न हिउँदमा र नत वर्षायाममा नै सुरक्षित र सहज छ ।

 

हिउँद याममा हिउँ पर्ने भएकोले विकासका काम गर्न सकिँदैन भने वर्षामा पहिरोका कारण सडक निर्माण या अरु कुनै निर्माणसम्बन्धी काम गर्न सक्ने अवस्था हुदैन । मनाङवासी वर्षायाममा यो बाटो हिँड्दा कतिबेला कहाँबाट पहिरो आएर पुर्ने हो भन्ने त्रासले पहरोतिर हेर्दै भगवान पुकारेर यात्रा गर्न विवस छन् । सधैँ यस्तै जोखिममा यात्रा गरिरहेका उनीहरुलाई त बानी परिसकेको छ तर यहाँ जाने आन्तरिक तथा बाह्य पर्यटकलाई भने सास्ती नै हुने गरेको छ ।

 

यहाँका बासिन्दा सधैँ सडक सहज बन्ने आशामा हुन्छन् तर वर्षेनी यो आशा निराशामा परिणत हुने गरेको छ । यो वर्ष सडक सञ्जाल विस्तार हुन्छ अनि सहज यात्रा गरौंला भनेर बसेका उनीहरु सडक नबन्दा जोखिममै यात्रा गर्न बाध्य छन् । हिउँदमा हिउँ परेर माटो भेट्न समेत सकिदैन र काम गर्न मुस्किल भएको भन्छन् निर्माणको जिम्मा पाएका कम्पनी । यता वर्षा लाग्नासाथ पहिरोको जोखिम बढ्छ ।

 

मनाङबाट अर्को जिल्लासम्म पुग्न पनि यही एउटै सडक छ तर लामो समयसम्म पनि यो सहज हुन सकेको छैन । यसकारण पनि मनाङवासीले आफूहरुलाई सधैँ छुट्टै देशको जस्तो व्यवहार भएको जस्तो लाग्ने गरेको दुखेसो पोख्ने गरेका छन् ।

 

बेँसीशहर– चामे ६५ किलोमिटर सडकमध्ये लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर पर्दछ । मनाङबासीको जिल्लाबाहिर निस्किने एकमात्र निकास यही हो । तर यो बाटोमा बाह्रैमास असुरक्षाको घण्टी बजिरहेको हुन्छ । कोही व्यक्ति गम्भीर बिरामी परेमा मनाङवासी उपचारका लागि अन्यत्र जानुपर्ने अवस्थाका लागि पनि पहिरोले समस्या पार्ने गरेको छ ।

 

अहिले त झन् कोभिड १९ को सङ्क्रमण फैलिइरहेकोले यहाँका बासिन्दा थप तर्सिएका छन् । मनाङमा पनि सङ्क्रमण देखिई सकेकाले स्वाब नमूना सङ्कलन गरी परीक्षणका लागि गण्डकी प्रदेशस्थित प्रयोगशाला पठाउन बाटोका कारण कठिन छ । यस्तो महामारी र वर्षाको समयमा त्रासमा यात्रा गर्नुपर्ने अवस्था रहेको प्रमुख जिल्ला अधिकारी पुष्पराज अधिकारीले बताए ।

 

‘सरकारले मनाङवासीलाई सहज सडकको पहुँचमा पुर्याउने हो भने छुट्टै देश हो जस्तो लाग्ने थिएन,’ उनीहरु भन्छन्, ‘हामीलाई सरकारले पनि जोड्न चाहेन जस्तो लाग्छ ।’ पूर्खाहरुको त हिँडेरै एक ठाउँबाट अर्को ठाउँमा पुग्नुपर्ने बाध्यता थियो तर अहिलेको युगमा पनि त्यसैगरी यात्रा गर्न बाध्य भएकोमा उनीहरुको दुखेसो छ ।

 

मनसुन सक्रिय भएसँगै बाढी पहिरोको जोखिम बढेको छ । त्यसमाथि कोभिड १९ को सङ्क्रमण फैलिएको छ । मनसुनसँगै कोभिडको सामना गर्नुपर्ने भएको अवस्थामा पहिरोको कारण मनाङवासीको स्वाब नमूना सङ्कलन गरी परीक्षणका लागि गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखरा पठाउन समेत समस्या भएको स्वास्थ्यकर्मीको भनाइ छ । चामे–बेशीसहर सडकखण्ड सुचारु भएपनि कोभिड परीक्षण गर्न पठाउन भने कतिबेला पहिरो खस्छ कि भन्दै त्रासमा यात्रा गर्न बाध्य भएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले बताए ।

