काठमाडौं । बजारमा विभिन्न प्रकारले खाद्य वस्तुको मूल्य वृद्धि भइरहेको छ । जसको मार उपभोक्ताले भोग्नु परिरहेको छ । उपभोक्ताले खाद्य वस्तुमा बढी मूल्य वृद्धिको मार खेप्नु नपयोस् भनेर खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आफैले होम डेलिभरी सुरु गरेको छ ।
कम्पनीले उपलब्ध गराएको फ्री होम डेलिभरी मार्फत अन्य बजार मूल्यभन्दा कम विक्री मूल्य राखिएको जनाइएको छ । कम्पनीकी प्रवक्ता सर्मिला न्यौपानेले उपभोक्तालाई केही सहूलियत होस भनेर खाद्य व्यवस्थापन कम्पनीले अनलाइनबाटै खाद्य वस्तु वितरणको सेवा सुरु गरेको उनले बताए ।
कम्पनीले अरुवा मध्यम चामल, स्टिम सोना मन्सुली चामल, नुन, घिउ, रहरको दाल, केराउ दाना, मुसुरको दाल, कर्णालीको सिमी लगायतका वस्तुहरु सहूलीय मूल्यमा विक्री गरिरहेको छ ।
सो खाद्य कम्पनीबाट विक्री भएका वस्तुहरु बजार मूल्यभन्दा ५ रुपैयाँदेखि १० रुपैयाँ कम मूल्यमा विक्री भएको उनले बताइन् ।
खाद्य कम्पनीले अरुवा मध्यम चामल ३० केजीको १ हजार ६५० रुपैयाँमा विक्री गरिरहेको छ । स्टिम गरेको सोना मन्सुली चामल २५ केजी १ हजार ४२५ रुपैयाँमा विक्री गरिरहेको छ । स्टिम रंजित मन्सुली चामल २५ केजी १ हजार ६०० रुपैयाँमा विक्री भइरहेको छ ।
दराज अनलाइन सपिङमा स्टिम चालक २५ केजी १ हजार ६२५ रुपैयाँदेखि १ हजार ६७५ रुपैयाँ विक्री गरिरहेको छ ।
भाटभटेनीले हुलासको जिरामसिनो २५ केजी चामल १९ सय १२ रुपैयाँमा विक्री गरिरहेको छ । पतन्जली गोल्ड चामल २५ केजी १५ सय रुपैयाँमा विक्रीका लागि राखिएको छ । २० केजीका जिरामसिनो चामल २८ सय ८५ रुपैयाँसम्ममा विक्रीका लागि राखिएको छ ।सस्तो डिल नेपालले २५ केजी चामल १६ सयदेखि १८ सय रुपैयाँसम्ममा विक्री गरिरहेको छ ।
खाद्य कम्पनीले रहरको ननपोलिस दाल प्रतिकेजी १६० रुपैयाँमा विक्री गरेको छ । मुसुरोको दाल प्रति केजी ११५ रुपैयाँ रहेको छ । यो २ केजीको प्याकेट मात्र विक्री गरिएको छ ।
दराज अनलाई सपिङले मुसुरोको दाल प्रतिकेजी १४४ रुपैयाँदेखि १७३ रुपैयाँसम्ममा विक्री गरिरहेको छ । दराजले मुसुरुको दाल खाद्य कम्पनीको भन्दा २९ रुपैयाँदेखि ५८ रुपैयाँ बढि मूल्यमा विक्री गरेको पाइएको छ ।
भाटभटेनीमा भने मुसुरो र रहरका दाल सबै सकिएको छ । मुङको दाल प्रतिकेजी सय ६० देखि ७० रुपैयाँसम्ममा विक्री गरिएको छ ।सस्तो डिलले मुसुरोको दाल १६० रुपैयाँ प्रतिकेजी देखि १६५ रुपैयाँसम्ममा विक्री गरिरहेको छ ।
खाद्य कम्पनीले केराउ दाना प्रतिकेजी ७० रुपैयाँमा विक्री गरिरहेको छ । सस्तो डिलले पनि सोही मूल्यमा विक्री गरेको पाइएको छ । कम्पनीले २ केजीको प्याकेज मात्र विक्री गरेको छ । दराजमा केराउ ७३ रुपैयाँ प्रतिकेजी रहेको छ । यसरी हेर्दा खाद्य कम्पनीले दराजको भन्दा ३ रुपैयाँ सस्तोमा केराउ विक्री गरेको छ ।
आटा खाद्य कम्पनीले ६२.५ रुपयाँ प्रतिकेजी विक्री गरेको छ । सो आटा २ केजी प्याकेजिङ १ सय २५ रुपैयाँमा विक्री गरिरहेको छ । दराजमा आटा प्रतिकेजी ६३ रुपैयाँ देखि ७५ रुपैयाँसम्ममा विक्री गरिएको पाइएको छ ।
भाटभटेनीमा आटा प्रतिकेजी ७२ रुपैयाँदेखि ८० रुपैयाँ केजीसम्ममा विक्री भइरहेको छ । भाटभटिनीले विक्री गर्ने आटामा खाद्य कम्पनीको भन्दा १० रुपैयाँ बढी रहेको छ । सस्तो डिलले भने खाद्य कम्पनीकै दाममा आटा विक्री गरेको छ ।
खाद्य कम्पनीले डीडीसी घ्यू प्रतिकेजी ८७० रुपैयाँ रहेको छ । सोही घिउको मूल्य दराजमा ९०० रुपैयाँ प्रतिकेजी विक्रीका लागि राखिएको छ । घ्यू सस्तो डिलले खाद्य कम्पनीको मूल्यमा विक्री गरेको छ ।