 

‘वर्षा सुरु हुनासाथ माथिबाट पहिरो खस्न थालेको छ । यस्तो अवस्थामा मनाङवासील रोग फैलिँदा समेत स्वाब पुर्याउन नसकिने हो कि भन्ने चिन्तामा परेका छन् । त्यसै त स्वाब परीक्षणको रिपोर्ट ढिला गरी आउने गरेको छ त्यसैमा पनि वर्षात्को समयमा यस्तै समस्याले झन् सताउँछ,’ प्रजिअ पौडेलले भने, ‘अहिले पहिरो हटाएर सडक सुचारु भएपनि कतिबेला फेरि पहिरो झर्छ भन्ने त्रासले सताउँछ, पहिरोले खसिराख्ने हो भने त मनाङवासीको कोरोना परीक्षण मात्रै नभई सङ्क्रमण फैलियो भने पनि स्वास्थ्यकर्मी उपलब्ध गराउन नसकिने हो भन्ने मनमा डर बढेको छ ।’

 

विसं २०५९ मा नेपाली सेनाले ट्रयाक खोलेर मनाङवासीलाई सहज बनाए पनि अहिलेसम्म ट्रयाकलाई सहज सडक बनाउन भने सरकारको सक्रियता देखिएको छैन । यसरी वर्षामा बाढी, पहिरो र हिउँदमा हिमपातले मनाङको सडकको समस्या कहिले समाधान हुने हो पत्तो छैन ।

नासोँ गाउँपालिका–१ तालका स्थानीय राजु गुरुङले हिउँदमा हिमपात, गर्मीमा वर्षाले पहिरो खस्ने गरेकोले बिरामी परेर उपचारमा जान समेत समस्या हुने गरेको बताए । ‘सबै खाद्यान्न उत्पादन नहुँदा अरु जिल्लाबाट आयात गर्नुपर्ने हुन्छ, पक्की सडक नभएकोले कहिले बाढी पहिरो त कहिले हिमपातले गर्दा सधैँ समस्या आउँछ,’ गुरुङ भन्छन् ।

 

काठे पुलले जोखिम

 

मनाङको माथिल्लो मनाङ पुग्न अझै समस्या छ । कहीँ पहाडलाई फोडर सडक सञ्जाल विस्तार गरिएको छ भने कहीँ चट्टानलाई फोडिएको छ । तर चट्टानमा भन्दा पनि डरलाग्दो रहेको कुरा त पहाडबाट खस्ने सुख्खा पहिरो हुन्छ । हावाहुरी बढ्नासाथ यात्राकै क्रममा डाँडाबाट पहिरो खस्ने समस्या छ । त्यसैमाथि काठको पुलको सहारामा नदी पार गर्नुपर्ने समस्या छ ।

 

निर्माण कम्पनीले ठेक्का सम्झौता गरेर थप गर्दा समेत सडक सञ्जाललाई जोड्ने पुलको निर्माण सम्पन्न हुन सकेको छैन । मनाङका पाँचवटा पुलले जोडेको छ । तर अहिलेसम्म एउटा बाहेक अन्य पुल निर्माणको प्रक्रियामा समेत पुग्न सकेको छैन । ‘कतिबेला काठको पुल गलेर दुर्घटना हुने हो भन्ने यकिन समेत गर्न सकिँदैन, हिउँदमा हिमपात र वर्षामा बाढी पहिरोले गर्दा ढुवानीका सामग्री बीचैमा हुन्छन्,’ स्थानीय अरुण गुरुङ भन्छन् ।

 

लमजुङ र मनाङको सिमानामा रहेको म्यार्दी खोलाको पुल, नासोँ गाउँपालिका र चामे गाउँपालिका जोड्ने तिमाङ खोलाको पुल, मनाङ ङिस्याङ गाउँपालिकामा पर्ने सब्जे खोला, पिसाङ खोला र ङावल र हुम्डे जोड्ने मस्र्याङदी नदीको पुल रहेका छन् ।

 

पाँच वटा पुल निर्माणका लागि मात्रै २२ करोड रुपैयाँ बजेट विनियोजन गरेको क्याराभान कन्सल्टेन्सीका सब इन्जिनियर कृष्ण महतले बताए । उनका अनुसार अहिलेसम्म एउटा पुल मात्रै निर्माण सम्पन्न भएको छ । मनाङमा हिउदमा हिमपात र वर्षायाममा बाढी पहिरोले सामग्री ढुवानी पनि गर्न सक्ने अवस्था नहुने महतले बताए।

 

पर्यटकलाई सास्ती

 

सडक सञ्जालको राम्रो विस्तार नहुँदा पर्यटकलाई पनि सास्ती हुने गरेको छ । प्याकेजको रुपमा भ्रमणमा निस्कने पर्यटकलाई सडक सहज नहुँदा समयमा घुमेर फर्किन नसक्ने अवस्था आइलाग्ने गुनासो गर्ने गर्छन् । पदमार्ग र सडक सञ्जाल एउटै हुँदा समेत पर्यटकलाई समस्या पर्ने गरेको छ ।

 

स्वदेशी पर्यटकहरु सवारीसाधानको प्रयोगमार्फत निश्चित समयका लागि भ्रमणमा निस्कने भएपनि सडकको सहज वातावरण नहुँदा समयमा नपुग्ने र हिमपातमा सवारी समेत गुड्न सक्ने अवस्था छैन ।

 

पदमार्ग र सडक सञ्जाल एउटै

 

आन्तरिक पर्यटकले सवारीसाधन प्रयोग गरी छोटो समयमा घुम्न आउने भएपनि बाह्य पर्यटक पदमार्गको प्रयोग बढी गर्ने गरेका छन् । सडक मार्ग र पदमार्ग एउटै हुँदा पर्यटकलाई समस्या सिर्जना गरेको छ ।

 

बेँसीसहरदेखि च्याम्चेसम्म सडकमार्फत् नै पदयात्रा गर्ने गरेका छन् भने च्याम्चेदेखि धारापानीसम्म सडक सञ्जाल र पदमार्ग छुट्टै रहेको छ । धारापानीदेखि भने मनाङका विभिन्न भागमा पुग्ने पर्यटकहरु यही सडकबाटै पदयात्रा गर्ने गरेका छन् । यो सडकमा जोखिम र धुलो धेरै छ तर पनि उनीहरु पदयात्राका लागि बाध्य छन् ।

 

सडकका कारण होटल व्यवसाय प्रभावित

 

सडक सञ्जालको विस्तार राम्रो नहुँदा आवश्यक परेका सामग्री समेत ल्याउन मुस्किल परेको छ । होटल व्यवसाय सञ्चालनका लागि खाद्यान्न बाहेक प्रायः बाह्य पर्यटकले मन पराउने वस्तुहरु ल्याउनुपर्ने भएपनि सडकले सहज नभएको उनीहरुको भनाइ छ ।

 

सडक सञ्जाल होटल व्यवसायीसँग बढी मात्रामा जोडिनुका साथै प्रभावित पनि उनीहरु नै छन् । सामान सकिनासाथ सहजै बजार पुगेर सामान ल्याउने वातावरण समेत नहुँदा सधैँ समस्यामा परेको होटल व्यवसायी विनोद गुरुङले बताए। ‘कुनै समयमा त सामान ल्याउदै गर्दा बाटोमै रोकिन्छ, कहीँ पुलको समस्या त कतै सुख्खा पहिरोको, मनाङवासी सधैं समस्यामै जिउन बाध्य छन्,’ गुरुङले भने। रासस

घरभाडा छुट नभए आन्दोलन गर्ने होटल व्यावसायीको चेतावनी  Read Previous

घरभाडा छुट नभए आन्दोलन गर्ने होटल व्यावसायीको चेतावनी 

कोरोनाबाट सामान्य अवस्थामा फर्किँदै फ्रान्स, १०४ दिनपछि खुल्यो आइफेल टाबर Read Next

कोरोनाबाट सामान्य अवस्थामा फर्किँदै फ्रान्स, १०४ दिनपछि खुल्यो आइफेल टाबर